लमजुङ–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव कुवेलाको राग भएको बताएका छन् । प्रेस चौतारी नेपाल लमजुङले सोमबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले सो धारणा व्यक्त गरेका हुन् ।
साझा दस्तावेजका रुपमा ल्याइएको संविधान कार्यान्वयन गराउनु पर्नेे मूल एजेण्डा छाडेर संविधान संशोधनकापछि लाग्नु समय सान्दर्भिक नभएको नेता खनालले बताए । ‘संविधान कार्यान्वयन गराउनु नै एमालेको मुख्य एजेण्डा हो, र त्यसका लागि निर्वाचन गराउनै पर्ने हुन्छ,’ उनले भने, ‘निर्वाचन नै एमालेको अर्जुन दृष्टि हो ।’
संविधान एउटा गतिशिल दस्तावेज भएकाले आवश्यकता अनुरुप संशोधन गर्दै जाने विषयमा आफ्नो पार्टीको विमति नरहेको तर अहिले नै संशोधन गराउने प्रस्ताव राष्ट्र र राष्ट्रियताको हितमा नभएकोमा खनालले जोड दिए । निर्वाचन अघि एमाले सरकारमा सहभागी हुने वा नहुने भन्ने पत्रकारको जिज्ञासामा त्यो विषय एमालेको प्राथमिकतामा नपरेको र निर्वाचन गराउनका लागि आफ्नो पार्टी सरकारमा हुनै पर्छ भन्ने पक्षमा एमाले नरहेको पनि उनले बताए ।
संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्र्तगत कार्यकर्तालाई सम्बोधन गर्न उनी बेसीशहर आईपुगेका हुन् । प्रेस चौतारी नेपाल लमजुङकी उपाध्यक्ष सरला अधिकारीको अध्यक्षतामा भएका पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य मायानाथ अधिकारी, जिल्ला अध्यक्ष धनञ्जय दवाडी, सांसदहरु टुकाभद्र हमाल, जमिन्द्रमान घले, डा.भिष्मनाथ अधिकारी, एमाले प्रदेश नं ४ का सदस्य ट्रिपल पि गुरुङ लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित: ११ पुस २०७३ ०७:२० सोमबार