७ वैशाख २०८१ शुक्रबार
समाज

चालु आर्थिक बर्षभित्रै छाउगोठमुक्त कर्णाली

छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धनका लागि साझा अभियान कार्यक्रममा कर्णालीलाई असारभित्रै छाउगोठमुक्त बनाउने संकल्प गर्दै सरोकारवाला। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत – कर्णाली प्रदेशलाई चालू आर्थिक वर्षभित्रै छाउगोठमुक्त घोषणा गरिने भएको छ। तीनै तहका सरकारले आगामी असारभित्र कर्णाली प्रदेशको कुरीति र कलंकका रूपमा रहेको छाउ कुप्रथालाई भौतिक तथा मानसिक रूपमा अन्त्य गर्ने भन्दै बुधबार साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजकुमार शर्मा, नगरपालिका महासंघका संयोजक रत्न खड्का र गाउँपालिका महासंघका अध्यक्ष भीमबहादुर सेनले छाउगोठ अन्त्यका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गरेर संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने प्रण गरे।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कलंकका रूपमा रहेको छाउपडी कुप्रथा अन्त्यका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए। उनले कर्णाली प्रदेशका सबै स्थानीय तहले छाउगोठमुक्त घोषणा गर्दै असारभित्र सिंगो कर्णाली प्रदेशलाई नै छाउगोठमुक्त बनाइनुपर्ने बताए। ‘तीन तहका सरकार तीनतिर नफर्केर साझा धारणा बनाएर अघि बढेको खण्डमा कर्णालीमा व्याप्त छाउपडी कुप्रथा सहजै अन्त्य गर्न सकिन्छ,’ मन्त्री गुरुङले भने, ‘छाउगोठमा बस्ने र बसाल्नेलाई प्रोत्साहन नगरेर अब कानुनी कारबाहीको बाटो पनि अँगाल्न जरुरी छ।’

महान्यायाधिवक्ता अग्नि खरेलले छाउगोठमा बस्ने र बसाल्नेलाई सरकारी सेवासुविधा रोक्ने निर्णय भइसकेकाले त्यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्ने बताए। ‘यदि स्थानीय तहले कारबाहीको सट्टा प्रोत्साहन गरेको पाइए संघीय अनुदान कटौती हुन्छ,’ उनले भने, ‘यसतर्फ सचेत रहन अनुरोध गर्छु।’ उनले छाउपडी राख्ने र बस्नेलाई पक्राउ गरेर फौजदारी कानुनअन्तर्गत कारबाही चलाउन प्रहरीलाई निर्देशन दिइसकेकाले नियक उल्लंघन गर्नेलाई नछाडिने चेतावनी दिए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालसम्म मध्य र सुदूरपश्चिमका चार हजार ६ सय छाउगोठ भत्काइएको जानकारी दिए। उनले महिलामाथि हुने अमानवीय व्यवहारको अन्त्यका लागि सुरु गरिएको अभियानमा स्थानीय सरकारको साथ आवश्यक रहेको उल्लेख गरे। ‘प्रहरी प्रशासन गएर छाउगोठ भत्काउँछ, आवश्यक परेको खण्डमा कानुनी कारबाही पनि गर्छ,’ उनले भने, ‘वर्षौंदेखि मनभित्र जरा गाडेर बसेको मनको छाउगोठ भत्काउन स्थानीय सरकार लाग्नुपर्छ।’ समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सुरुमा प्रहरीले पनि जनचेतनामूलक कार्यक्रम गरेको बताउँदै आइजीपी खनालले भने, ‘अब पक्राउ गरेर कानुनको कठघरामा ल्याउने कठोर प्रतिज्ञा गर्छौं।’
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले छाउगोठमा बस्न बाध्य पार्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताइन्। उनले सरकारी सेवासुविधा रोक्नुका साथै कानुनले दिएको अधिकारको पनि प्रयोग गर्नुपर्ने बेला आएको बताइन्। उनले प्रदेश समन्वय परिषद्को बैठकबाटै कर्णालीलाई छाउगोठमुक्त बनाउने सामूहिक प्रतिबद्धता जनाइसकेकाले सोहीअनुसार जिम्मेवारी पूरा गर्न स्थानीय सरकारलाई आग्रह गरिन्।

कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बन्दुक देखाएर छाउगोठ भत्काइँदैमा मनभित्रको छाउगोठ नभत्कने भएकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए। ‘अहिलेको छाउगोठ भत्काउने अभियान विद्यार्थीलाई कुटेर विद्यार्थी पास गराउनेजस्तै भएको छ,’ उनले भने, ‘मनभित्रका गोठहरू भत्काउनेतर्फ लागौं, देखिने छाउगोठ आफैं भत्किन्छन्।’ उनले गरिबी र अशिक्षा छाउको मुख्य कारण भएको बताउँदै राज्यलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।

प्रकाशित: ९ माघ २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App