८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जीवनको ‘नयाँ अध्याय’ सुरु गर्न राजकुमार ह्यारी क्यानडा पुगे

लण्डन (एजेन्सी) – हालैमात्र शाही उपाधि त्यागेका राजकुमार ह्यारी जीवनको ‘नयाँ अध्याय’ सुरु गर्न क्यानडा पुगेका छन्।

राजकुमार ह्यारी पत्नी मेघन र आठ महिनाका छोरा आर्चिसँग पुनर्मिलनका लागि मंगलबार बिहान भान्कोभर आइल्यान्डमा उत्रिएका छन्।

यो वसन्त ऋतुपश्चात उनी पूर्णकालीन शाही सदस्य रहने छैनन्। उनीहरूलाई सम्बोधन गरिने ‘हिज रोयल हाइनेस’ प्रयोग गर्न छोडिने छ भने उनको राजकीय जिम्मेवारी र सैन्य भूमिकासमेत रहने छैन।

राजकुमारले शाही पदवी छोड्ने निर्णय गरेसँगै बेलायती महारानी, राजपरिवारका वरिष्ठ सदस्य तथा ह्यारीका दाजु ड्युक अफ क्याम्ब्रिजसहितको छलफलबाट ह्यारीको निर्णयलाई औपचारिकता दिइएको थियो। राजकुमार ह्यारी र मेघनले गत अक्टोबरमा आफ्नो निर्णयबारे मिडियामा खुलासा गरेका थिए। राजकुमार ह्यारी मंगलबार बिहान भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा गर्नुभन्दा पहिले भान्कोभर आइल्याण्डमा उत्रिएका थिए। ह्यारी पत्नी मेघन छोरासँगै क्यानडाको वेस्ट कोस्टमा बस्दै आएकी छन्।

राजकुमार ह्यारी सोमबार राजपरिवारका तर्फबाट अन्तिमपटक युके–अफ्रिकन लगानी सम्मेलनमा सहभागी भएका थिए।

प्रधानमन्त्री बोरिस जोनसनसहित केही निजी भेटघाटमा सहभागी भएपछि राजकुमार ह्यारी हिथ्रु विमानस्थलबाट क्यानडाका लागि उडेका थिए।

मेघन क्यानडाका लागि उडेपछिका करिब १० दिन राजकुमार ह्यारी बेलायतमा एक्लै रहेका थिए। सोमबार मात्र मेघनले छोरा आर्ची र उनको कुकुरसहित पार्कमा मुस्कुराउँदै हिँडेको फोटो सार्वजनिक गरेकी थिइन्। मेघनले ह्यारीसँग बिहे गर्नुअघि उनको कुकुरसहितका तस्बिर इन्स्टाग्राममा सार्वजनिक गर्थिन्। गत मेमा जन्मिएका राजकुमार ह्यारीका छोरा आर्ची भने क्रिसमस बिदाका लागि क्यानडाको भन्कोभर आइल्यान्डमा गएपछि बेलायत फर्किएका छैनन्।

ह्यारी दम्पतिले शाही उपाधि त्यागेपछिको बाँकी जीवन बेलायत र उत्तर अमेरिकामा बिताउने बताइएको छ। केही समयको प्रेम सम्बन्धपछि यी दुवैले सन् २०१८ मा विवाह गरेका थिए। राजकुमार चार्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्षका पुगेका छन् भने उनकी पत्नी मेघन ३८ वर्षकी पुगिन्। राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारीका रूपमा रहेका थिए।

प्रकाशित: ८ माघ २०७६ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App