coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एथलेटिक्समा सोमबार पनि सेनाको दबदबा

इटहरी- नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेका लागि सातौं राष्ट्रिय खेलकुदमा भाग लिन पूर्वाञ्चलको यात्रा सुरु गर्दासम्म भाग लिएका इभेन्ट्समा स्वर्ण पदक जित्नुमात्र लक्ष्य थियो। राष्ट्रिय कीर्तिमान उनको प्राथमिकतामा समेत थिएन। अझ इटहरी रंगशालाको फिल्ड देखेपछि त उनलाई कीर्तिमानको सम्भावना झनै कठिन लाग्न थाल्यो। तर एथलेटिक्स सुरु भएको पहिलो दिन नै सटपुटमा कीर्तिमानसहित स्वर्ण जितेकी उनले आइतबार दोस्रो दिन पनि त्यसलाई निरन्तरता दिइन्।

'यहाँको फिल्ड कन्डिसनले गर्दा कीर्तिमान बन्लाजस्तो लागेको थिएन। तर रिजल्टले अनपेक्षित खुसी दिएको छ,' सोमबार ज्याभ्लिन थ्रोमा नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितेपछि चन्द्रकलाले भनिन्, 'पुलिसमा आबद्ध भएपछि नियमित अभ्यासको मौका पाइयो। त्यहाँको प्राविधिक तालिमले खेलमा अझ सुधार भयो र खेलजीवन यहाँसम्म ल्याउन सकेँ। विभागका लागि स्वर्ण पदक जित्न सकेँ। मेरो मुख्य लक्ष्य त्यहीं पूरा भइसकेको थियो। यसमा अझै कीर्तिमान पनि थपिएपछि झन् रमाइलो लागिरहेको छ। सातौं राष्ट्रिय खेलकुद मेरा लागि अविस्मरणीय हुने भयो।'

पाँच वर्षअघि सुदूर पश्चिममा सम्पन्न छैटौं संस्करणमा पूर्वाञ्चलबाट खेल्दा चन्द्रकला ज्याभ्लिन थ्रोमा चौथो भएकी थिइन्। तर यसपाली आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै स्वर्ण जित्दा उनले भाला ४३.९४ मिटर सम्म फ्याँकिन्। यसअघि उनकै नाममा ४३.९० मिटरको कीर्तिमान थियो। यसअघि उनले गतवर्ष भारतको गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि काठमाडौंमा भएको छनोटमा कीर्तिमान बनाएकी थिइन्।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी लक्ष्मी थारुले ३९.९९ मिटर फ्याँक्दै दोस्रो स्थान हासिल गरिन् भने सशस्त्र प्रहरी बलको एपिएफकी सीमाकुमारी थारु (३९.२६ मिटर) तेस्रो भइन्। ज्याभलिनको पुरुषतर्फ सेनाका रामबहादुर कुमालले स्वर्ण पदक जिते। उनले भाला ५६.८८ मिटर फ्याँकेका थिए। नेपाल पुलिसका नरेन्द्रजंग शाह (५३.४० मिटर) दोस्रो तथा एपिएफका प्रेमप्रकाश खड्का (५१.६७ मिटर) तेस्रो भए। 

अघिल्लो दिन आठ स्वर्ण पदकको छिनोफानो हुँदा पाँचमा कब्जा जमाएको आर्मीको दबदबा आइतबार पनि इटहरीको ट्रयाक र फिल्डमा रह्यो। आइतबार १० स्वर्ण पदकको टुंगो लाग्दा पाँच पदकमा सेनाका खेलाडीले नाम लेखाए। एपिएफले तीन स्वर्ण जित्यो भने पुलिसको भागमा दुई स्वर्ण पदक पर्‍यो।

सेनाका लागि पुरुष लङजम्पमा डिल्ली खत्री, १ सय १० मिटर हर्डल्समा विशेष महतो, ज्याभ्लिन पुरुषमा रामबहादुरले एकल स्वर्ण पदक जित्दा ४ गुणा ४ सय मिटर रिलेका पुरुष र महिला दुवै इभेन्ट्समा पनि सेनाको टोलीले स्वर्ण हात पारे।

लङजम्पमा ६.९१ मिटर पार गरेर डिल्लीले स्वर्ण जित्दा पुलिसका गोपाल चौधरी (६.५९) दोस्रो तथा पुलिसकै चन्द्रदेव जोशी (६.३८) तेस्रो भए। हर्डल्समा विशेषले १५.०९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जित्दा सेनाकै रामप्रसाद चौधरी १६.६ सेकेन्ड टाइमिङका साथ दोस्रो तथा पुलिसका चन्द्रदेव जोशी (१७.५) तेस्रो भए। पुरुष रिलेमा सेनाका खेलाडीले स्वर्ण, एपिएफले रजत र मध्यपश्चिमले कास्य जित्यो।

महिलातर्फ आर्मी (४ मिनेट १४.७० सेकेन्ड) ले स्वर्ण पदक जित्दा एपिएफ (४ मिनेट २३.५८ सेकेन्ड) ले रजत तथा मध्यपश्चिम (४ मिनेट ३८ सेकेन्ड) ले कांस्य जिते।

पुलिसका लागि आइतबार लङजम्पमा स्वर्ण पदक जित्दै केशरी चौधरीले चन्द्रकलालाई साथ दिइन्। केशरीले ५.५ मिटर पार गर्दै स्वर्ण पदक जित्दा आर्मीकी कृष्णा चौधरी (४.९४ मिटर) ले रजत तथा एपिएफकी शिला चौधरी (४.८४ मिटर) ले कांस्य पदक जितिन्।

पार्कीको स्मरणीय पदक

एथलेटिक्सको पहिलो दिन १ हजार ५ सय मिटर पुरुष दौडमा नेपाली सेनाका ओलम्पियन खेलाडी हरि रिमालले स्वर्ण पदकमा कब्जा जमाएका थिए। उच्च फर्ममा रहेका हरिले दौडिन बाँकी अरु दुई इभेन्ट्स थिए, ५ हजार र १० हजार  मिटर। बाँकी इभेन्ट्समा पनि हरिलाई नै स्वर्ण पदकको दाबेदारका रुपमा लिइएको थियो।

आइतबार बिहान पुरुष ५ हजार मिटर दौडको फाइनल हुँदा इटहरी रंगशालामा सबैको ध्यान हरिमाथि एकोहोरिएको थियो। तर पछिल्लो समय प्रदर्शनमा निकै सुधार गरेका एपिएफका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धीसहित अरु धेरैलाई अचम्ममा पार्दै स्वर्ण पदकमा कब्जा जमाए। हरिलाई हराएर स्वर्ण जित्दा एपिएफको पूरा क्याम्पमा ठूलो खुसीयाली छाएको थियो भने विजेता गोपीलाई आफ्नो उपलब्धी पत्याउन धेरैबेर लाग्यो।

गोपीले १५ मिनेट २६.१० सेकेन्डमा निर्धारित दूरी पार गरेर स्वर्ण पदकमा कब्जा जमाउँदा हरि आधा सेकेन्डले पछि परे। हरिले १५ मिनेट २६.६० सेकेन्डमा ५ किलोमिटर दूरी पूरा गरेका थिए। नेपाल पुलिस क्लबका भूमिराज राई (१५ मिनेट ३०.४० सेकेन्ड) ले कांस्य पदक जिते।

'राष्ट्रिय खेलकुदमा यो मेरो पहिलो सहभागिता हो। हरिले मलाई यसअघि धेरै पटक हराइसकेको थियो। यसपाली उसैलाई हराएर स्वर्ण जित्दा निकै खुसी छु,' २६ वर्षे गोपीले स्वर्ण जितेपछि भने, 'यो मैले पछिल्लो चार वर्ष गरेको मेहनतको फल हो। भोली १० हजार मिटरको दौड छ, त्यसमा पनि उच्च मनोबलका साथ दौडिनेछु।'

सिपाहीको जागिर खाने क्रममा एपिएफको युनिफर्म लगाएका गोपीले आफूलाई सिपाहीबाट खेलाडीमा रुपान्तर गर्ने संगठन, डिएसपी माधव रेग्मी र प्रशिक्षक सुशीलनरसिंह राणालाई विशेष रुपमा सम्भि्कए। 'म सिपाहीमा भर्ना भएको मान्छेलाई संगठनले खेलाडी बनायो। मेरो सफलतामा डिएसपी माधव रेग्मी र सुशील गुरुको ठूलो योगदान छ। त्यसैले म आज यो स्वर्ण पदक संगठन, सुशील गुरु र डिएसपी साप'मा समर्पण गर्न चाहन्छु,' उनले भने।

'२०६८ सालमा सुदूर पश्चिममा छैटौं राष्ट्रिय खेलकुद हुँदा हामीले त्यहाँ फौजमा एक जना राम्रो केटा छ भन्ने सुन्यौं। त्यसपछि हेर्दा गोपीमा क्षमता देखेर काठमाडौं ल्याएका हौं,' प्रशिक्षक राणाले पाँच वर्षअघि सशस्त्रका सिपाहीलाई खेलाडीमा रुपान्तरण सुरु गर्दाको स्मरण गरे।

५ हजार मिटर दौडको महिलातर्फ एपिएफकै कान्छीमाया कोजुले स्वर्ण पदकमा कब्जा जमाइन्। कान्छीमायाले १८ मिनेट १३.४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दा १८ मिनेट ३३.३५ सेकेन्ड लगाएकी आर्मीकी सानुमाया कार्कीले रजत जितिन्। यसैगरी आर्मीकै विश्वरुपा बुढा (१८ मिनेट ३७.४ सेकेन्ड) ले कांस्य पदक जितिन्।

श्रीलंकामा २००६ मा सम्पन्न १० औं सागमा १० हजार मिटरमा रजत पदक जितेकी कान्छीमाया पछिल्लो समय म्याराथनतिर सिफ्ट हुन खोजिरहेका बेला मध्यम दूरीमा पाएको सफलताबाट आइतबार निकै उत्साहित थिइन्। 'म्याराथनबाट इभेन्ट सिफ्ट गरेर दौडिँदा पनि जित्न सकेँ, धेरै खुसी छु। जित्ने आश थियो, तर म्याराथनतिर लागिसकेकाले जित्ने आत्मविश्वास नै भने थिएन,' उनले भनिन्।

कमजोर व्यवस्थापनले अन्योल

आइतबार मध्यान्ह १२ बजेसम्म इभेन्ट्स हुने विश्वासमा रहेका खेलाडी वार्मअप सकेर अन्तिम लाइनअपमा थिए। पुरुष १ सय १० मिटरका लागि सेट गरिएको हर्डल्स हटाइएको थिएन। महिला १ सय मिटर हर्डल्सका खेलाडी त्यसपछि निर्णायकको बन्दुक पड्किने प्रतिक्षामा लाइनअप भए। तर केही बेरमा निर्णायकले महिला १ सय मिटर हर्डल्सको प्रतिस्पर्धा आइतबार नहुने भनेपछि इटहरी रंगशाला केहीबेर विवादले तात्यो।

एपिएफका प्रशिक्षक सुशीलनरसिंह राणाले आफूलाई दिइएको टाई सिट देखाउँदै प्रतियोगिताका संयोजक एवं एथलेटिक्सका मुख्य प्रशिक्षक अमिरी यादवसँग खेल नहुनुको कारण माग गरे। यादवले आइतबार महिला हर्डल्स इभेन्ट सूचीमा नभएको बताए। त्यसपछि सहभागी आठ टोलीका प्रशिक्षक तथा निर्णायकबीच होहल्ला मच्चियो। निर्णायकको भूमिकामा रहेका तीन पटकका म्याराथनमा साग स्वर्णधारी वैकुण्ठ मानन्धरले पनि सबै टिमका प्रशिक्षक, व्यवस्थापक र आयोजकसहितको बैठकबाट महिला हर्डल्सको प्रतिस्पर्धा आइतबारकै लागि तय गरिएको बताएपछि यादव दबाबमा परे।

सेनाका प्रशिक्षक पुष्पराज ओझा सुदूर पश्चिमाञ्चलका प्रशिक्षक छविलाल थापालगायतले पनि एपिएफका राणालाई साथ दिए। पश्चिमाञ्चलकी प्रशिक्षक इन्द्रा मल्ल भने आयोजक प्रमुख यादवको पक्षमा थिइन्। आयोजकले राणालगायत प्रशिक्षकलाई दिएको टाई सिटमा महिला हर्डल्स आइतबारै हुने उल्लेख थियो। तर प्राविधिकलाई दिइएको टाई सिट भने फरक भएकाले विवाद भएको थियो।

'हर्डल्स पटक–पटक सेट गर्न गाह्रो हुने भएकाले पुरुषका लागि सेट गरेका बेला महिलाको पनि गर्ने सहमति भएको थियो। तर आयोजकको नालायकीले गर्दा खेलाडीलाई धेरै अन्योल भयो। प्रतिस्पर्धा हुन्छ भनेर खेलाडी १२ बजेसम्म भोकै बसेर तीन पटक वार्मअप गरिसकेका छन्,' एपिएफका प्रशिक्षक राणाले भने, 'राष्ट्रिय खेलकुदमा यस्तो कमजोर व्यवस्थापन स्विकार्य हुँदैन।'

प्रकाशित: ११ पुस २०७३ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App