७ वैशाख २०८१ शुक्रबार
अर्थ

राजश्व संकलन उत्साहजनक

गाईघाटस्थित करदाता सेवा कार्यालय । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरमा ६ महिनाको अवधिमै गत वर्षभन्दा दोब्बर बढी राजश्व संकलन भएको छ। करदाता सेवा कार्यालय गाईघाटमा चालु आर्थिक वर्षको पुस मसान्तभित्र ३४ करोडभन्दा बढी राजश्व रकम संकलन भएको हो।

यस वर्ष लक्ष्यभन्दा बढी कर संकलन गर्ने योजना अनुरुप आक्रामक रुपमा अघि बढेको कार्यालयले चालु वर्षको पुस मसान्तभित्र ३४ करोड २ लाख २४ हजार २ सय ४ रुपैयाँ ७५ पैसा राजश्व संकलन गरेको सेवा कार्यालयका कर अधिकृत सुमन बुढाथोकीले बताए। उनका अनुसार गत वर्ष पुस मसान्तसम्म १६ करोड ४९ लाख ९३ हजार २९ रुपैयाँ ४३ पैसा संकलन भएको थियो।

चालु आवको ६ महिनामा गत वर्षको अद्र्धवार्षिक संकलनको तुलनामा १७ करोड ५२ लाख रुपैयाँ बढी राजश्व संकलन भएको बुढाथोकीले बताएका छन्। यो अंक गत वर्षको ६ मासिक संकलनको तुलनामा १ सय ६ प्रतिशतले बढी हो।

चालु वर्ष पुस महिनामा मात्र ११ करोड ९० लाख ३१ हजार ४ सय ७२ रुपैयाँ ४४ पैसा रकम संकलन भएको उनले बताए। जस अनुसार सबै भन्दा बढी राजश्व मूल्य अभिवृद्धि कर (भ्याट) वापत १९ करोड १० लाख १ सय १९ रुपैयाँ ७७ पैसा संकलन भएको छ। दोस्रो ठूलो आकार आयकर वापत १२ करोड ५५ लाख ८३ हजार १ सय ७३ रुपैयाँ संकलन भएको छ।

तेस्रो राजश्व आकार अन्तः शूल्क १ करोड ३५ लाख ३१ हजार ६ सय १४ रुपैयाँ संकलन भएको छ भने बहाल कर ५८ लाख ४७ हजार ५ सय ९२ रुपैयाँ ४६ पैसा र व्याज कर ३९ लाख १२ हजार ४ सय ७७ रुपैयाँ ५२ पैसा संकलन भएको छ। त्यस्तै छ महिनामा स्वास्थ्य सेवा शूल्क १२ हजार १ सय १४ रुपैयाँ र शिक्षा सेवा शुल्क वापत ३ लाख ३७ हजार १ सय १४ रुपैयाँ संकलन भएको अधिकृत बुढाथोकीले बताएका छन््।

बुढाथोकीका अनुसार पछिल्लो समय उदयपुरमा कर सम्बन्धि जनचेतना विस्तार भएर पनि व्यापारी÷व्यवसायी क्रमशः करको दायरामा आउने क्रम बढेको छ। राज्यलाई कर तिर्नुपर्छ भन्ने मान्यताको विकास गराउन कार्यालयले मासिक रुपमा नियमित सदरमुकाम र बाहिरका बजार केन्द्रीत सामाजिक चेतना भर्ने काम गरिरहेको छ। करको दायरामा आएपछि कमाई र पेशालाई कानुनी बैद्यता प्राप्त हुने र त्यसको माध्यामबाट बैंकिङ कारोबार गर्न सहज हुने भएकाले जनता स्वस्फुर्त कर दर्ता गर्न आउने क्रम बढेको उनले बताए। सरकारले पछिल्लो समय संघसंस्था र व्यक्तिगत स्थायी लेखा नम्बर (पान) दर्तालाई अनिवार्य गरेकाले पनि करदाता बढेका हुन्।

सेवा कार्यालयमा आयकर दर्ता गर्नेहरुको संख्या १० हजार ३ सय ९२ पुगेको अभिलेख छ। त्यस्तै भ्याट दर्ता गर्नेको संख्या १ हजार ३ सय ३०, व्यक्तिगत स्थायी लेखा नम्बर (पान) १३ हजार ७ सय ९० रहेको छ। कार्यालयका अभिलेखमा अन्तः शूल्क दर्ता गर्नेको संख्या १ हजार ६० छ भने भुक्तानीमा करकट्टी गर्नेको संख्या ३२ पुगेको छ।

 

प्रकाशित: ८ माघ २०७६ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App