८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाका १६ र राजपाका दुई विजयी

काठमाडौं – फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्। एकल संक्रमणीय निर्वाचन प्रणाली अनुसार भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश २ मा चार सिटका लागि भएको निर्वाचनमा नेकपा र राजपाका दुई÷दुई उम्मेदवार र अन्य ६ वटा प्रदेशमा नेकपाका उम्मेदवार निर्वाचित भए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टी पनि निर्वाचनमा सहभागी भएका थिए।

निर्वाचनबाट प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रियसभामा सात सदस्य गुमाएको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल फागुन २० मा सकिँदै छ। त्यस्तै नेकपाका आठ, राजपाका दुई र समाजवादीका एक सदस्यको पद पनि फागुन २० मा सकिनेछ। रिक्त हुने १८ सिटका लागि निर्वाचन भएको हो। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रिपतिबाट मनोनीत एक सदस्यको पनि सोही दिनदेखि पद रिक्त हुनेछ। सो पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

९९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा करिब शतप्रतिशत मतदान भएको छ। बिहीबार बिहान १० देखि अपराह्न ४ बजेसम्म सातवटै प्रदेशस्थित मतदानस्थलन मतदान भएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान स्थल कायम गरिएको थियो। प्रदेश १ मा ९९.२७ प्रतिशत, प्रदेश २ मा शतप्रतिशत, बागमतीमा ९९.१६ प्रतिशत, गण्डकी प्रदेशमा ९८.८२ प्रतिशत मत खसेको आयोगले जनाएको छ। त्यसैगरी प्रदेश ५ मा ९९.५४ प्रतिशत, कर्णाली प्रदेशमा ९८.१० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९.१९ प्रतिशत मत खसेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।

प्रकाशित: १० माघ २०७६ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App