८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव

रामेछाप- राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्। तथ्यांक कार्यालय सिन्धुलीले मंगलबार सदरमुकाम मन्थलीमा आयोजना गरेको जिल्ला स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जनगणनालाई प्रक्रिया पूरा गर्ने तरीका नभई परिवर्तनको एउटा आधारका रुपमा वैज्ञानिक प्रक्रियाबाट अघि बढाउन सम्बन्धित कार्यालयलाई आग्रह गरेका हुन्।

कार्यक्रममा सहभागी मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले जनगणना प्रभावकारी  र वैज्ञानिक विधि प्रयोग नभएकै कारण तथ्यांकहरु नमिल्दा समस्या भएको बताए। तथ्यांक स्पष्ट नहुँदा बसाइसराइले प्रभाव पारेको र परिवार सदस्य संख्या छुट्ने समस्या बाक्लै रहेको बताए। उनले वडा र जनसंख्याको मापदण्डले मान्य हुने व्यवस्था न्यायोचित र प्रभावकारी नभएकोले यस्तो नितिमा परिमार्ज गर्न जरुरी रहेको बताए।

बाग्मती प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेलले जनगणनाको सम्बन्ध स्थायी ठेगानासँग हुनुपर्नेमा जोड दिए। व्यक्तिले राज्यको सेवा ठेगानबाट लिन्छ भने गणना पनि सोही स्थानबाट हुनु पर्ने दाबी उल्लेख गरे। पौडेलले जनगणना साक्षर निरक्षर मात्र होइन दक्ष जनशक्ति कति छन भन्ने पहिचानको आधार समेत बन्नुपर्नेमा जोड दिए। पूर्वाधारहरुको विकासमा जनसंख्याको प्रभाव पर्ने हुँदा जनगणनालाई सबैले उत्तिकै महत्व दिनुपर्ने पौडेलको सुझाव थियो।

विकास निर्माणका हरेक गतिविधिमा तथ्यांकले महत्वपूर्ण भूमिका खेल्ने भएकाले जनगणनामा सबै निकायहरु जिम्मेवार हुनुपर्ने पम्रुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले बताइन्। नेपाल जस्तो विकासोन्मुख देशमा लामो समयको अन्तरालमा ठूलो खर्चमा हुने जनगणनामा सबै क्षेत्र र तहहरु गम्भिर भएर लाग्नु पर्ने उनको भनाइ थियो। उनले जनसंख्या पहिचान हुन नसक्दा विकास गतिविधि प्रभावित हुने प्रजिअको भनाइ थियो।

तथ्यांक कार्यालय सिन्धुलीका प्रमुख टिकाप्रसाद नेपालले राष्ट्रिय जनगणना २०७८ प्रभावकारी बनाउन आवश्यक तयारीहरु भइरहेको जानकारी दिए। उनले विभिन्न चरणहरुमा जनगणनाको काम हुने र अहिले आवश्यक नक्सा बनाउने काम भइरहेका बताए। अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख नेपालले जनगणनामा सञ्चालन हुने विभिन्न गतिविधि प्रक्रिया र विधिका बारेमा सरोकारवाला निकायहरुलाई जानकारी गराएका थिए। कार्यक्रममा सहभागीहरुले राष्ट्रिय जनगणना प्रभावकारी बनाउन आवश्यक सुझावहरु समेत राखेका थिए।  
    
    
      

प्रकाशित: ७ माघ २०७६ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App