coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सीमामा अवैध कारोबार बढ्दो : प्रहरी संगठनप्रति विश्वासको संकट

नेपाल–भारत खुला सीमाबाट अवैध रूपमा सामान भित्र्याइँदै। तस्बिर : नागरिक

रूपन्देही – गत मंसिर २१ गते पश्चिमबाट काठमाडौंतर्फ करिब तीन सय खसीबोका लगिँदै थिए। बाँके, बर्दिया, रुकुम, रोल्पा र बुटवलका किसानसँग खरिद गरेर लाँदै गरिएका ती खसिबोका रूपन्देहीको देवदहस्थित खैरनी पु-याइएका मात्रै के थिए, प्रहरीले तिनलाई नियन्त्रणमा लियो। चेकजाँच स्वाभाविक भए पनि प्रहरीले कागजपत्र मागेर आफैसँग राख्यो अनि खसिबोका लिएर जानेहरूलाई भैरहवातर्फ जान निर्देशन दियो।

दाङबाट बुटवलसम्म आइपुग्दा जताततै प्रहरीले चेकिङ भएको थियो। तर खैरनीमा भने प्रहरीले वैधानिक कागजपत्र खोसेर चोरी गरेर ल्याएको भन्दै खसीबोका नियन्त्रणमा लिएपछि व्यवसायी चकित भए। ‘हामीले नेपालमै खरिद गरेको भनेर कागजपत्र देखायौं, सबै प्रमाण देखाउँदा पनि प्रहरीले मानेन,’ दाङका व्यवसायी फिरोज कुरैसीले भने, ‘जबर्जस्ती चोरीको सामान भनेर मुचुल्का उठायो।’ प्रहरीले यसो किन ग-यो भन्ने मेसो नपाएका ती व्यवसायीका खसीबोका भोलिपल्ट लिलाम हुने अवस्थामा पुगिसकेको थियो।

‘प्रहरीले किन यति दुःख दियो भन्ने हामीले केही बुझेनौं, धन्य प्रमुख जिल्ला अधिकारी र भन्सार कार्यालय गएछौं,’ मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण पौडेलले भने, ‘किसानबाट वैधानिक रूपमा खरिद गरिएका खसिबोका लिलाम हुनबाट बच्यो।’ चोरी गरेर ल्याएको भनेर जबर्जस्ती प्रमाण जुटाउन खोजिएपछि व्यवसायीहरू प्रहरी संगठनप्रति सशंकित भएका थिए। प्रहरीले अवैध असुलीका लागि गरिएको त्यस्तो प्रपञ्च असफल भएको भएको व्यवसायीहरूले बताए।

पुस २५ गते सशस्त्र प्रहरीले रूपन्देहीको भैरहवाबाट चोरी गरी ल्याएको सुनसहित तीनजनालाई पक्राउ ग-यो। सशस्त्र प्रहरीले थप कारबाहीका लागि रूपन्देही प्रहरीलाई जिम्मा लगायो। जिल्ला प्रहरी कार्यालयले सुन तस्कारीको अभियोगमा मुद्दा अघि बढायो। तर, तीनजनामध्ये दुईजनालाई भने प्रहरीले सुटुक्क छाडिदियो। सात सय १६ ग्राम सुनसहित पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका–२ का ३५ वर्षीय कयस महमद सेख, मायादेवी गाउँपालिका–५ का वर्ष २६ वर्षीय कमलेश उपाध्याय र सिद्धार्थ नगरपालिका–८ का ४२ वर्षीय बलराज गुप्ता थिए।

घटनामा संलग्नको अभियोगमा पक्राउ परेका कमलेश र बलराजलाई प्रहरीले छाडिदियो। रूपन्दही–४ बाट प्रतिनिधिसभा सांसद प्रमोदकुमार यादवका पिएसमेत रहेका कमलेश र अर्का बलराजलाई भनसुनकै भरमा छाडिएपछि अहिले प्रहरी संगठनमाथि नै प्रश्न उब्जिएको छ। जिल्ला प्रहरीले कयसलाई मात्रै मुद्दा चलाएको छ। एउटै घटनामा संलग्नमध्ये दुईजना कसरी छुटे ? रूपन्देही प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्री भन्छन्, ‘नक्कली सुन भएकाले दुईजनालाई छाडिएको हो।’ तर एउटै घटनामा कयसलाई किन मुद्दा चलाएको भन्नेबारे भने उनले केही बताएनन। राजनीतिक दबाब र ठूलो आर्थिक चलखेलमा परेर प्रहरीले दुईजनालाई छाडेर कयसलाई मात्रै मुद्दा चलाएको स्रोतले बताएको छ।

उल्लिखित दुई घटना रूपन्देहीमा प्रहरी संगठनबाट पछिल्लो समय भएको शक्तिदुरुपयोगका प्रतिनिधि घटना हुन्। रूपन्देहीमा प्रहरी प्रमुख फेरिएसँगैे प्रहरी संगठनलाई नै बदनाम गराउनेगरी स्वार्थकेन्द्रित अभियान देखिएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा गत असोज ४ गते प्रहरी प्रमुख एसपीका रूपमा हेमकुमार थापा यहाँ आएपछि प्रहरी संगठनमाथि अविश्वास बढ्दै गएको छ। चेकजाँचका नाममा हुने बार्गेनिङ र नेपाल–भारत सीमा खुलाका कारण तस्करी मौलाएको छ। आर्थिक प्रलोभनमा प्रहरी संगठनको नेतृत्व तहले अवैध सामान ओसारपसारलाई वैधानिक र सहजीकरण गर्ने संयन्त्रको काम गरेको गुनासो बढ्दो छ। नेपालका उद्योगी–व्यवसायीमाथि केरकार गरेर प्रशासन कडा रहेको देखाउने तर भित्र भने अवैध धन्दामा प्रहरी स्वयं संलग्न हुन थालेपछि स्थानीय र प्रदेश सरकारसमक्ष नागरिकले गुनासो गर्न थालेका हुन्। रूपन्देही प्रहरी प्रमुख थापाले घुमुवा प्रहरी नै परिचालन गराएर अवैध रूपमा भारतीय सीमाबाट सामान नेपाल भिœयाउने काम गराएको स्रोतले जनाएको छ। ठूला व्यपारीहरूसँग एसपीले नै सम्बन्ध कायम गर्ने र सानाहरूसँग घुमुवा प्रहरीले लाइन मिलाउने गरेको जनाइउको छ।

तस्करसँग लाइन मिलाउन र असुली गर्न एसपी थापाले असई हृदय चौहान, प्रहरी जवान शंकरराज गिरी, वीरेन्द्र रोक्का क्षेत्री र कृष्ण श्रेष्ठलाई खटाउने गरेको स्रोतको भनाइ छ। सीमा नाकाबाट खुलेआम सामान ल्याउँदा पनि प्रहरीले नदेखेझैं गर्ने गरेको स्थानीय बताउँछन्। भारतीय सीमाबाट गाडी, मोटरसाइकल र साइकलमा खुलेआम तरकारी, आलु, प्याज, कपडा तथा अन्य विभिन्न सामाग्री तस्करी भइरहेको मर्चवारका स्थानीय अब्दुल मियाँले बताए। प्रहरीसँग सहजै सेटिङ मिल्ने भएपछि रूपन्देही तस्करीका लागि सबैभन्दा सुरक्षित क्षेत्र मानिएको छ। कपिलवस्तु, नवलपरासी, दाङ र बाँकेबाट तस्करी गर्दै आएकाहरूले पनि रूपन्देहीबाटै तस्करी गर्न थालेका छन्। रूपन्देहीको कालीदहदेखि मर्चवार, पक्लिहवादेखि भगवानपुर नाकाबाट प्याज, तरकारी, कुखुरा, कपडा र अन्य सामान तस्करी भइरहेका छन्। अहिले प्रहरीले चेकजाँच कडा नगर्दा सीमाबाट खुलेआम बसमै कपडा तस्करी हुने गरेको जनाइएको छ।

नेपालबाट भारततिर सुपारी, दाल, मरिच, ल्वाङ, सुकुमेलको समेत तस्करी मौलाएको छ। यिनीहरूले मेउडिहवा, बगाह, एयरपोर्ट (केउटलिया), कालीदह नाका प्रयोग गरेर भारततर्फ तस्करी गर्ने गरेका छन्। नेपाली बजारमा भन्दा भारतमा महँगो पर्ने भएकाले यी सामानहरू भारततर्फ तस्करी हुने गरेको हो। जिल्लाको सोझो साँठगाँठ भएकै कारण यहाँका प्रहरी अधिकृत, असई, हवल्दार र सिपाही बोल्न सकेका छैनन्। ‘माथिबाट आदेश आउँछ, हामीले देखेको नदेखेझैं गर्नुपर्छ,’ एक प्रहरी अधिकृतले भने।

भैरहवा, बुटवल, नारायणगढ र काठमाडौंसम्म हार्डवेयर, इलेक्ट्रिक समान बिनाभन्सार प्रहरीको सेटिङमा नेपाल भित्रिएको छ। प्रहरी संगठनमाथि प्रश्न उठेको भनेर उच्च पदस्थ प्रहरी अधिकृतहरूले सुधार गर्न भने पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख थापाले भने सुनेका छैनन्। प्रहरी प्रमुख एसपी थापाले आफूहरूले कुनै कमजोरी नगरेको दाबी गरे। उनले जिल्लामा पहिलाभन्दा शान्तिसुरक्षा मजबुत भएको र तस्करी नियन्त्रण गरेको जिकिर गरे। उनले भने, ‘तस्करी भएको भनेर कुरा सुनिएको छ तर हामीले चोरी निकासी नियन्त्रण गरेका छौं।’ उनले प्रहरी संगठनको संलग्नता हुनै नसक्ने भन्दै अफवाह मात्रै भएको दाबी गरे।

जिल्लामा प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी खत्रीले भने नियमित चेकजाँच गरिएको भन्दै खुला सीमा भएकाले तस्करी मौलाएको हुन सक्ने बताए। उनले अब तत्काल कडाइका साथ चेकजाँच थालिने बताए।

प्रकाशित: ९ माघ २०७६ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App