७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपकरणमा आगजनी भएपछि निर्माण व्यवसायीले गुहारे गृहमन्त्री

काठमाडौं – अज्ञातसमूहले एकपछि अर्काे गर्दै ठुल्ठूला उपकरणमा आगजनी गरेपछि निर्माण व्यवसायीले गृहमन्त्री गुहारेका छन्। मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले गृहमन्त्री रामबहादुर थापालाई भेटेर दोषीलाई कारवाही गर्न माग गरेको हो।

महासंघका अनुसार पछिल्लो साता अज्ञात समूहले आधा दर्जनभन्दा धेरै निर्माण कम्पनीका एस्काभेटर,ब्याकहो लोडर लगायत उपकरणमा आगजनी गरेको छ। मोरङको मिक्लाजुङ गाउँपालिकाअन्तर्गत आइतबारेमा तीनवटा एस्काभेटरमा आगजनी हुँदा तीन करोड ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको महासंघले जनाएको छ।

किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एस्काभेटरमा गत आइतबार आगजनी गरिएको हो। त्यस्तै, झापा जिल्लाको सेतुमारीमा पनि अज्ञात समुहले शर्मा एन्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याकहो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ। आगलागीका कारण बा३क ३४४ नम्बरको उपकरण पूर्ण र बा२क ९४४५ नम्बरको ब्याकहो लोडरमा आंशिक क्षति पुगेको महासंघले जनाएको छ।

केही समयअघि बेनी नगरपालिका बगुवा खोलानजिकै निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायणघर्ती क्षेत्रीको स्वामित्वका तीनवटा एस्काभेटरमा आगजनी गरिएको थियो। राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्सट्रक्सन प्रालिको स्वामित्वमा रहेको चारवटा एस्काभेटरमा पनि केही समय अघि आगजनी भएको महासंघले जनाएको छ।

‘दिनँहुजसो करौडौं मूल्यका निर्माण उपकरण आगजनी भएपछि त्रसित भएका छौं,’ महासचिवदाहालले भने,‘आगजनीका घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई अनुरोध गरेका छौं।’ महासचिव दाहालले आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही नगरे महासंघ आन्दोलनमा उत्रने बताए।

प्रकाशित: ८ माघ २०७६ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App