coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना भाइरसको जोखिममा नेपाल

काठमाडौं - चीनको हुआन राज्यमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल पनि रहेको विशेषज्ञ चिकित्सकले बताएका छन्। चीनबाट सीधै नेपाल आउने र नेपालबाट चीन पुगेर फर्कनेबाट यो रोग भित्रिने जोखिम रहेको विशेषज्ञको भनाइ छ।

‘नेपालमा चिनियाँ पर्यटक दैनिक आउने गर्छन् र नेपाली पनि चीन पुगेर फर्कने गर्दछन् यसले नेपालमा जोखिम छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुपराज वास्तोलाले भने। हावाबाट सर्ने भएकाले उक्त रोग नेपालमा भित्रिने जोखिम रहेको उनको दावी छ।

चीनमा यो भाइरसको कारण दुई जनाको मृत्यु भएको र ५० जना संक्रमित भएको प्रमाणित भएको छ। इम्पेरियल कलेज ब्रिटिशले भने एक हजारमा यो रोग प्रमाणित भएको जनाएको छ। चीनको हुआन राज्यको पशुबजारबाट फैलिएको यो रोग बढी मात्रमा पशुबाट मान्छेमा सरेको र चीन बाहिर थाइल्याण्डमासमेत संक्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको डा. वास्तोलाको भनाइ छ।

‘पशुबाट मान्छेमा मात्र नभएर मान्छेबाट मान्छेमा सरेकोसमेत देखिन्छ, यो हावाबाटै सर्ने देखियो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने। यो रोग संक्रमण एक देशबाट अर्को देशमा जाने क्रममा हुने जोखिम रहेको जनाउँदै विश्व स्वास्थ्य संगठनले सबै देशलाई नाका तथा विमानास्थल प्रवेशमा हेल्थ डेस्क सतर्कता राख्न निर्देशन दिइसकेको छ।

विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार नेपालको अन्तराष्ट्रिय विमानास्थलमा हेल्थ डेस्क तयारी अवस्थामा राखेको छ। राष्ट्रिय इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखालेबीचमा निस्क्रिय भएको अन्तराष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई शुक्रबारदेखि पुनः सुचारु गरेको छ। डेस्कमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विशेषज्ञ चिकित्सक, दुई नर्सिङ कर्मचारी र एक जना प्यारामेडिकल खटाएको छ।

डेस्कले चीनको हुआन पुगेर आएका नेपाली, चिनियाँ तथा अन्य देशका नागरिकको विवरण संकलन गरिरहेको छ। विवरण संकलनको क्रममा चार वटा क्षेत्र पुरा गरेका बिरामीलाई उपचारको लागि सरुवा रोग अस्पताल पठाउने व्यवस्था मिलाइएको छ। चीनको हुआनबाटै आएको, ज्वरो आएको, श्वास–प्रश्वासमा समस्या आएको र खोकी लागेको बिरामीलाई मात्र उपचारका लागि पठाउने गरेको बताइएको छ।

‘नेपालमा कोरोना देखिएको छैन’
नेपालमा अहिलेसम्म नोवेल कोरोना भाइरस संक्रमण नदेखिएको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र सरुवा रोग अस्पतालले जनाएको छ। अहिलेसम्म एक जना पनि उक्त भाइरस संक्रमित बिरामी फेला नपरेको महाशाखाले बताएको छ।

गत साता सरुवा रोग अस्पतालले भने चीनबाट फर्केका र रुघाखोकी, ज्वरो आएको एक विद्यार्थीलाई अस्पतालले निगरानीमा राखिएको थियो। उनी उपचारको क्रममा टेकु अस्पताल पुगेका थिए। तर उनी उपचारपछि घर फर्कीएका छन्।

प्रकाशित: ७ माघ २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App