७ वैशाख २०८१ शुक्रबार
अर्थ

अवैध च्याउ आयात रोक्न ध्यानाकर्षण

काठमाडौं – भारतबाट अवैध तरिकाले विषादीयुक्त च्याउ नेपाल भित्र्याउँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै च्याउ उत्पादक किसान संघ नेपालले बुधबार हरिहरभवनस्थित किट विकास तथा प्लान्ट क्वारेन्टाइन केन्द्र र विषादी व्यवस्था विभागमा तालाबन्दी गरेको छ। भारतीय विषाक्त च्याउका कारण नेपालमा पर्याप्त च्याउ उत्पादन हुँदाहुँदै पनि नेपाली च्याउले बजार नपाएको भन्दै संघले पहिलेदेखि नै विरोध गर्दै आइरहेको थियो।

संघका उपाध्यक्ष चित्रराज तिमिल्सिनाले सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अवैध र विषाक्त च्याउ आयातमा नियन्त्रण गर्न ध्यान नदिएकाले तालाबन्दी गरेको बताए। ‘भारतबाट भन्सार छलेर च्याउ भित्रिएको छ तर सरकारलाई चासो छैन,’ उनले भने,‘अर्कोतिर नाम मात्रको जाँच गरी भित्र्याउने काम भएको छ, हाम्रो मागबारे सरकारले ध्यान देओस् भन्ने हो।’

यसैबीच च्याउ किसानका मागलाई सम्बोधन गर्न कृषि विभागमा छलफल भएको छ। विभागका महानिर्देशक निरु दाहाल, कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटी, प्लान्ट क्वारेन्टाइन केन्द्रका प्रतिनिधि, किसान प्रतिनिधि लगायतको उपस्थितिमा भएको छलफलले तीनबुँदे सहमति गरेको छ। सहमतिमा अवैध र विषाक्त च्याउ आयात रोक्न तत्काल अनुगमनका लागि पहल गर्ने, किसानका मागलाई सम्बोधन हुने गरी नीतिगत व्यवस्था गर्न च्याउ उत्पादन नीति बनाउन विभागले प्रकृया अगाडि बढाउने निर्णय भएको छ।

त्यस्तै प्लान्ट व्वारेन्टाइन केन्द्रले माताहतका कार्यालयलाई तत्काल विषादी चेकजाँचलाई प्रभावकारी बनाउन निर्देशन दिने निर्णय भएको किसान तिमिल्सिनाले जानकारी दिए। संघले यसअघि सरकारलाई २१ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको उनले बताए । सहमतिपछि आजै ताला खोलिएको तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित: ९ माघ २०७६ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App