coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निगमलाई ११ अर्ब ३१ करोडमा एउटा वाइड बडी बेच्ने प्रस्ताव

काठमाडौं- अमेरिकास्थित एक जहाज आपूर्तिकर्ता कम्पनीले नेपाल वायुसेवा निगमलाई प्रतिजहाज ११ अर्ब ३१ करोड रुपैयाँका दरले दुईथान बिक्री गर्ने प्रस्ताव पेस गरेको छ। अमेरिकी उड्डयन सहयोग कमपनी 'एएआर कर्पोरेसन' ले नेपाली राष्ट्रिय ध्वजावाहक निगमलाई दुईथान ठूला आकारका 'वाइड बडी' जहाज प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर (११ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ) का दरले उपलब्ध गराउने प्रस्ताव गरेको हो।

'हामीलाई प्राप्त १० कम्पनीको प्रस्ताव मूल्यांकन गर्दा एएआरको प्रस्ताव सबैभन्दा सस्तो रहेछ,' निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आइतबार नागरिकसँग भने, 'प्रतिजहाज १० करोड ४८ लाख डलरको प्रस्ताव सन् २०१६ को बजार भाउअनुसार रहेको एएआरले उल्लेख गरेको छ।'

निगमलाई युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त 'ए३३०–२००' सिरिजका दुईथान वाइड बडी बिक्री गर्न गत कात्तिक २५ गते १० अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए। यिनमा जहाज भाडामा दिने कम्पनीदेखि इन्जिन निर्मातासम्म थिए। असोज १० गते सार्वजनिक गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मा सहभागी हुँदै अमेरिका, युरोप र खाडी मुलुकमा रहेका कम्पनी निगमलाई जहाज बेच्न प्रतिस्पर्धामा उत्रिएका थिए।

निगमका अनुसार केएल एरो पार्टस्, केजेटी इन्भेस्टमेन्ट एन्ड वान वर्ल्ड क्लोजआउट्स लिमिटेड, रन मोट्टा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पार्टस्, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, ले ग्रुप डेल्टा, एएआर कर्पोरेसन र सूर्या एयर सपोर्टले दुईथान वाइड बडी उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए।

निगमको टेन्डर सर्तअनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस आफैं प्रतिस्पर्धामा सहभागी हुन पाउने भए पनि टेन्डर खोल्दा उसको प्रस्ताव परेको थिएन। बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसले भने इन्जिन उपलब्ध गराउन प्रस्ताव हालेको थियो। 

ती कम्पनीको आर्थिक तथा प्राविधिक प्रस्ताव सुक्ष्म तरिकाले मूल्यांकन गर्न नायब महाप्रबन्धक आरबी शाहको संयोजकत्वमा निगम व्यवस्थापनले ११ सदस्यीय समिति गठन गरेको थियो। समितिले पुस २ गते महाप्रबन्धक कंसाकारलाई मूल्यांकन प्रतिवेदन बुझाएको थियो।

'यही साता वाइड बडी मूल्यांकन प्रतिवेदन सञ्चालक समितिमा पेस गर्छु,' कंसाकारले भने, 'दुइटै जहाज 'ब्रान्ड न्यु' (एक मिनेट पनि नउडेको) उपलब्ध गराउने एएआरको प्रस्तावबाट हामी खुसी नहुने कुरै भएन। त्यसकारण सञ्चालक समितिले यसलाई तुरुन्तै पास गर्ने विश्वास छ।'

सञ्चालक समितिले प्रतिवेदन पास गर्नासाथ एएआरलाई आशयपत्र लिन बोलाइने कंसाकारले जानकारी दिए। उनका अनुसार पोर्चुगलको 'हाइफ्लाई एयरलाइन्स' को अर्डरमा निर्माणाधीन दुईथान ए३३० जहाज नै एएआरले निगमलाई बिक्री गर्ने प्रस्ताव गरेको हो। 'दुइटै जहाजमा १२ देखि १८ वटामात्र बिजनेस क्लास सिट राख्छौं,' उनले भने, 'बाँकी सबै इकोनोमी क्लास सिट हुनेछन्।'

उनका अनुसार अब पहिलो वाइड बडी जहाज आगामी २०७४ असोजमा र त्यसको ६ महिनापछि २०७५ वैशाखमा दोस्रो वाइड बडी जहाज काठमाडौं अवतरण गर्नेछन्।

केही कम्पनीले ब्रान्ड न्यु जहाज उपलब्ध गराउने प्रस्ताव गरेका थिए। निगमले आह्वान गरेको टेन्डरमा भने सकेसम्म सन् २०१४ यता बनेका ए३३०–२०० सिरिजका जहाज हुनुपर्ने वा १ हजार घन्टाभन्दा कम उडेको हुनुपर्ने सर्त थियो।

सरकारले दुइटा वाइड बडी खरिदका लागि आवश्यक २५ अर्ब रुपैयाँमा जमानी बस्ने निर्णय गरेपछि बसेको निगम सञ्चालक समितिको गत असोज ७ गतेको बैठकले ग्लोबल टेन्डर आह्वान गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो। त्यसपछि १० गते आह्वान गरिएको ग्लोबल टेन्डर भर्ने म्याद ४५ दिनसम्म तोकिएको थियो।

निगमका अनुसार एयरबसमा उत्पादित २ सय ५० देखि २ सय ८० सिट क्षमतायुक्त ए३३०–२०० सिरिजका जेट जहाज हुनुपर्ने र तिनमा बेलायती इन्जिन निर्माता कम्पनी रोल्स रोयसमा उत्पादित इन्जिन जडान भएको हुनुपर्ने सर्त छन्।

एयरबसकै ए३३०–२०० सिरिजको जहाज भएका कारण एयरबस कम्पनी आफैं पनि टेन्डरमा सहभागी हुन पाउने थिए भने लिजिङ कम्पनी, वायुसेवा कम्पनी र विदेशी ठूला बैंक पनि प्रतिस्पर्धामा उत्रिन पाउँथे। विदेशका ठूला बैंकले पनि यस्ता जहाज खरिद गरेर वायुसेवा कम्पनीलाई भाडामा दिने गरेका छन्।

निगमले दुईथान वाइड बडी जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। वाइड बडी आएपछि पहिलो उडान जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एकमा हुने निगमको व्यापारिक योजनामा उल्लेख छ। निगमले खरिद गर्न लागेको वाइड बडी जहाजले एकतर्फी सिधा ९ देखि १० घन्टा 'नन्स्टप' उडान गर्न सक्छ।

दुईथान वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँका लागि जमानी बस्ने सरकारको निर्णय लगत्तै अर्थ मन्त्रालयले असोज ६ गते निगमलाई यससम्बन्धी पत्र पठाएको थियो। अर्थको जमानीपत्र आउनुअघि गत भदौ २९ मै कर्मचारी सञ्चय कोषले वायुसेवा निगमलाई दुइटा वाइड बडी किन्न आवश्यक २५ अर्ब रुपैयाँ एक्लै उपलब्ध गराउने प्रस्तावसहित पत्र पठाएको थियो। कोषको प्रस्तावपछि निगमलाई ठूलो परिमाणको रकम व्यवस्था गर्ने झन्झटबाट मुक्ति मिले पनि कोषले उपलब्ध गराउने रकमको ब्याजदर कति हुन्छ भन्नेबारे द्विपक्षीय छलफल भने हुन बाँकी छ।

सञ्चय कोषमात्र नभई निगमलाई उक्त परिमाणबराबरको रकम उपलब्ध गराउन नागरिक लगानी कोषसमेत तयार रहेको छ। यो संस्थासँग पनि निगम व्यवस्थापनले अनौपचारिक छलफल गरिरहेको छ। सरकारी संस्थाबाहेक निजी क्षेत्रका 'क' वर्गका केही वाणिज्य बैंकहरूले पनि जहाज खरिदका लागि आवश्यक रकम सहवित्तीयकरणमा उपलब्ध गराउन तयार रहेको बताउँदै आएका छन्।

निगमले विगतमा बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, जापानको ओसाका, चीनको सांघाई लगायत 'लङ हल' गन्तव्यमा उडान गरिसकेको छ। दुईथान वाइड बडी काठमाडौं आएर उडान गर्न थालेपछि लगत्तै अर्को दुईवटा सानो आकार (न्यारो बडी) का ए३२०–२०० जहाज पनि खरिद गर्ने निगमको योजना छ। यति गर्न सके अन्तर्राष्ट्रिय उडान गर्न आठथान जहाज हुनेछन् भने मुलुकको उड्डयन बजारको १६ प्रतिशत हिस्सा ओगट्न सकिने लक्ष्य निगमको छ।

निगमले यसअघि एयरबससँग १ सय ५८ सिट क्षमतायुक्त 'ए३२०–२००' सिरिजका दुईथान जहाज खरिद गर्न सञ्चय कोषसँगै १० अर्ब रुपैयाँ ऋण लिएको थियो। निगमले गएको १५ महिनामा सावाँ र ब्याज गरी कोषलाई १ अर्ब ५८ करोड रुपैयाँ चुक्ता गरिसकेको छ।

प्रकाशित: ११ पुस २०७३ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App