७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको आर्थिक वृद्धिदर दशककै न्यून

सियोल – दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष दशककै सबभन्दा सुस्त गतिमा विस्तार भएको अधिकारीहरूले जनाएका छन्। अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको त्यहाँको केन्द्रीय बैंकले बुधबार जनाएको छ।

विश्वकै १२ औं ठूलो अर्थतन्त्रका रूपमा स्थापित कोरियामा सन् २०१९ मा २।० प्रतिशतले आर्थिक वृद्धि भएको थियो। यो अघिल्लो वर्ष २।७ प्रतिशतभन्दा कम हो। सन् २००९ को विश्वव्यापी आर्थिक संकटपछि यो सबैभन्दा खराब अवस्था हो।
खस्कँदो आर्थिक वृद्धि हाल दक्षिण कोरियाका लागि प्रमुख चुनौती बनिरहेको छ। दशकौंसम्म आर्थिक विकासमा चमत्कार गरेको दक्षिण कोरियामा पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न समेत संघर्ष गर्नु परेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ।

राष्ट्रपति मुन जाए–इनले सार्वजनिक खर्च बढाउने र ‘आय–उन्मुख वृद्धि’को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ। यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। विपक्षीहरूले सरकारी नीतिहरूले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन्।

कोरियाको केन्द्रीय ‘बैंक अफ कोरिया’ले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ। दक्षिण कोरियामा सरकारी खपतको वृद्धि भए पनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको वृद्धि संकुचित भएको जनाइएको छ। आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मुन–प्रशासनले सार्वजनिक खर्चमा ९।१ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करिब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ।

प्रकाशित: ९ माघ २०७६ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App