८ वैशाख २०८१ शनिबार
समाज

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

काठमाडौं - यातायात व्यवस्था विभागले दुर्घटनाको कारक मान्दै केही साताअघि सार्वजनिक सवारी साधनको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएलगत्तै सामाजिक सञ्जालमा विभिन्न टिकाटिपण्णी भइरहेको छ।

गायिका पूर्णकला बिसी सवारी साधनमा गीत–संगीत बजाएकाले दुर्घटना भन्नु तर्कसंगत नहुने बताउँछिन्। ‘सार्वजनिक सवारी साधनमा गीत–संगीत बजेको कारण दुर्घटना बढ्यो भन्नु गलत हो,’ उनले भनिन्, ‘गीत–संगीतले यात्रु र चालकलाई मनोरञ्जन दिन्छ। तर गीत बजाउँदा सर्तकता भने अपनाउनुपर्छ।’

लोक दोहोरी गायक बद्री पंगेनीका अनुसार सार्वजनिकमात्र नभएर सबै प्रकारको सवारी चलाउने चालकभन्दा पर गीत–संगीत बजाउने उपकरण राखिनुपर्ने तर्क गर्छन्। कारण, हाल लागू गरिएको नियम सार्वजनिक सवारी साधनका निम्तिमात्र भएकाले विभिन्न आशंका गर्न सकिने उनी बताउँछन्। ‘सबै प्रकारका सवारी चलाउँदा चालक गम्भीर हुनु आवश्यक रहेको छ। सवारी साधनमा गीत–संगीत बजाउन नपाइने भन्ने हुन्न्। गीत–संगीतलाई दुर्घटनाको कारक मान्नु गलत हो,’ उनले भने।

सार्वजनिक सवारी साधनमा गीत–संगीतलाई दुर्घटनाको कारक मान्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएको थियो।

यातायात विभागले लागू गरेको निर्देशनप्रति आम नागरिकको बुझाई गलत भएको उनीहरू बताउँछन्। यसअघि विभागले गरेको अनुसन्धानमा सवारी चलाउँदै चालकले गीत–संगीत बजाउँदा दुर्घटनाको सम्भावना देखिएको कुरा संगीतकर्मीहरुलाई पनि जानकारी गराएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्का बताउँछन्। ‘विभागको निर्देशन अनुसार सवारीको क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्नु भन्ने थियो।

आम नागरिकमा गीत–संगीत बजाउन नपाउने बुझाइ हुँदा आलोचना भइरहेको हो,’उनले भने, ‘यात्रामा रहेका यात्रुलाई गीत–संगीतले आनन्द प्रदान गरिरहेको अवस्थामा कसरी दुर्घटना गराउँछ ? गीत–संगीतलाई प्रयोग गर्ने तरिका फरक हुने भएकाले दुर्घटनाको कारण बनाउन ठिक होइन्।’ समाजले ६ पांग्रे सवारी साधनबाट दुई हजार, ४ पांग्रेबाट १४ सय, ट्याक्सी, माइक्रो, जिपबाट एक हजार, ट्रक र ट्यांकरबाट १२ सय, मिनी ट्रकबाट हजार, पिकअपबाट वार्षिक ९ सय रुपैयाँ रोयल्टी संकलन गर्दै आएको छ।

विभागको निदेर्शिकामा स्तरीय सावरी साधन हुनको निम्ति गीत–संगीत बजाउने उपकरण र पत्रपत्रिका लगायत हुनुपर्ने उल्लेख गरिएको छ। यसअघि सार्वजनिक सवारी साधनमा गीत–संगीतलाई दुर्घटनाको कारक बनाउँदै विभागले सार्वजनिक सूचनामार्फत क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएको थियो। गीत–संगीतमा चालकको ध्यान केन्द्रित हुँदा दुर्घटना हुने गरेको तथ्यांकका आधारमा विभागले सो निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

‘सार्वजनिक सवारी साधनमा गीत–संगीत बजाउँदा चालकको ध्यान सवारी लगाउनुभन्दा बाहिर गएर दुर्घटना निम्त्याउने सम्भावना भएकाले यो नियम लागु गरिएको हो,’ उनले भने, ‘सवारी दुर्घटनालाई न्युनिकरण गर्न हामीले लागिपरेका छौं।’
त्यस्तै सार्वजनिक सवारी साधनमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न विभागले निर्देशन लागू गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिएको महानिर्देशक हमालले बताए। पहिलो चरणमा यो नियम सार्वजनिक सवारी साधनमा लागू भएको हो। विभागको निर्देशन कार्यान्वयन नगर्ने चालकलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख गरिएको छ।

प्रकाशित: ७ माघ २०७६ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App