coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दीपक मनाङेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङको उजुरी

पोखरा- प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेबाट कुटिएका कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार प्रहरीमा जाहेरी दिएका छन्। उनले आफूमाथि योजनाबद्ध ढंगले प्रदेश सांसद गुरुङले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी हालेका हुन्। जाहेरीमा उनले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रम चलिरहँदा प्रदेश सांसद गुरुङले कुटपिट गरेको उल्लेख गरेका छन्।

एन्फा कास्की अध्यक्ष गुरुङले आफ्नो सुरक्षाकोसमेत माग गरेका छन्। प्रतियोगिता चलिरहँदा मैदानमै कुटपिट भएको र फेरिपनि यस्तो घट्ना हुनसक्ने भएकाले आफ्नो जिउधनको सुरक्षा गरिदिनसमेत प्रहरीलाई आग्रह गरेका छन्। साथै उनले बल र दम्भको आड प्रयोग गरी कुटपिट गर्नु फौजदारी संहिता २०७४ को दफा ११८ बिपरितको कार्य भएकाले दोषी प्रदेश सांसद दीपक मनाङेलाई पक्राउ गरी प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरेका छन्।

जाहेरी दिनुअघी बुधबार पत्रकार भेटघाट आयोजना गरी एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि नियतबस आक्रमण भएको जिकिर गरे। पत्रकार भेटघाटमा उनले आफूमाथि योजनाबद्ध ढंगले आक्रमण भएको बताएका हुन्।

प्रतियोगिताका लागि मनाङबाट सहभागी डाँफे युवा क्लबका खेलाडी लगायतको टोलीलाई अभ्यास स्थल र उचित आवासको व्यवस्था नगरेको भन्दै सांसद गुरुङले आफूमाथि मनसायगत रुपमानै दुव्यर्वहार गरेको उनले दाबी गरे। उनले प्रतियोगिताको नियम अनुसारै सहभागी सबै टोलीलाई समान व्यवहार गरेको उनको जिकिर छ।

 अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष तथा मुख्यमन्त्री कप लिग कमिटीका संयोजक कृष्णबहादुर थापाले घट्नाप्रति दुःख व्यक्त गरे। 'घट्ना भएको हो', उनले भने 'सांसदज्यूले मुक्का प्रहार गर्नु भएकै हो, यसप्रति म खेद व्यक्त गर्छु।’ उनले यसबारे निर्णय लिन एन्फा केन्द्रीय समितिको आकश्मिक बैठक बस्ने जानकारी दिए।

प्रहरी भन्छ अनुसन्धान पछि पक्राउ

कास्की प्रहरीले प्रदेश सांसद दीपक मनाङेबिरुद्ध उजुरी परेलगत्तैदेखि घट्नाको अनुसन्धान शुरु गरेको बताएको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार केसीले एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बुधबार अपराह्न जाहेरी दिएकाले घट्नाको अनुसन्धान शुरु गरेको बताएका हुन्। 'घट्नाको अनुसन्धान शुरु भइसकेको छ,'उनले भने,'अनुसन्धानमा दोषि देखिए पक्राउ गरिन्छ।’ उनले पक्राउ गरेर अनुसन्धान गरिने नभई अनुसन्धान गरेर आवश्यक परेमात्र पक्राउ गर्ने स्पष्ट पारे।

 

प्रकाशित: ८ माघ २०७६ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App