७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्माण अवरोध हटाउने प्रयास

काठमाडौं - मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत प्रसारण लाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ। आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्ष अघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दै आएका छन्।

नेपाल विद्युत प्राधिकरणले सुरुमा मस्र्याङ्दी नदीको किनारैकिनार प्रसारण लाइन निर्माणको डिजाइन तयार गरेको थियो। तर, नागरिक उड्डयन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो। प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने र सामाजिक तथा वातावरणीय क्षति कम हुने गरी वस्ती र जंगलको बीचबाट प्रसारण लाइनको नयाँ रुट तय गरेको छ। लमजुङको गरमबेंशीबाट पालुङटार नगरपालिकाको वडा नं ४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको गरमबेंशी–पालुङटार ५.६ किलोमिटर खण्डमा १६ वटा टावर निर्माण गर्नुपर्ने छ।

तर, पालुङटारका स्थानीयले प्रसारण लाइन बस्तीबाट छिराउन खोजिएको भन्दै रुटमा असहमति जनाउँदै आएका छन्। उदीपुर–मार्कीचोक खण्डमा लमजुङतर्फ भने कुनै समस्या छैन। लमजुङमा पर्ने टावर निर्माण सुरु गरिएको छ। ‘गेम चेन्जर आयोजना’का रुपमा निर्माण सुरु गरिएको आयोजनामा अवरोध उत्पन्न भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पहलमा गोरखाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद चुडामणि खड्काको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। समितिमा त्यस क्षेत्रका प्रदेश सभाका सांसद, नगरपालिकाका मेयर, उपमेयर, सहरी विकास मन्त्रालय लगायतका प्रतिनिधि रहेका छन्।

पूर्वप्रधामन्त्रीसमेत रहेका गोरखा–२ बाट प्रतिनिनिधि सभाका सांसद डा.बाबुराम भट्टराई, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश सभाका सांसद, नगरपालिका मेयर तथा उपमेयर, सहरी विकास मन्त्रालय र नागरिक उड्यन प्राधिकरणका प्रतिनिधि लगायतले आयोजनाका प्रस्तावित रुटबारे पालुङटारमा स्थानीयसँग अन्तरक्रिया गर्नु भएको छ। पालुङटार विमानस्थल चल्न व्यवधान नहुने र स्थानीयलाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनुपर्ने भट्टराईले बताए। ‘प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौं, सम्भव नै नहुने देखिएमा अहिले प्रस्तावित रुटबाट पुग्ने क्षतिलाई कम गर्नेतर्फ सोचौं,’ उनले भने, ‘तर मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौं भने यहाँ आएको विकास पनि गुमाउन सक्छौं त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौं ।’

कार्यकारी निर्देशक घिसिङले राजनीतिक फाइदा बेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति काम हुने गरी विस्तृत रुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरे। ‘एयरपोर्ट नचाहिने हो भने मस्र्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावर पनि कम बनाउनुपर्छ, त्यहाँबाट लैजाँदा एयरपोर्ट या प्रसारण लाइनमध्ये एक छाड्नुपर्ने देखिएपछि दुवै सञ्चालन हुनसक्ने विभिन्न विकल्पमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ठ प्राविधिक विकल्पको रुपमा तय गरिएको हो,’ उनले भने, ‘तत्काल यो लाइनको निर्माण गर्न सकिएन भने मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न नसकी अर्बौं रुपैयाँ पेनाल्टी तिर्नुपर्ने संवेदनशील अवस्था छ, त्यसैले विकासविरोधी पनि हैन तर मेरो जग्गाबाट लाइन लैजान दिन्न भन्नु भएन, अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिने छ ।’

उनले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टेसन बनाइदिन प्राधिकरण तयार रहेको समेत प्रतिबद्धता जनाए। विद्युत प्रसारण लाइनको रुट जताबाट लगे पनि स्मार्ट सिटीलाई कुनै असर नपर्ने र स्मार्ट सिटीको अपहरण नहुने प्रष्ट पार्दै सहरी विकास मन्त्रालयकी सहसचिव सरिता मास्केले स्मार्ट सिटीलाई धेरै विद्युत आवश्यक पर्ने भएकाले लाइनलाई अवसरका रुपमा प्रयोग गर्न आग्रह गरे। नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एयरपोर्ट सञ्चालनमा ल्याउन चालू आर्थिक वर्षबाट स्तारोन्नति गर्न लागिएको जानकारी दिँदै मर्स्याङ्दी नदीको किनारै किनार प्रसारण लाइन निर्माण गरिएमा एयरपोर्ट चलाउन नसकिने प्रष्ट पारे।  

पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल र उममेयर पम्फा बसेलले विकास नरोकिने र जनतालाई पनि कम क्षति पुग्ने गरी प्रसारण लाइन निर्माण गरिनु पर्नेमा जोड दिए। यो लाइन एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ।  मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण गर्न लागिएको हो। मनाङको धारापानीबाट सुरु हुने प्रसारण लाइन चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनमा पुगेर टुंगिने छ। आयोजनाले धारापानी, खुदी, उदीपुर र न्यू भरतपुर २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गर्ने छ। युरोपेली लगानी बैकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो।

प्रकाशित: ९ माघ २०७६ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App