coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धि आठ प्रतिशत : अर्थमन्त्री

कृषि विकास बैँकको ५३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतीवडा । तस्बिर : रासस

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय जगतमा मुलुकको आर्थिक वृद्धि भएको प्रतिवेदन सार्वजनिक भएकाले आगामी दिनमा आर्थिक वृद्धि बढ्ने बताएका छन्।

मंगलबार कृषि विकास बैंकको ५३ औँ वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रमा सुधार आएकाले आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतसम्म पुग्ने बहस हुने गरेको बताए। विगतको तुलनामा चालु आर्थिक वर्ष ०७६/७७ मा मुलुकको अर्थतन्त्र बलियो हुँदै गएको बताउँदै उनले भने, ‘एसियाली विकास बैंक र विश्व बैंकको प्रतिवेदनमा पनि मुलुकको गौरव गर्न लायक प्रगति विवरण सार्वजनिक गरिएको छ ।’

कुनै पनि मुलुकको अर्थतन्त्र सधैं एक नासको नहुने बताउँदै उनले भने, ‘यो उकाली ओरालीको यात्रा भएकाले सबैले संयमता अपनाउनु पर्छ ।’ त्यसैगरी, विगतको तुलनामा मूल्य वृद्धि कम भए पनि सकारात्मक सोचको अभावमा सरकारलाई दोष दिने प्रवृत्ति बढेको उनले बताए। विगतमा मूल्यवृद्धि बढेर २२ प्रतिशतसम्म पुगेको थियो तर हाल ६ प्रतिशत रहेको मन्त्री खतिवडाले बताए। मुलुकको बैंकिङ तथा वित्तीय संस्थाको निष्कृय कर्जा दक्षिण एसियामा उत्कृष्ट भएको उनले दाबी गरे।

नेपाल राष्ट्र बैंकमा काम गर्दा सबै बैंकको पुँजी जोड्दासमेत १२ अर्ब रुपैयाँ नपुग्ने अवस्था थियो तर हाल एउटै वाणिज्य बैंकको पुँजी १५ अर्ब पुगेको बताउँदै उनले १२ देखि १५ प्रतिशतसम्म मात्र नाफा गरे पनि पर्याप्त हुने बताए। सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकलाई मुलुकका दुर्गम तथा पिछडिएका क्षेत्रमा गएर किसानलाई कर्जा प्रवाह गर्न आग्रह गरे। ‘मुलुकको गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेकाले सरकार तथा सर्वसाधारणले बैंकबाट ठूलो आशा गरेको छ,’ उनले भने, ‘कृषकले सहज रुपमा कर्जा पाउन नसकेको भन्ने गुनासो छ। आगामी दिनमा यस गुनासोको अत्य गरी कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक छ ।’

कृषि, पशुपालन लगायत व्यापार व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिए पनि बैंक तथा वित्तीय संस्थाले गम्भीर रुपमा नलिएकाले नयाँ निर्देशन जारी गरेको उनले बताए। नयाँ निर्देशन अनुसार चालु आवको असार मसान्तसम्म प्रत्येक वाणिज्य बैंकले कम्तीमा पाँच सयवटा सहुलियत कर्जा बाँड्नु पर्नेछ। त्यसैगरी, दुई सय र वित्त कम्पनीले एक सयवटा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने उनले बताए। बैंक तथा वित्तीय संस्थाबिना मुलुकको आर्थिक विकास सम्भव नभएको उनको भनाइ छ।

विभिन्न सातवटा शीर्षकमा सहुलियत कर्जा पाइने बताउँदै उनले व्यावसायिक कृषिका लागि पाँच करोड, स्वरोजगार कर्जा सात लाख, वैदेशिक रोजगारबाट फर्केका युवाकर्जा १० लाख, महिला उद्यमशिलता कर्जा १५ लाख, दलित समुदायका लागि १० लाख, व्यावसायिक तथा प्राविधिक शिक्षाका लागि पाँच करोड रुपैयाँ सहुलियत कर्जा लिन सकिन्छ। सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बंैकले आगामी दिनमा कृषि क्षेत्रमा जोड दिने बताए। कृषि, पशुपालन, साना तथा मझौला उद्योगमा बढीभन्दा बढी लगानी गरे विकासले चाँडै गति लिने भएकाले बैंकले आगामी दिनमा पनि कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीति लिएको उपाध्यायले बताए।

त्यसैगरी, बैंकले एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ। सात वर्ष अवधिको ऋणपत्र खरिद गर्दा १०.३५ प्रतिशत ब्याजदर प्रदान गरिने उनले बताए। बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको छ। त्यस्तै हालसम्म करिब १२ लाख ग्राहकले निक्षेप संकलन गरेका छन् भने करिब एक लाख ४५ हजार जनाले कर्जा लिएको उनले बताए।

त्यसैगरी, बैंकको इन्टरनेटका सेवाग्राहीको संख्या ६ हजार जना पुगेका छन् भने करिब दुई लाख ६२ हजार जनाले मोबाइल बंैकिङ सेवा लिएका छन्। हालम्म करिब ८१ हजारले भिषा कार्ड प्रयोग गरेको उनले बताए। बैंकले एक वर्षको अवधिमा करिब दुई हजार पाँचस सय भन्दा बढी ग्राहकलाई पाँच अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि अनुदान कर्जा वितरण गरेको उनले बताए।

सरकारको कार्यक्रम, जनताको चाहना बमोजिम यस कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन अन्य संघसंस्थासँग सहकार्य गर्ने उनले बताए। सो अवसमा बैंकका पूर्वकर्मचारी, उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरिएको थियो।

प्रकाशित: ८ माघ २०७६ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App