७ वैशाख २०८१ शुक्रबार
अर्थ

पदयात्रा व्यवसाय खस्किने चिन्ता

हिउँले भरिएको माछापुच्छ्रे आधारशिविर क्षेत्र र त्यहाँका होटल। तस्बिर : नागरिक

पोखरा - २० लाख विदेशी पर्यटक  भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ भएको भर्खर तीन साता बितेको छ। भ्रमण वर्षको महत्वाकांक्षी योजनाको राष्ट्रव्यापी अभियान सुरु भएको छोटो समयमै पदयात्रा क्षेत्र नै त्रसित बनाउने गरी आएको हिमपहिरो र त्यसले पु-याएको क्षतिले अभियानलाई नै असर पार्ने र त्यसले पर्यटक आगमनमा प्रभाव पार्ने भन्दै पर्यटन व्यवसायीले भने चिन्ता जनाएका छन्।

पदयात्रा सिजनको मुखैमा पुगेको यो क्षतिले पदयात्रा व्यवसायलाई यो वर्ष झनै असर पार्ने उनीहरु बताउँछन्। २० लाख विदेशी पर्यटकको लक्ष्य पूरा गर्नका लागि पर्याप्त मात्रामा विदेशी पाहुना आकर्षण गर्नुपर्ने यही बेलामा साहसिक मानिएको पदयात्रा क्षेत्र नै ध्वस्त हुने र मानवीय क्षति पुग्ने गरी आएको हिमपहिरोले नेपालको पदयात्रा पर्यटन क्षेत्र नै असुरक्षित रहेको भन्ने सन्देश फैलिएकामा व्यवसायीको चिन्ता छ। नेपाल आउने धेरै पर्यटक साहसिक गतिविधिमा रम्ने चाहने र त्यसका लागि पदयात्रा जाने भएपनि अबका केही समय आकर्षक मानिएका पदमार्ग तत्काल सञ्चालनमा आउने अवस्था नरहेको व्यवसायीको भनाइ छ। तत्काल पदमार्ग सञ्चालनको अवस्था नहुँदा आगमनमा अझै असर पार्ने व्यवसायीको भनाइ छ।

पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाका अनुसार नेपाल आएका विदेशी पर्यटकमध्ये १६ प्रतिशत हाराहारीमा पदयात्रामा जान्छन्। पोखरा भित्रिएकामध्ये पनि करिब ४० प्रतिशत पाहुना आसपासका क्षेत्रको पदयात्रामा जाने अनुमान छ। पोखरा आसपासमध्ये पनि अन्नपूर्ण क्षेत्रको पदयात्रामा जानेको संख्या उल्लेख्य छ। तर, अहिले त्यही अन्नपूर्ण क्षेत्रलाई नै अप्ठेरो पार्नेगरी हिमपात र हिमपहिरो आउँदा आगामी दिनमा त्यस क्षेत्रको पदयात्रामा जाने पर्यटकको आगमनमा असर पार्ने उनले बताए।

‘६ वर्षअघि अन्नपूर्ण फेरोमा आएको हुद्हुद आँधीका कारण पोखरा क्षेत्रको पदयात्रा व्यवसायलाई ठूला मार परेको थियो। अहिले फेरि अन्नपूर्ण आधारशिविर (एबिसी)को पदमार्ग क्षेत्रलाई नै धक्का दिनेगरी हिमपात र हिमपहिरो आएको छ,’ सापकोटाले भने, ‘पर्यटकीय सिजनकै मुखमा प्राकृतिक विपद् आउँदा अझै बढी मार परेको छ। मार्चबाट सुरु हुने पदयात्रा सिजनलाई अझै मार पर्नेछ।’ प्राकृतिक विपद् आएसँगै केही महिना त्यो क्षेत्रको पर्यटन व्यवसाय सुस्ताउने गरेको उनले बताए।

‘नेपालमा मात्र होइन, प्राकृतिक विपद्ले कुनैपनि मुलुकको पर्यटन क्षेत्रलाई केही महिना असर पार्छ,’ उनले भने, ‘मार्च–मे पदयात्राको मुख्य सिजन हो। यही बेला पदमार्गमा आउजाउ नै गर्न नसकिने गरी हिमपात भएको छ। हिमपहिरोले झनै त्रसित बनाएको छ। हिमपात अझै रोकिने संकेत छैन ।’ सापकोटाले नेपाल भ्रमण वर्ष २०२० को मुखमा आएको यो प्राकृतिक विपद्ले पर्यटन क्षेत्रमा नराम्रोसँग धक्का पुग्ने बताए। ‘यतिबेला अन्नपूर्ण क्षेत्रभरिकै पदयात्रा अवरुद्ध छ। अवरुद्ध पदयात्रा कहिले सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘अवरुद्ध पदमार्ग खुल्ने समय यकिन नहनु र सुरक्षित रहेको भन्ने निश्चिन्तता नहुँदा नेपाल आउन चाहेका विदेशी पर्यटक अन्यत्र मोडिने सम्भावना छ।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार अहिले पदमार्गको छोमरोङभन्दा माथि एबिसीसम्मको पदयात्रा अवरुद्ध छ। हिमपहिरो झरेको हिङ कु केभ क्षेत्रमा त झनै बढी हिउँ जमेको र त्यो पग्लिन बढी समय लाग्ने भएकाले पनि तत्काल पदमार्ग खुल्ने अवस्था नरहेको उनले बताए। अरु हिमपात नथपिएको अवस्थामा घाम लाग्यो भने पनि करिब एक महिना हिउँ पग्लिनका लागि लाग्ने उनले बताए। ‘अन्नपूर्ण आधारशिविर र माछापुच्छ्रे आधारशिविर क्षेत्रमा होटल कुरेर बसेका केही कामदार बाहेक कोही पनि विदेशी पाहुना अहिले छोमरोङ भन्दा माथि गएका छैनन्,’ उनले भने, ‘अझै केही दिन पदमार्ग पूर्णरुपमा सञ्चालनमा आउँदैन। पदमार्ग अवरुद्ध हुँदा त्यस क्षेत्रको पदयात्रा व्यवसाय नै नोक्सान हुनेछ ।’ उनले पनि पदयात्रा क्षेत्रमा अप्ठेरो पार्ने गरी हिमपहिरो आएको बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को छोमरोङ चेकपोस्टका कर्मचारी नेत्र शर्माका सन् २०१८ मा आधारशिविरमा ३३ हजार ६ सय ८३ विदेशी पर्यटक गएका थिए। त्यो संख्या घटेर सन् २०१९ मा २८ हजार आठ सय ६० मा झरेको थियो। देशव्यापी आगमन घट्दाको असर आधारशिविरको पदमार्गमा परेपनि सन् २०२० लाई झनै असर पार्ने गरी प्राकृतिक प्रकोप आएको शर्माले बताए। शर्माका अनुसार हिमपहिरो झरेको दिन (माघ ३) पछि न्यून संख्यामा मात्र विदेशी पर्यटक छोमरोङसम्म उक्लेका थिए।

‘हिमपात भएपछि छोमरोङसम्म पनि पर्यटक आएका छैनन्। छोमरोङदेखि तीन दिनमा एबिसी पुगिन्छ,’ उनले भने, ‘उपल्लो दोभानदेखि एबिसीसम्म त आउजाउ गर्न सकिने अवस्था नै छैन ।’ आधारशिविर पदमार्गको छोमरोङमा एक्यापको अन्तिम चेकपोस्ट छ। छोमरोङको चेकपोस्ट पार गरेपछि मात्र पर्यटक एबिसी जान पाउँछन्। एबिसी जाने पर्यटकले छोमरोङको चेकपोष्ट छल्न पाउँदैनन्।  

उनका अनुसार पदमार्गको दुईदिनको बाटोमा यतिबेला आउजाउ गर्न सकिने अवस्था छैन। नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै पदमार्ग क्षेत्रमा असर पारेको उनले पनि बताए। ‘पर्यटकीय सिजन पनि सुरु हुने बेला भएको छ। यही बेला पदमार्गमा हिँड्डुल नै बन्द हुने गरी हिमपात र हिमपहिरो झरेको छ। अझै हिमपहिरो आउने सम्भावना छ,’ उनले भने, ‘पहिलो गासमा ढुंगा’ लाग्ने भने झै सिजनको मुखमा र भ्रमण वर्षको सुरुवातमै पदयात्रा क्षेत्र अवरुद्ध भएको छ। हिमपातको क्षतिको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म फैलिइसकेकाले पदयात्रा क्षेत्र तत्काल सुधार हुने अवस्था देखिन्न।’

पदयात्राका क्रममा रहेका आफ्ना देशका चारजना नागरिक हराएको भन्दै केही दिनअघि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोलीले हेलिकप्टरबाट घटनास्थल निरीक्षण गरेको थियो। घटनास्थल निरीक्षणपछि पोखरा फर्केर पत्रकार भेटघाट गर्दै राजदूत सिकले पनि नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहँदा पदयात्रा क्षेत्रमा आइपरेको प्राकृतिक प्रकोपले अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश फैलिने भन्दै चिन्ता जनाए। भ्रमण वर्षमा नेपाल घुम्न आउने विदेशीका लागि सुरक्षाको प्रत्याभूति गराउने जिम्मा नेपाल सरकारको रहेको उनले बताए। ‘भ्रमण वर्षमा धेरै पर्यटकलाई नेपालले स्वागत गर्न चाहेको छ। त्यसैले यो वर्षलाई बढी सुरक्षित बनाउनुपर्छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा पनि प्राकृतिक प्रकोप बढिरहेकाले पनि सचेत हुन जरुरी छ।’ अन्नपूर्ण क्षेत्रमात्र नभई नेपालका अन्य पदयात्राको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले सुझाए।

पदयात्रा व्यवसायी पनि नेपाल भ्रमण वर्ष २०२० को मुखमा आइपरेको प्राकृतिक विपद्ले समग्र पर्यटन क्षेत्रमा मार पर्ने बताउँछन्। पदयात्रा क्षेत्र त झनै नोक्सानमा पर्ने उनीहरुको भनाइ छ। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भूजेलले नेपाल भ्रमण वर्ष २०२० लाई नै यो प्रकोपले मार पार्ने बताए।  ‘पदयात्रा व्यवसाय नै धरापमा पार्नेगरि प्राकृतिक प्रकोप आएको छ। हुन त हिमाली क्षेत्रमा प्राकृतिक प्रकोप जहाँकतै आउने गरेको छ,’ भूजेलले भने, ‘तर, सरकारले २०२० मा २० लाख विदेशी पाहुना  भित्र्याउने लक्ष्य राखिरहँदा त्यसको मुखैमा विपद् आइपर्दा यसले अन्तर्राष्ट्रिय बजारमा नराम्रो सन्देश पुग्ने पक्का छ।’

हिमाली क्षेत्रको पदयात्रा सुरक्षित रहेको भनेर सन्देश फैलाउन जरुरी रहेको उनले बताए। त्यसका लागि पदमार्गमा सुरक्षा निकायको उपस्थिति, सञ्चारको पहुँच, स्वास्थ्य सेवाको ग्यारेन्टी गर्दै प्रचारप्रसार गर्ने हो भने अन्नपूर्ण क्षेत्रको पदयात्रा पहिलेकै अवस्थामा फर्काउन धेरै समय नलाग्ने उनले बताए। ‘प्राकृतिक प्रकोप हो भनेर विदेशीलाई बुझाउनुपर्छ, तर, रिकभर हुन केही समय भने लाग्छ,’ उनले भने, ‘कुन गतिमा रिकभर गर्ने भन्ने सरकारको पहलमा भर पर्छ ।’ अहिलेको गलत सन्देशलाई चिर्नका लागि जतिसक्दो छिटो हराएका पदयात्री खोजेर सही सन्देश दिलाउन सक्नुपर्ने उनले बताए। उनले पनि अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रा सुचारु गर्न कम्तीमा डेढ महिना समय लाग्ने बताए। आधारशिविर क्षेत्रमा समेत बाक्लो हिउँ थुप्रिएकाले पनि केही समय लाग्ने भूजेलको भनाइ छ।

प्रकाशित: ९ माघ २०७६ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App