coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

पोखरा- अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सेनाका कर्णेल अमित गुरुङको कमाण्डमा १२ जना सैनिक पहिरोस्थलमा परिचालन भएको छ। सेनाले त्यहाँ रहेका स्थानीयसँग समन्वय गर्दै खोजीमा जुट्ने कार्कीले बताए। ‘पहिरोस्थलभन्दा झन्डै एकसय मिटर टाढा सेनाको टिम बसेको छ। हेलिप्याड बनाएर हेलिकप्टर अवतरण गराएर सेनाको टिम पुगेको हो,’ कार्कीले भने, ‘सुरक्षा अपनाएर त्यहाँ रहेका स्थानीयसँगको समन्वयमा सेना खोजीमा जुट्नेछ।’

मौसमले साथ दिएर सहज अवस्था रहुन्जेल सेना त्यस क्षेत्रमा खटिने उनले बताए। ‘हिउँ फुटाउने केही साधन पनि सेनासँग छ। बेपत्ता पर्यटक र गाइडबारे जानकारी पाउनासाथ सेनाले खोजी थाल्नेछ,’ उनले भने, ‘तर, सेनालाई नै असुरक्षा महसुस भएमा अझै सुरक्षित ठाउँमा फर्किने गरि व्यवस्थापन गरिएको छ।’ मौसम सफा भएर हिउँ पर्न नरोकिँदा बेपत्ता पर्यटक र गाइडको खोजी सहज नभएको उनले बताए। ‘यतिधेरै हिउँ परेको छ की अहिलेको अवस्थामा घाम लागेपनि चट्टानजस्तै बनेर जमेको पहिरोको हिउँ पग्लिन धेरै समय लाग्छ,’ कार्कीले भने।

कार्कीका अनुसार सोमबार नै स्थानीयबासि त्यस क्षेत्रमा पुगेका थिए। समुन्द्री सतहदेखि करिब ३२ सय मिटर उचाईमा रहेर उद्धार र राहतमा जुट्नु चुनौतीपूर्ण रहेको प्रहरी प्रमुख कार्कीले बताए। 

प्रकाशित: ७ माघ २०७६ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App