८ वैशाख २०८१ शनिबार
राजनीति

सूचना प्रविधि विधेयकमा आपत्ति

काठमाडौं – सरकारले संसदमा पेस गरेको सूचना प्रविधि विधेयकप्रति सरोकारवालाले आपत्ति जनाएका छन्। नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघको संयुक्त आयोजनामा मंगलबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले संवैधानिक व्यवस्थाले दिएका जनताअधिकार खोस्न खोजिएको आरोप लगाएका हुन्। संविधानले दिएको अधिकार कुनै पनि हालतमा खोस्न नहुने धारणा राख्दै सहभागीले विधेयक संशोधन गर्न माग गरेका छन्।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुनको आवश्यकता भएको तर, जनाताका अधिकार कुण्ठित गर्ने कानुन ल्याउन नहुने बताए। ‘संविधानको धारा १२८ ले न्यायपालिकालाई मात्र मुद्दा छिन्ने अधिकार दिएको छ,’ उनले भने, ‘कुनै पनि हालतमा सरकारले अदालत गठन गर्न सक्दैन। ग¥यो भने संविधानविपरीत हुन्छ।’

सूचना प्रविधि विधेयकको दफा ११५ मा अदालत गठन गर्ने व्यवस्था राखिएकोमा आपत्ति जनाए। नागरिकको अधिकार रक्षा सबैले मिलेर गर्नुपर्ने बताए। अध्यक्ष श्रेष्ठले अधिकार रक्षाको लागि कर्तव्य पनि निर्वाह गर्नुपर्ने र कर्तव्य बिर्सेमा अधिकार गुमाउनुपर्ने बताए। विधेयकमा केही विषय गलत भएको भन्दै संशोधन गर्नुपर्ने बताए। ‘जसका लागि ल्याइएको कानुन हो। सम्बन्धितसँग भएको हुँदैन। राज्यबाट यसको कमी भैरहेको छ,’ उनले भने, ‘कोठामा तयार गरेर छलफल नगरी कानुन ल्याउने गरिएको छ।’ कानुनको अनभिज्ञता क्षम्य नहुने भएकाले संविधानका अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिए।

त्यसैगरी गैसस महासंघका अध्यक्ष जिताराम लामाले विधेयक सच्चाएर अघि बढ्नुपर्ने बताए। ‘नागरिक हकका लागि लडाइँ लड्नुपर्छ,’ उनले भने, ‘नागरिकलाई अधिकार दिँदा सरकार हार्दैन, सरकारलाई जिम्मेवार, जवाफदेही बनाउने लडाईं भएकाले नसच्चिएसम्म जारी रहनेछ।’ विधेयकका विषयमा सडकमा जानुपर्ने दिन नमित्याउन चेतावनी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकले नागरिक अधिकारमाथि बन्देज लगाउने खालका भएकाले सच्चाउनुपर्ने बताए। उनले पत्रकारलाई आठौं दलको संज्ञा दिइएको स्मरण गर्दै अहिले पनि मुद्दा समातेकाले सम्बोधन नभएसम्म पछि नहट्ने बताए। ‘उस्तै परे जनमतमा पठाउनु पनि पर्छ,’ उनले यसअघिको विधेयक स्मरण गर्दे भने, ‘चार पाँच वर्षअघि ल्याइएको अदालत अवहेलनासम्बन्धी विधेयक अहिलेसम्म विचाराधीन छ।’ अभिव्यक्तिमा बन्देज लगाउनु आपत्ति भएको बताए। ‘हाम्रो मन, मुटु दुख्छ,’ उनले भने।

प्रकाशित: ८ माघ २०७६ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App