coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाँचभन्दा बढी सहरमा यातायात बन्द, २५ को मृत्यु, ६ सय बढीमा संक्रमण

बेइजिङ – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार यो भाइरस सहजै व्यक्तिबाट व्यक्तिमा सरेको पाइएको छ। ‘हामीले दोस्रो र तेस्रो पिढिको फैलावटका बारेमा हेरिरहेका छौँ,’  डब्ल्युएचओको तथ्यांक संकलन समितका अध्यक्ष डा. डेभिड हेइमनले भने।

तेस्रो पिढि भनेर उनले वुहानमा जनावरबाट व्यक्तिमा सरेको भाइरस अर्काे व्यक्ति हुँदै तेस्रो व्यक्तिमा सरेको अवस्थालाई भनेका छन्। सुरुमा यो भाइरस निकै निकट सम्पर्कका व्यक्तिमा मात्र सरेको थियो। सुरुमा परिवारका सदस्य, अंकमाल, चुम्बन तथा सँगै खाना खाँदा मात्र सरेको पाइएको यो भाइरस हाल टाढाको सम्पर्कबाट पनि एक व्यक्तिबाट अर्काे व्यक्तिमा फैलिरहेको प्रमाण फेला परेको डा. हेइमनले बताएका छन्। कोरोना भाइरसबाट प्रभावित व्यक्तिले हाच्छ्यु गर्दा वा खोक्दासमेत नजिक रहेको व्यक्तिमा सहजै यो भाइरस फैलिरहेको पाइएको छ।

डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको यो भाइरस यो साता चीनको मुख्य प्रशासनिक क्षेत्रमा फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रोगको प्रकोप नियन्त्रणका लागि चिनियाँ अधिकारीहरूले रोगको मुख्य प्रकोप देखिएको वुहान सहरमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका छन्। वुहानमा सार्वजनिक बस, रेलसेवा तथा उडानसमेत रद्द गरिएको छ। वुहान सहरमा चलचित्र प्रदर्शनको समयसमेत पछि सारिएको छ।

आपतकालीन अवस्थामा बाहेक वुहानबाट बाहिर जान र वुहान नभित्रिन अधिकारीहरूले आग्रह गरेका छन्। वुहानको एक अस्पतालमा कार्यरत चिकित्सकले बिबिसीसँग कुरा गर्दै भनेकी छन्, ‘प्रकोपको अवस्था भयाभह छ, पछिल्लो दुई सातामा भाइरस भयाभह ढंगले फैलिरहेको छ।’

‘म निकै डराइरहेकी छु किनभने यो नयाँ भाइरस हो र यसको संक्रमणको तथ्यांक डरलाग्दो छ,’ उनले भनेकी छन्। ‘अस्पतालहरू बिरामीले भरिएका छन्, यो संख्या हजारौं छ, मैले यसअघि यति धेरै विरामी देखेको थिइन, उनीहरू चिकित्सकको पर्खाइमा घन्टौँ कुरिरहेका छन्। उनीहरूको पीडा तपाईंले अनुमान गर्न सक्नुहुन्छ। नयाँ भाइरस भएकाले यसबारे पर्याप्त जानकारी पनि छैन,’ उनले बिबिसीसँग भनेकी छन्।

चीनको हङगाङ, इजौ, सिन्ताओ र सिबी लगायतका सहरमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ। भाइरसलाई मध्यनजर गर्दै बेइजिङस्थित ऐतिहासिक एवं पर्यटकीय आकर्षण केन्द्र फोरबिडन सिटीसमेत बन्द गरिएको छ।

चीनको राजधानी बेइजिङमा भव्य तरिकाले नयाँ वर्ष मनाउने तयारी भए पनि कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सबै कार्यक्रम रद्द गरिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। बेइजिङसँगै मकाउ, हङकङ, सियान्ताओ र वासिंटनमा तय भएको नयाँ वर्षका कार्यक्रमसमेत रद्द भएका छन्।

चीनका मुख्य प्रशासनिक क्षेत्रमा यो रोगको प्रकोप बढेसँगै त्यहाँ मास्क खरिद गर्नेहरूको भिड लाग्न थालेको छ। चीनको सरकारी मुखपत्र ‘पिपुल डेली’ले मास्क प्रयोग गर्न नागरिकहरूलाई प्रोत्साहन गरिरहेको छ। हुवान प्रान्तका अधिकांश टेलिभिजन प्रस्तोताले मास्कको प्रयोग गरेर समाचार वाचन गरिरहेको पाइएको छ।

उक्त भाइरसको जोखिमलाई हेर्दै विश्वव्यापीरूपमा सावधानी अपनाइएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, सिंगापुर, भारत लगायतका मुलुकले मुख्य विमानस्थलमा हेल्थ जाँच सुरु गरेका छन्। भाइरसको प्रकोपलाई ध्यान दिँदै डब्ल्युएचओले अन्तर्राष्ट्रिय ध्यानाकर्षणका लागि जनस्वास्थ्य आपतकालको घोषणा गर्नसक्ने विषयमा छलफल गरेको छ।

बिहीबार साँझसम्म यो भाइरस चीनसहित जापान, कोरिया, थाइल्यान्ड, अमेरिका सिंगापुर, भियतनाम, ताइवान मकाओ तथा साउदी अरेबियामासमेत फेला परेको छ। अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र (सिडिसी)का सल्लाहकारले चिनियाँ अधिकारीले कोरोना भाइरसको महामारी बारेमा हालसम्म पनि वास्तविक तथ्यांक सार्वजनिक नगरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले प्रकोप नियन्त्रणका लागि कठिन भइरहेको उनीहरूले बताएका छन्। सिधै जनावरको सम्पर्कबाट संक्रमित भएका र व्यक्तिबाट व्यक्तिमा सरेका घटना कति छन् भन्ने अहिले पनि अनिश्चित रहेको उनीहरूले बताएका छन्।

बेलायती स्वास्थ्यमन्त्री माट हान्ककले भाइरसबाट जुध्न सबै तयारी गरिरहेको जानकारी गराएका छन्। विहीबार हाउस अफ कमन्समा बोल्दै यस्तो जानकारी गराएका हुन्। बेलायतमा हालसम्म कोरोना भाइरसका रोगी फेला परेका छैनन्।
अमेरिकी वैज्ञानिकहरूले कोरोना भाइरस निवारण खोपको विकास गर्न औषधी उत्पादक कम्पनीसँग काम गरिरहेको जनाएका छन्। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) बिहीबार स्विटजरल्यान्डस्थित डाभोसमा सञ्चालन भइरहेको विश्व आर्थिक मञ्चको बैठकमा दुई औषधी उत्पादक कम्पनीसँग सहकार्य गर्दै खोपको विकास गर्न लागेको घोषणा गरेको छ।

प्रकाशित: १० माघ २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App