काठमाडौं- प्राणी रक्षाको कामना गर्दै १० करोड मन्त्र जपसहित विश्वशान्ति पूजा थालिएको छ। बौद्धनाथ स्तुप परिसरमा शुक्रबारबाट थालिएको पूजा १० दिनसम्म चल्नेछ। पूजाको उद्घाटन स्वास्थ्यमन्त्री गगन थापाले गरे।
बौद्ध धर्मका ब्रजयान सम्प्रदायले जगत्का प्राणी रोग, अनिकाल र हातहतियारको जोखिमबाट मुक्त रहून्, अशुभ र बाधा हटोस् भन्दै यस्तो पूजा गर्ने गर्छ। पूजामा लामा र भक्तजन उपस्थित भएर ‘ओम आःहु बज्र गुरु पद्य सिद्धि हुँः’ मन्त्रलाई १० करोडपटक जप्ने गरिन्छ। यो मन्त्रलाई मणि जप पनि भन्ने गरिन्छ। बौद्ध धर्मावलम्बीका अनुसार मन्त्र जप्दा धर्मगुरु पद्म सम्भव रिम्पोछे अदृश्य रूपमा उपस्थित भई दुःखबाट मुक्ति मिल्ने विश्वास छ। मन्त्र जपिरहँदा आनन्दानुभूति तथा मनमा सकारात्मक प्रवाह हुने अनुभव भक्तजनले सुनाए।
बुद्ध समाज सेवा केन्द्रको आयोजनामा भइरहेको पूजाको नेतृत्व गरिरहेका लामा गुरु श्यरटुल दम्क्ष्यो ग्याछो रिन्पोछेका अनुसार यसपटक पद्म सम्भव रिम्पोछेको जन्म वर्ष परेकाले मणि जप गरिएको हो। बौद्ध पात्रोअनुसार पद्म सम्भव रिम्पोछेको जन्म वर्ष ६० वर्षमा एकपटक आउँछ।
बौद्ध पात्रोमा १२ महिनाको नाम भने फरक–फरक जनावरबाट राखिन्छ। १२ वर्षको एक सर्कल मानिन्छ। यस्तो सर्कल पाँचवटा हुन्छन्। गुरु पद्म सम्भव रिम्पोछेको जन्म यही ५ सर्कलअन्तर्गतको अग्ति बाँदर वर्षमा भएको मानिन्छ। अग्नि बाँदर वर्ष ६० वर्षपछि यस वर्ष परेको हो।
पूजाका लागि न्यूनतम एक सय आठ लामाको उपस्थिति अनिर्वाय हुन्छ। त्यसमाथि जतिसक्दो धेरै लामाको सहभागी भए राम्रो हुने आयोजक मूल समारोह प्रचारप्रसार समितिका मिङ्ग्युर शेर्पाले जानकारी दिए। बौद्धलगायत अन्य धर्मावलम्बीले मन्त्र जप्न सक्छन्। तर, मन्त्र जप्नेको मन भने सुद्ध हुनुपर्ने मान्यता छ।
अहिले बौद्धमा भइरहेको पूजामा दैनिक हजार बढी भक्तजनले मन्त्र जपिरहेको आयोजनकले बतायो। आयोजक समिति अध्यक्ष गेसे नावाङ योङ्देनका अनुसार मन्त्र जप्न आउने भक्तजनलाई भोजनको समेत व्यवस्था गरिएको छ। त्यस्तै, स्वास्थ्य शिविर समेत राखिएको छ। पूजा खर्च करिब एक करोड रुपैयाँ अनुमान गरिएको आयोजकले बतायो।
प्रकाशित: ११ पुस २०७३ ०७:१६ सोमबार