८ वैशाख २०८१ शनिबार
समाज

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा हराएका पदयात्रीको खोजीमा जुटेको सेना हिउँ पन्छाउँदै । तस्बिर सौजन्यः नेपाली सेना

पोखरा- अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न खटिएको सेनाको टिमले हिउँ खोतल्दै खोजी सुरु गरेको छ। हिउँ जमेको ठाउँमा खनखोरस गरेपनि अधिक हिउँ जमेकाले वेपत्ता व्यक्ति भेटाउन भने सहज नभएको सेनाले बताएको छ।

सेनाको पोखरास्थित पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारीका अनुसार घाम लागेकोले बुधबार दिनभर पदमार्ग क्षेत्रमा सेनाले हिउँ जमेको ठाउँका खनखोरस गरेको थियो। ‘अहिले पनि बेलाबेला हिउँका थुप्रो माथिबाट खसिरहेको छ। त्यसैले सचेत भएरै खोज्नुपर्छ,’ भण्डारीले भने, ‘हामीसँग त्यहाँ उपलब्ध सामाग्री प्रयोग गरेर बेपत्ता व्यक्तिको खोजी गरेपनि सहज भने छैन।’ हिउँ खन्ने उपकरणसहित त्यस क्षेत्रमा सेना खटिएको उनले बताए।

हिमपहिरोमा परेर हराएका पदयात्रीको खोजीका लागि सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको थियो। हिमपहिरोपछि खोजीका लागि सुरक्षा निकायबाट पुगेको यो नै पहिलो टिम हो। हिमपातमा परेर चारजना कोरियाली र तीनजना नेपालीसहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्। मौसम अनुकुल नहँुदा त्यस ठाउँमा सुरक्षाकर्मी समेत जान सकेको थिएन। मंगलबार मात्र सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा नौजना सैनिक पहिरोस्थलमा परिचालन भएको भण्डारीले बताए।

सेनाले त्यहाँ रहेका स्थानीयसँग समन्वय गर्दै खोजीमा जुटेको उनले बताए। ‘ठूलो आकारको हेलिकप्टर अवतरण गर्न नसक्ने अवस्था आएपछि सानो हेलिकप्टरमा टिम पठाएका हौ। त्यस क्षेत्रमा बसोबासका लागि समेत प्रयाप्त ठाउँ नभएकोले थप सुरक्षाकर्मी पठाउन सकिने अवस्था छैन,’ उनले भने, ‘सुरक्षित तरवले खटिएको टिमले त्यस क्षेत्रमा स्थानीयबासी, हराएका पदयात्रीका आफन्तसँग मिलेर खोजी गरिरहेको छ। सम्भव भएसम्मको प्रयास सेनाले गरिरहेको छ।’

उनका अनुसार त्यस क्षेत्रको मौसम अहिले पनि खराब छ। हिउँ जमेकै ठाउँमा खनखोरस गरेर हेलिकप्टर पठाएर खोजीका लागि टिम उतारेको पृतनापति भण्डारीले बताए। समुन्द्री सतहदेखि करिब ३२ सय मिटर उचाईमा रहेर उद्धार र राहतमा जुट्नु चुनौतीपूर्ण रहेको उनले बताए।

पदयात्रा व्यावसायीले पनि हराएका पर्यटक खोज्न थप पहल गर्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले त्यस क्षेत्रमा अरु पनि पदयात्री हराएको हुनसक्ने आशंका रहेको भन्दै खोजीमा पहल गर्न आग्रह गर्दै बुधबार कास्की प्रशासन पुगेका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई भेटेर हराएका पदयात्रीको खोजीका लागि थप प्रयास गर्न आग्रह गरेको भूजेलले बताए।

भूजेलका अनुसार हिमपहिरोमा परेर अहिलेसम्म सातजना पदयात्री हराएको भनिएपनि एक्लै गएका अरु पनि पदयात्री परेको हुनसक्ने आशंका छ। ‘अहिले हराएका भनिएका पदयात्री र गाइडको विवरण दुइवटा कम्पनिबाट प्राप्त जानकारीमा आधारित छ। तर,अरु एकल रुपमा गएका पदयात्री पनि त्यहाँ परेका हुनसक्छन,’ भूजेलले भने, ‘कम्पनी बेगर गएका अरु विदेशी पर्यटकबारे पनि खोजीनीति गर्न आग्रह गरेका छौ।’

टानका विपद् व्यवस्थापन टिमका संयोजक दीपकराज अधिकारीका अनुसार अहिलेसम्म हराएका सातजनाबाहेक अरु पनि पदयात्री परेको हुनसक्ने भएकोले प्रशासनलाई सचेत गराइएको हो। हिमपहिरोको बेला कुहिरो लागेको र ५० मिटर वरपर पनि नदेखिने अवस्था रहेकोले सबै विवरण यकिन हुन नसकेको आशंका गरिएको उनले बताए। व्यक्तिगत रुपमा गएका पर्यटक पनि हिमपहिरोको चपेटामा परेको हुनसक्ने अधिकारीले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग अनुमति लिएपनि एक्लै पनि पदयात्रामा जान सक्ने अवस्था रहेकोले पनि थप पर्यटक परेको आशंका रहेको उनले बताए। ‘हुन त अहिलेसम्म अरु व्यक्ति परेको भनेर विवरण आएको छैन। तर, एक्लै गएका पदयात्री पनि परेका हुनसक्छन भन्ने आशंका हो,’ उनले भने।  

 

प्रकाशित: ८ माघ २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App