७ वैशाख २०८१ शुक्रबार
राजनीति

थरुहट तराई पार्टीबाट किन निकालिइन सांसद गंगा चौधरी ?

काठमाडौं– थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य गंगा चौधरीलाई पार्टीबाट निष्काषन गरेको छ। पटक पटक सचेत गराउँदा पनि अनुशासन पालना नगरेको र नयाँ पार्टी खोल्ने योजना बनाएको पाइएपछि पार्टीले निष्काषन गरेको अध्यक्ष भानुराम थारुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

व्यवस्थापिका संसद्, विधायन समितिका सभापति समेत रहेकी चौधरीले पार्टीले उठाएका माग मुद्दा लत्याएको र सांसद पद जोगाउन पहिचानविरोधी शक्ति केन्द्रहरुको लोभलालचमा परेको पार्टीले आरोप लगाएको छ।

सांसद चौधरीको यही अमर्यादित हर्कतका कारण पार्टीको केन्द्रीय कार्यसमिति बैठकले व्यवस्थापिका संसदबाट फिर्ता बोलाउनुका साथै पार्टीको साधारण सदस्यसमेत नरहेनगरी चौधरीलाई निष्काषन गरेको सचिव मीनराम चौधरीले जानकारी दिए।

यता सांसद चौधरीले पार्टीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएकी छन् । उनले आफू कसैको लोभलालचमा नआएको र पार्टीले आफ्नो बदनाम गराउने उद्देश्यले आरोप लगाएको स्पष्ट परेकी छन्। ‘नयाँ पार्टी खोल्ने मैले कल्पना पनि गरेको थिइन् । तर पार्टीभित्रको विभेद् सहन नसकेर छुट्टै पार्टी दर्ता गरेकी हुँ,’ उनले नागरिकन्युजसँग भनिन् । पार्टीको धारणा बुझ्न चार दिन कुरेको र धारण नआएपछि बाध्य भएर पुस ८ गते थरुहट तराई लोकतान्त्रिक पार्टी दर्ता गरेको उनले दाबी गरिन्।

तर निर्वाचन आयोगले भने सांसद चौधरीले दाबी गरेको थरुहट तराई लोकतान्त्रिक पार्टी हालसम्म दर्ता नभएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उक्त नामको पार्टी दर्ता नभएको बताए। तर सांसद चौधरीले नयाँ पार्टीका लागि निवेदन दिएको आयोगको कानुन शाखाले जनाएको छ। त्यसो त थरुहट तराई पार्टीले पनि सांसद चौधरीलाई निष्काषन गरेको कुरा आयोगमा जानकारी गराएको छ।

थरुहट तराई पार्टीका उच्च नेताहरुले भने पहिचान विरोधीहरुले आफ्नो पार्टी फुटाएको अरोप लगाएका छन्। आदिवासी जनजाति र थारु समुदायको मुद्दामा पार्टीले शसक्त अभियान थालेको भन्दै पहिचानविरोधी तत्वहरुले पार्टी फुटाएको थरुहटका एक उच्च नेताले बताए। ‘थरुहट फुटाउन एमालेलगायत केही पहिचानविरोधी नेताहरुले विगत लामो समयदेखि कसरत गरिरहेका थिए,’ ती थरुहटका एक उच्च नेताले भने, ‘त्यसकै सिकार सांसद गंगा चौधरी भएकी छन्, जुन धेरै नै दुःखद कुरा हो ।’

प्रकाशित: ११ पुस २०७३ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App