६ वैशाख २०८१ बिहीबार
राजनीति

समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो राष्ट्र विकास र सुशासन कायम गर्न जुटेको बताएका छन्।

सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवसका अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासन कायम गर्न सिंगो राष्ट्र जुटेको बताएका हुन्। यस अभियानमा राज्यका सबै निकायको सहयोग र योगदान उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरे।

उनले भने, 'सुशासन कायम गर्दै विकासको बाटोमा अगाडी बढ्ने र तीव्र विकासका साथ देशलाई गरिबी, निरक्षरता र पछौटेपन जस्ता कुराहरुबाट मुक्त गरेर एउटा विकसित, समृद्ध र आधुनिक राष्ट्र निर्माण गर्ने अभियानमा जुटेका छौँ। यसक्रममा समाज, सर्वसाधारण नागरिकदेखि राज्यका सबै अंगहरु सुशासन र विकासका कार्यहरुलाई अगाडी बढाउने क्रममा आफ्नो ठाउँबाट योगदान गर्ने हिसाबले अगाडी बढिरहेका छन्।’'

प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बलको कार्यसम्पादनको खुलेर प्रसंसा गरे। भ्रष्टाचार नियन्त्रण, बेरुजु फर्र्छौट जस्ता काममा सशस्त्र प्रहरीले खेलेको भूमिका उदाहरणीय रहेको पनि बताए। ओलीले सशस्त्र प्रहरी बललाई सुदृढ र सबल बनाउनलाई राज्यले धान्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा उत्कृष्ट बाहिनी पुरस्कारबाट प्रदेश नम्बर २ मा रहेको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सम्मान गरिएको थियो। मुलुकभरका आठवटा बाहिनीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेबापत बाहिनीपति अर्याललाई सम्मान गरिएको हो। सशस्त्र प्रहरीले गतवर्षदेखि यो सम्मान दिँदै आएको छ। गतवर्ष प्रदेश नम्बर ५ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीले गर्दै आएको शान्ति मिसन, विशिष्ट सुरक्षा, प्राकृतिक प्रकोप उद्धार, आपतकालिन उद्धार तथा सहायता लगायत सम्पादन गर्दै आएका कामहरुलाई प्रदर्शन गरिएको थियो।

प्रकाशित: ९ माघ २०७६ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App