८ वैशाख २०८१ शनिबार
अर्थ

चार दिन लाग्ने काम चार घन्टामा

आइसिपी उद्घाटनपछि हातमिलाउदै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र भारतीय राजदूतावासका प्रथम सचिव प्रभतसिंह गुलाठी । तस्बिर : विनोद/नागरिक

विराटनगर - प्रधानमन्त्री केपीओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगर–१८,बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटन गरेका छन्। दुवै देशका प्रधानमन्त्रीले मंगलबार भिडियो कन्फरेन्समार्फत रिमोट थिचेर आइसिपी उद्घाटन गरेका हुन्।

मुलुककै दोस्रो आइसिपी सञ्चालनमा आएसँगै चार दिनसम्म लाग्ने काम चार घन्टामै सकिने बताइएको छ। नेपाल–भारत सीमाको पहिलो आइसिपी वीरगन्जमा यसअघि नै सञ्चालनमा आइसकको छ। दुवै देशका प्रधानमन्त्रीले आइसिपी उद्घाटन गरेपछि विराटनगरमा आयोजित औपचारिक कार्यक्रमका सहभागीले यसले व्यापार सहजीकरणमा सहयोग पुग्ने बताए। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आइसिपी सञ्चालनमा आएपछि विराटनगर नाकामा हुने गरेको हैरानीबाट उद्योगी–व्यवसायी मुक्तहुने धारणा राखे।

उनले आइसिपीले दुई देशबीचको व्यापार सहजीकरणमा सहयोग पुगे पनि भारतको जोगवनी नजिकैको जीर्ण मिरगन्जपुलले सधैं तनावदिने धारणा राखे। जीर्ण पुलकै कारण बारम्बार आयात–निर्यात प्रभावित भइरहेकोतर्फ राज्यमन्त्री दुगडले भारत सरकारको ध्यानाकर्षण गराए। उनले भने,‘जीर्ण पुलकाकारण धेरै हैरानी बेहोर्नु परिरहेकाले जति सक्दो चाँडो नयाँ पुलनिर्माण गर्न हाम्रो आग्रह छ ।’

भारतीय कस्टम पटनाका कमिस्नर रन्जीतकुमारले जोगवनीको जामले सधैं आफूहरूलाई चिन्तित बनाउने गरेको बताए। उनले केही किलोमिटर पार गर्न हप्ता दिनसम्म लाग्ने अवस्थाको अब अन्त्य हुने बताए। उनले भने, ‘अब केही किलोमिटर पार गर्न दिनहोइन घन्टा मात्रै लाग्नेछ ।’ भारतीय राजदूतावासका प्रथम सचिव प्रभतसिंह गुलाठीले आइसिपी व्यापारको मल भएको बताए। उनले भने, ‘जसरी मलमा नुनदेखि सुनसम्म पाइन्छ त्यसैगरी आइसिपीमा सबै सेवा एकै ठाँउमा उपलब्ध हुनेछ ।’

आइसिपी सञ्चालनमा आएपछि भन्सार पास हुन तीन–चार दिनलाग्ने अवस्था अन्त्यभई केही घन्टामै काम सम्पन्न हुने उनले बताए। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले आइसिपीले पूर्वी नेपालको उद्योग वाणिज्य क्षेत्रको विकासमा  महत्वपूर्ण भूमिका खेल्ने बताए। जोगवनीको साघुँरो  सडक र पार्किङ अभावका कारण हुने जाम र ढिलासुस्तीको पनि अन्त्य हुने उनले बताए। मुन्दडाले भने, ‘जाम र जाँच पासमा हुने ढिलाइका कारण बढ्ने गरेको अनावश्यक खर्च कटौती भई यहाका उद्योगी व्यवसायीलाई राहत मिल्ने हाम्रो विश्वास छ।’

जाम र जाँचपासमा हुने ढिलाइले उद्योगी व्यवसायीले डिटेन्सन, डेमरेज लगायत अनावश्यक शुल्कको भार बोक्नुपरेको छ। आइसिपी निर्माण कम्पनी लाइफ इन्डियाका जेनेरल म्यानेजर बिएस सेरावतले भन्सार, अध्यागमन र सीमा सुरक्षाका हिसाबले आइसिपी  महत्वपूर्ण रहेको बताए। भारत सरकारको सहयोगमा चारवटा आइसिपी निर्माण भइरहेको पनि उनले जानकारी दिए। सेरावतका अनुसार चारवटा मध्ये वीरगन्ज र विराटनगरको आइसिपी निर्माण सकिएर सञ्चालनमा आएको छ। यस्तै, नेपालगन्ज र भैरहवामा आइसिपी निर्माण चरणमा छ। विराटनगरको आइसिपीमा दैनिक पाँच सय ट्रक जाँच पास हुने क्षमता छ। अत्याधुनिक आइसिपीमा ३–४ दिनलाग्दै आएको जाँचपासको काम ३–४ घन्टामै सम्पन्न हुनेछ।

इन्टरनेट सेटअप लगायतकाम बाकी रहेकाले मंगलबार आइसिपीबाट दुईवटा मालबाहक ट्रक मात्रै आवतजावत भएको छ। केहीदिनभित्रै आइसिपी पूर्ण रुपमा सञ्चालनमा आउने विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले जानकारी दिए। नेपाल सरकारले २०७३ मंसिर २० गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेपछि चौकी निर्माण सुरू भएको थियो। एक सय २९ बिघा क्षेत्रफलमा बनेको जाँचचौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाछ। बिजुलीको सबस्टेसन, वे ब्रिजलगायत सुविधा पनि आइसिपीमा छ।

प्रकाशित: ८ माघ २०७६ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App