coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दूधको गुणस्तर सुधार्न कृषक पाठशाला

बनेपा - काभ्रेपलाञ्चोक जिल्लामै पहिलो पटक दूधको स्वच्छता र गुणस्तर कायम गराउने उद्देश्यले कृषक पाठशाला (डेरी) सुरु भएको छ। पनौती नगरपालिकाको पशुपक्षी शाखाको अगुवाइमा यस्तो पाठशाला सुरु भएको हो।

शाखाले नमूना बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा वडा नं १ को रयाले एवं वडा नं ३ को कुशादेवीका किसानलाई समेटेर नमूना (पाइलटिङ) पाठशाला सञ्चालन गरिरहेको छ। नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले पाठशालालाई आर्थिक सहयोग गरेको छ। ‘पशु बिमा कार्यक्रम लागू गर्ने क्रममा गाईभैंसीमा थुनेलो रोगले समस्या ल्याइरहेको देख्यौं। यसबाट दूध उत्पादनमा ह्रास आइरहँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नु परेको पायौं। अर्कातिर रोगी पशुबस्तुबाट उत्पादित दूध स्वच्छताका हिसाबले उपभोग्य पनि नहुने भएकाले किसान तहमा जनचेतनाको आवश्यकता  देखेर कृषक पाठशाला सुरु गरेका हौं,’ नगरपालिकाको कृषि तथा पशुपंछी शाखा प्रमुख एवं पशु चिकित्सक मणिप्रसाद सापकोटाले भने।

पाठशालाका लागि सरकारले गत वर्षबाट लागू गरेको दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ लाई मार्गदर्शन बनाइएको उनको भनाइ छ। ‘दूध उत्पादनका असल अभ्यासमा आधारित पाठशाला भए पनि हामीले यो पाठशालालाई बढी मात्रामा थुनेलो रोगमै केन्द्रीत गरेका छौंं। किनकि किसानले थाहै नपाई गाइभैंसीमा थुनेलो हुँदा एक बेतभरि नै आर्थिक नोक्सानी भोग्नु परेका थुप्रै उदाहरण छन्। यसैले पनि थुनेलो रोगबाट पशुलाई बचाउने तरिका र रोगी पशुको उपचारमा सचेत बनाउनेमा ध्यान केन्द्रितसहित पाठशाला सुरु गरिएको हो,’ सापकोटाले थपे।

दूध उत्पादक किसानलाई पनि स्वच्छता कायममा निर्देशिकाले जवाफदेही बनाएको हुँदा दूध उत्पादनमा असल पशुपालन अभ्यास, असल पशु चिकित्सा अभ्यास र असल सरसफाइ अभ्यास अवलम्बनलाई पाठशालाले प्राथमिकतामा राखेको छ। स्वच्छ दूध उत्पादनका लागि किसानले उत्पादनस्थल (गोठ)मा गर्नुपर्ने स्वअनुगमन निरीक्षण सूचक (चेक–लिस्ट)मा उल्लेखित २५ वटा बुँदामा आधारित रहँदै किसानलाई प्रेरित गर्ने नमूना बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं पशु स्वास्थ्य प्राविधिक लीलानाथ सापकोटाको भनाइ छ।

‘पाठशालामा सहभागी किसानलाई गाईभैंसीको फाँचो, कल्चौंडोको नियमित स्वस्थता जाँच र निगरानीका साथै अभिलेखसमेत राख्न सिकाउँछौं। थुन डुबाएर थुनेलोबाट बचाउने विधिमा जोड दिनेछौं। साथै थुनेलो, क्षयरोगलगायत कुनै पनि संक्रामक रोग लागेका पशुबाट उत्पादित दूध बिक्री वितरणका लागि संकलन केन्द्र-सहकारीमा नलैजानका लागि उत्प्रेरित गर्छौं,’ उनले थपे। नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को अध्ययन अनुसार थुनेलो रोगबाट नेपालका कूल दूधालु पशुबस्तुमध्ये १० देखि ३५ प्रतिशसम्म पशुबस्तु कुनै न कुनै किसिमबाट प्रभावित हुने गरेको वरिष्ठ वैज्ञानिक डा. दोजराज खनालको कार्यपत्रमा उल्लेख छ।

सरकारी फार्ममा नियमितजस्तो अनुसन्धान हुने गरेको भए पनि थुनेलो रोगबारे स्थानीयस्तरमा अध्ययन अनुसन्धान भएको पाइँदैन। मुलुकमै पहिलो दूधमा आत्मनिर्भर जिल्ला घोषित काभ्रेपलाञ्चोकमा पनि थुनेलो रोगबारे अलग्गै अध्ययन अनुसन्धान भएको भेटिन्न। ‘थुनेलो रोगबारे काभ्रे जिल्लामा अध्ययन अनुसन्धान नहुँदा यसबाट भएको यकीन क्षतिको मात्रा थाहा नभए पनि रोगका कारण किसानको आर्थिक व्ययभार बढेको अवश्य छ। अब अध्ययन गरिहाल्नु पर्छ,’ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेका प्रमुख डा. मोगलप्रसाद शाहले भने, ‘लक्षण देखिने र नदेखिने गरी दुई किसिमका थुनेलो हुने भएकाले किसान पनि झुक्किएका छन्।

आँखाले देखेर पहिल्याउन सकिनेमा तत्काल उपचार गर्न सहज भयो, तर नदेखिने थुनेलोको लागि दूधको परीक्षण गर्नुपर्छ,’ उनले थपे। थुनेलो भएमा थुन र कल्चौंडो सुनिने, दूधमा रगत देखिने, साना–साना गाँठा हुने, कल्चौंडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा कमी आउने हुन्छ। समयमा उपचार नगरे थुन कानो हुने र थुनसमेत झर्ने समस्या आउने शाहको भनाइ छ । किसानलाई आर्थिक नोक्सानी धेरै हुने र पशुबस्तुको पनि उत्पादन क्षमतामा ह्रास आउने भएकाले थुनेलो रोगबारे किसान तहसम्म चेतनामूलक कार्यक्रम तत्कालै लैजानुपर्नेमा उनको जोड छ। ‘अध्ययनले गाइभैंसी बस्ने ठाउँको सरसफाइ नहुँदा दूध दुहेको केही समयभित्रै थुनको प्वालबाट ब्याक्टेरिया कल्चौंडौमा पुगेर थुनेलो हुने गरेको देखाएको छ। तर, ५० प्रतिशतभन्दा बढी पशुमा लक्षण नदेखिएको हुनसक्छ। शंका लागेमा दूधको परीक्षण गराइहाल्नु पर्छ,’ शाहले सुझाए।

लक्षण नदेखिने थुनेलो भए कल्चौंडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आइरहेको हुनसक्ने भएकाले उनले सचेत हुन आग्रह गरे। ‘पुरै थुनेलो भएको खण्डमा एक बेतमा उत्पादन हुने दूधको ६० प्रतिशतसम्म दूधमा ह्रास आउँछ। पुरै बेतभरि दूध घट्दा किसानको ठूलो क्षति हुने गरेको छ,’ शाहले थपे। बेलैमा उपचार गर्न सकेमा थुनेलो रोग ठीक हुने भए पनि रोगग्रस्त गाइभैंसीको उपचारमा एन्टीबायोटिक प्रयोग गर्नुपर्ने हुँदा उपचार अवधिको दूध मानव सेवनका लागि उपयुक्त नहुने उनको भनाइ छ। ‘एन्टीबायोटिकको प्रयोगपछिको ‘विथड्रल पिरियड’बारे उपचार गर्ने पशु स्वास्थ्यकर्मी र किसान दुवैलाई राम्ररी बुझाउन सकेको खण्डमा दूधमा औषधिको अवशेष रहुन्जेल किसानले बिक्री वितरणमा लैजान थिएनन्। यसो हुँदा दूधको स्वच्छता कायम रहने र गुणस्तर बिग्रने थिएन। यस्ता कुरा पनि कृषक पाठशालामा सिकाउनुपर्छ,’ शाहले सुझाए।

पाठशाला सञ्चालन विधि
दूध उत्पादनमा असल पशुपालन अभ्यास, असल पशु चिकित्सा अभ्यास र असल सरसफाइ अभ्यासमा आधारित रहँदै प्रत्येक १५ दिनमा सञ्चालन हुने गरी १५ वटा पाठशाला सञ्चालन हुनेछन्। पनौती–१ र ३ गरी दुई वटा वडाका २५ जना कृषकहरुलाई पाठशालामा आवद्ध गराइएको छ। कम्तीमा दुईवटा र सोभन्दा बढी भैंसी पालेका एवं पनौती नगरपालिकाबाट प्रवद्र्धित पशु बिमा कार्यक्रममा सहभागी भएका किसान दुई चरणमा सम्पन्न कृषक भेलाबाट छानिएका हुन् । यी पाठशालामा चारदेखि पाँच घण्टाको प्रत्येक सत्रमा दूध दुहुनअघि दुहुने स्थान र पशुलाई सफा राख्नुका साथै कल्चौंडा र थुनलाई सफा पानीमा भिजाएको कपडाले पुछ्नेबारे अभिमुखीकरण गरिन्छ।

दूध दुहुन सकिएपछि पोभिडिन आयोडिन नौ मिली र ग्लिसिरिन एक मिलीको घोलमा चारैवटा थुुन डुबाउने तरिका सिकाइन्छ। एक बेतमा करिब तीन हजार रुपैंयामात्र खर्च हुने यो तरिकाबाट थुनेलो रोग रोकथाम हुने नार्कका वैज्ञानिकले प्रमाणित गरिसक्नु भएको छ। यो तरिकामा अभ्यस्त बनाउँँदा किसानको लाखौं रुपैंया नोक्सानी हुन पाउँदैन भने दूध पनि स्वच्छ उत्पादन हुन्छ। यस्तै, परजिवी नियन्त्रण, नश्ल सुधार, उपयुक्त पोषण र आहाराबारे पनि ज्ञान दिइन्छ । पाठशालाकै अवधिमा भेटेरिनरीविज्ञ, खाद्य स्वच्छता विज्ञ, दुग्ध उद्यमी र उपभोक्ता अधिकारकर्मीलाई समेत किसानसँग अन्तरक्रिया गराइन्छ।

यसले दूधको मूल्यशृंखला (भ्यालु चेन)को हरेक चरणमा दूधको स्वच्छता कायम हुँदै जान्छ। पाठशाला समापनमा कृषक दिवस आयोजना गर्दै उत्कृष्ट किसानलाई पुरस्कृतसहित हौसला बढाउँछौं। कृषक पाठशालाको माध्यमबाट किसानले सिक्ने ज्ञान र सीपबाट थुनेलो रोगबाट आर्थिक नोक्सानी बेहोर्न नपर्ने र मानवले पनि स्वच्छ दूध सेवन गर्न पाउने अवस्था सिर्जना हुन्छ। 

प्रकाशित: ८ माघ २०७६ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App