८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै, सूचाकांकमा ३४ अंकसहित ११३औं स्थानमा

काठमाडौं - विश्वका बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ११३ औं स्थानमा रहेको एक तथ्यांकले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई)ले बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क(सीपीअाइ) अनुसार नेपाल ३४ अंकसहित ११३ स्थानमा रहेको देखाएको हो।

विगत १ वर्षमा (सन् २०१८/१९) विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ वटा संस्थाका सर्वेक्षणका आधारमा नेपाललाई १०० मा ३४ अङ्क दिइएको हो। गत वर्ष नेपाल ३१ अंकसहित नेपाल १२४औं स्थानमा थियो।

नेपालमा सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको छ।

तर सरकारको भ्रष्टाचार विरोधी प्रतिवद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गंभीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसकारण सुचकाङ्कमा केही सुधारका बावजुद पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका मुलुकहरूको श्रेणीमै रहेको विज्ञप्तिमा जनाइएको छ। भ्रष्टाचार निवारण सम्बन्धी सूचकांकमा नेपालको स्थान अझै सन्तोषजनक देखिएको छैन। यद्यपि अघिल्लो वर्ष भन्दा अंक बढाएको छ।

विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार विरोधी प्रयासमा शिथिलता रहेको देखाएको छ भनेपैसाले राजनीतिलाई प्रभावित गरेका मुलुकहरुमा भ्रष्टाचार व्याप्त रहेको तथ्यांकले देखाएको छ।

डेर्नमाकमा सबैभन्दा कम
यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया ९ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल जनाएको छ।

सीपीआई २०१९ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात् औषत ४३ अंक (स्कोर) पाएका छन्। २२ देशले आफ्नो स्कोरमा राम्रो सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ। सुधार भएका देशमा निर्वाचनसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन र राजनीतिक तहमा सरोकारवालासँग व्यापक रुपमा सल्लाह÷ सुझाव लिने प्रवृति देखिएको छ।

सीपीआई २०१९मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५ औं स्थान र दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा पहिलो स्थानमा छ। त्यस्तै भारत ४१ अङ्क प्राप्त गरी ८० औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९३ औं स्थान, नेपाल ३४ अङ्क प्राप्त गरी ११३ औं स्थान, पाकिस्तान ३२ अङ्क प्राप्त गरी १२० औं स्थान, मालदिभ्स २९ अङ्क प्राप्त गरी १३० औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७३ औं स्थानमा रहेका छन्। छिमेकी मुलुक चीनले ४१ अङ्क प्राप्त गरी ८० औं स्थानमा रहेको छ।

१८० देशमा गरिएको सर्वेक्षणको यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ।  १३ विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरेको हो। टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको हो।

प्रकाशित: ९ माघ २०७६ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App