coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किसानको रकम भुक्तानी नगर्ने उखु मिलको कारोबार रोक्का हुने

भुक्तानी माग गर्दै किसानले काठमाडौंमा आन्दोलन समेत गरेका थिए। फाइल तस्बिर

काठमाडौं-  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ।

मन्त्रालयले गत पुष १८ गते उखु किसानहरुसँग गरेको सम्झौता अनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको बताए। उनले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताए। उनले ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको समेत बताए। प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन्।

अन्नपूर्ण सुगर र इन्दीरा सुगरका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहेपनि ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान गर्न लागिएको जानकारी प्रवक्ता भट्टराईले दिए। अन्नपूर्णले विद्युत प्राधिकरणको समेत काम गरिरहेकोले प्राधिकरणलाई मन्त्रालयमा जानकारी गराएर मात्र भुक्तानी गर्न पत्राचार गरेको उनले बताए। त्यस्तै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेकोले अनुसन्धान गर्न लागिएको उनले बताए। लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी हुन नआएको उनले बताए। मन्त्रालयले गत पुष १८ गते उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट माघ ७ गते भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो।  

प्रकाशित: ८ माघ २०७६ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App