७ वैशाख २०८१ शुक्रबार
खेल

टेबलटेनिसमा पुलिसलाई दुई स्वर्ण

मोरङ- सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा आइतबार टेबलटेनिसका विभिन्न इभेन्टसका खेल सकिएका छन्। टेबलटेनिस महिला जोडीतर्फ आर्मीकी रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो।

रविना र स्वेच्छाको जोडीले पुलिसकी नविता श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ अंकले पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। सशस्त्र प्रहरी बलको एपिएफकी शेलिषा खड्गी र सोनु थापामगर तथा आर्मीकी दिक्षा तामाङ र सिक्का श्रेष्ठको जोडीले कांस्य पदक जिते।

पुरुष जोडीतर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाई ११–९, ११–९, ३–११ र ११–९ अंकले पराजित गर्दै स्वर्ण पदक जिते। तेस्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम बज्राचार्य र चन्दन शाहीको जोडी रहे। 

महिला टिम इभेन्ट्समा पुलिसले जित्यो। पुलिसले एपिएफलाई ३–१ ले पराजित गर्दै रजतमा खुम्चिन बाध्य पार्‍यो। तेस्रो स्थानमा आर्मी र मध्यमाञ्चल रहे। त्यसैगरी पुरुषतर्फको टिम इभेन्ट्स पुलिसले जित्यो। पुलिसले एपिएफलाई ३–१ ले नै पराजित गर्दै स्वर्ण पदक जित्दै संख्या थप्यो। एपिएफ रजतमा खुम्चियो। मध्यमाञ्चल र पूर्वाञ्चलले कांस्य पदक पाए।

मिक्स डबल्सतर्फ पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविता श्रेष्ठको जोडी फाइनल प्रवेश गरेका छन्। स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण तामाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगरको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ ले पराजित गर्दै फाइनल यात्रा तय गरे।

प्रकाशित: ११ पुस २०७३ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App