coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशमा नेकपा विजयी

राष्ट्रियसभामा विजयी सुमित्रा विसी र मायाप्रसाद शर्मा ।

सुर्खेत- राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा विजयी भएको छ। नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन्। निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार विसीले तीन हजार ६ सय ८४ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेतले एक हजार २६ मत ल्याइन्।

यस्तै नेकपाका शर्माले ३ हजार ६ सय १८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी कांग्रेसका डिल्लीराम पाठकले एक हजार २६ मत ल्याएका छन्। निर्वाचन अधिकृत डा. आचार्यका अनुसार ६६ मत बदर भएको छ। शर्मालाई नेकपाले अन्यबाट सदस्यको उम्मेदवार बनाएको थियो।

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा ९८.४८ प्रतिशत मत खसेको छ। राष्ट्रियसभा सदस्यको निर्वाचनमा १ सय ९५ जना मतदाताले मतदान गरेका छन्। निर्वाचन अधिकृत आचार्यका अनुसार तीन जनाले मतदान गरेनन्। जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार डोल्पोबुद्ध गाउँपालिका डोल्पाका उपाध्यक्ष मल्लटासी गुरुङ, हुम्लाको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङ र कालिकोटको तिलागुफा गाउँपालिकाकी उपप्रमुख दन्ता नेपालीले मतदान गरेनन्।

कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य ४० जना र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ जना गरी १ सय ९८ जना मतदाता छन्। प्रदेश सभाका ४० जना सदस्यहरुले नै मतदान गरेको पोखरेलले जानकारी दिए।

प्रदेशसभा सदस्यहरुमा नेकपाबाट ३३, कांग्रेसबाट ६ र राप्रपाबाट १ जना रहेका छन्। स्थानीय तहमा नेकपाका ५३, कांग्रेसका २६ र राप्रपाका १ जना प्रमुख/उपप्रमुख छन्। कर्णालीमा कूल मतभार ४ हजार ७६४ छ। जसमा नेकपाको ३ हजार ५६४ र कांग्रेसको १ हजार २६ रहेको छ।

 

 

प्रकाशित: ९ माघ २०७६ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App