coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एम्बुलेन्सको आम्दानी अपारदर्शी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित एम्बुलेन्सको आम्दानी पारदर्शी नभएको पाइएको छ। खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते हस्तान्तरण गरेको एम्बुलेन्स सञ्चालनका क्रममा उठेको शुल्कबापतको आम्दानीको हिसाब–किताब पारदर्शी नराखिएको खुलेको हो।

रकम पारदर्शी नभएको गुनासो आएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गठन गरेको एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनसम्बन्धी गठित छानबिन समितिले २ लाख ६३ हजार २९ रुपैयाँ रकम हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको छ। एम्बुलेन्स सञ्चालनका क्रममा खड्गबहादुर तामाङको अध्यक्षतामा गठित १२ सदस्यीय एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले गत वैशाख १० गते ज्ञानेन्द्र खड्काको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। २०७२ कात्तिक १५ गते गठित एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले एम्बुलेन्स सञ्चालन गरेबापत ३ लाख ६९ हजार ८ सय ६२ रुपैयाँ र तत्कालीन विभिन्न वडाबाट ७ लाख ६५ हजार गरी कुल ११ लाख ३४ हजार ८ सय ६२ रुपैयाँ आम्दानी भएको देखाए पनि छानबिन समितिले अध्ययनका क्रममा कुल १२ लाख १९ हजार ८ सय ६२ रुपैयाँ आम्दानी भएको पाइएको जनाएको छ। कुल आम्दानीमध्ये ९ लाख ९६ हजार ७ सय ५७ खर्च भएको र बाँकी रहेको २ लाख २३ हजार १ सय ५ मा बैंक मौजदात २६ हजार घटाउँदा १ लाख ९७ हजार १ सय ४ रुपैयाँ रकम समितिसँग बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। खर्चमा देखाइएकामध्ये ६५ हजार ९ सय २५ रुपैयाँको हिसाब–किताब अमान्य देखिएकाले सोसहित जम्मा २ लाख ६३ हजार २९ रुपैयाँ रकम समितिको जिम्मामा रहेको छानबिन समितिले जनाएको छ। छानबिन समितिले एम्बुलेन्स सञ्चालनका क्रममा भएको अनियमितता रकम तत्काल असुल गर्नका लागि सिफारिस गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। सो एम्बुलेन्स तत्कालीन इलाका ९ र १० का सर्वसाधारणको सेवाका लागि २०७३ चैत २८ गते स्वास्थ्यचौकी ओख्रे डाँडागाउँलाई हस्तान्तरण गरिएको थियो।

छानबिनका क्रममा एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिबाट असहयोग भएको, २०७३ चैत २७ देखि २०७४ चैत ५ गतेसम्म मात्र सञ्चालन गरिएको गलत विवरण उपलब्ध गराइएको, सो अवधिमा एम्बुलेन्स ८८ पटक सञ्चालन गरेको देखाइए पनि सोभन्दा बढी सञ्चालन भएको छानबिन समितिको दाबी छ। २०७४ पुस ११ गते टेम्माका दिलकुमार राईकी पत्नीलाई काठमाडौं पु-याएबापत २५ हजार, टेम्माकै हर्कबहादुर बस्नेतलाई रसुवाघाटसम्म पु-याएबापत ७ हजार, २०७४ वैशाख १८ गते टेम्माका बाबुरामलाई दिक्तेल पु-याएबापत ८ हजार रकम आम्दानीमा समावेश नगरेको १५ पृष्ठ लामो छानबिन प्रतिवेदनमा उल्लेख छ। यस्तै, २०७५ वैशाख १३ गते टेम्मा र ओख्रे आवतजावत गरेबापतको ३ हजार, टेम्माकी बरबरमाया राईलाई दिक्तेल लगेबापतको ८ हजार, रेश्मा राईलाई दिलैंचीदेखि दिक्तेल लगेबापतको ८ हजार, तत्कालीन सछितापोखरीबाट प्राप्त भएको ३० हजार रुपैयाँ आम्दानीको अभिलेख नराखिएको छानबिन समितिले जनाएको छ। होटलको छाप र हस्ताक्षरसहितको खाली बिल भेटिनु, एम्बुलेन्सको क्षमताभन्दा बढी तेल लाग्नु, धेरै स्थान, मिति र आयको अभिलेख नराख्नुले अनियमितता भएको पुष्टि भएको प्रतिवेदनमा भनिएको छ। २०७२ कात्तिक २१ गते र २०७२ पुस ९ गतेको बैठकले आर्थिक संकलनका लागि विभिन्न व्यक्तिलाई रसिद दिएको तर संकलित रकमको आम्दानी स्पष्ट नखुलाइएको, अध्ययनका क्रममा ३ सय ५२ वटा रसिद प्राप्त भएकोमा रसिद नम्बर ८२, २७८, २८३ र २८४ को कुनै अभिलेख प्राप्त नभएको जनाइएको छ। खोटाङ सेवा समाज युकेले २०७३ चैत २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

प्रकाशित: ९ माघ २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App