७ वैशाख २०८१ शुक्रबार
राजनीति

सन्तुलन कायम गर्ने चुनौती

फाइल तस्बिर

काठमाडौं – अरु कसैको पनि उम्मेदवारी नपरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन्। सभामुख निर्वाचनका लागि सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए। उनको साथमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसहितका नेता पनि थिए।

नेम्बाङ सापकोटाको प्रस्तावक बसेका छन् भने समर्थकमा नेकपाकै प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेत्री ओनसरी घर्तीका साथै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण छ। तोकिएको समय २ बजेसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने भएका हुन्।

प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकले सभामुख निर्वाचित गर्ने कार्यक्रम छ। सभामुखको निर्वाचनका लागि माघ १२ गते ३ बजे बैठक बोलाइएको छ। एउटामात्र उम्मेदवारी परेकाले प्रतिनिधिसभा नियमावलीबमोजिम १२ गतेको बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले प्रस्तावित व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था भए पनि एकमात्र उम्मेदवारी परेका कारण अब संसद्मा बहुमत देखाइरहनुनपर्ने संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए।

कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको थियो। ‘सभामुखमा सत्तापक्षले आफ्नो उम्मेद्वार तय गरेकाले तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै पार्टी सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्छ,’ कांग्रेसकी सचेतक पुष्पा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

चुनौतीका चाङ
सापकोटाले नेपालको आठौं सभामुखका रुपमा जिम्मेवारी सम्हाल्नेछन्। तर उनका लागि संसद्को बैठक सन्तुलित ढंगले सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसका साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु उनका लागि अझ कठिन छ।

एउटामात्र उम्मेदवारी परेकाले प्रतिनिधिसभा नियमावलीबमोजिम १२ गतेको बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले प्रस्तावित व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।

संसद्मा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि उनले पूरा गर्नुपर्ने छ। साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोलाई पनि उनले छिचोल्दै अघि बढ्नुपर्ने अवस्था छ। पटकपटक मन्त्रीको जिम्मेवारी सम्हाले पनि सभामुखजस्तो तटस्थ भूमिकामा रहनुपर्ने पदमा उनी पहिलो पटक आउँदैछन्।

पूर्वसभामुख तारानाथ रानाभाटले दुईतिहाइ बहुमतको हाराहारीमा रहेको पार्टीको सिफारिसमा सभामुख बनेकाले सापकोटालाई संसद्मा चुनौती रहेको बताए। ‘सभाको नेतृत्व तटस्थ, निष्पक्ष र मर्यादित भएर गर्नुपर्ने हुँदा उहाँले सो भूमिका निर्वाह गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, प्रश्न यहाँ छ’, उनले भने, ‘संसद्मा विवादित विधेयक छन्। हरेक कुनाबाट असन्तुष्टि व्यक्त भएका छन्। ती विधेयकलाई अघि बढाउने विषयमा छलफल गराउन उहाँले खेल्ने भूमिका कस्तो हुन्छ, यो चासोको विषय छ।’ उनले छिमेकी मुलुकसँगको सम्बन्धका विषयमा पनि संसद्ले भूमिका खेल्नुपर्ने बताए। नेपाल सरकार र अमेरिकी सहयोग निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा भित्री कुरा केके हुन्, केस्राकेस्रामा छलफल गराउन सक्नुपर्छ’, उनले भने। त्यसभित्रको रणनीतिक अर्थबारे स्पष्ट भएपछि मात्रै आवश्यक रहेछ भने एमसिसी संसद्बाट अनुमोदन गराउनुपर्ने उनले बताए। ‘जनप्रतिनिधिमूलक संस्थाप्रति सरकार जसरी उत्तरदायी बन्नुपर्ने हो, त्यसो हुन नसकेको अवस्थामा नयाँ सभामुखले दलीय नियन्त्रणभन्दा माथि रहेर महत्वपूर्ण भूमिका खेल्नुपर्छ’, उनले भने।

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान तथा ऐनबमोजिम सभामुखले काम गर्नुपर्ने बताए। ढंगानाले आफू सभामुख हुँदा ‘संसद् प्रतिपक्षको, सरकार सत्तापक्षको’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेका थिए। सभामुखलाई संसद्मा तटस्थ रहन सत्तारुढ दलले दिन्छ कि दिँदैन, हेर्नुपर्ने विषय यो भएको उनले बताए।

प्रकाशित: ८ माघ २०७६ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App