७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

जापान, कोरिया र थाइल्याण्डमा कोरोनाको संक्रमण भेटियो

बेइजिङ – गत महिना चीनको बुहानमा फेला परेको रहस्यमयी कोरोना भाइरस अन्य सहरमा पनि फैलिएको अधिकारीहरूले बताएका छन्। उक्त भाइरसबाट तीन जनाको मृत्यु भएको र ५० जना प्रभावित भएको बताइएकोमा थप १३९ जना पनि यसबाट प्रभावित भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

यो तथ्यांक दुई दिनको अवधिमा पत्ता लागेको हो। यससँग कोरोना भाइरसबाट प्रभावितको संख्या चीनमा मात्र दुई सयभन्दा बढी पुगेको छ। अधिकारीहरूका अनुसार बुहानसँगै बेइजिङ र सेन्जेनमासमेत उक्त भाइरसबाट प्रभावित बिरामी फेला परेका छन्।

बेलायती वैज्ञानिकहरूले भने चीनले आधिकारिकरूपमा सार्वजनिक गरेको आँकडाभन्दा उक्त भाइरसबाट प्रभावित हुनेको संख्या धेरै रहेको दाबी गरेका छन्। वैज्ञानिकहरूले झण्डै एक हजार सात सय जना प्रभावित भएको दाबी गरेका छन्। एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिस्टले इम्पेरियल कलेज लण्डनमा गरेको अनुसन्धानबाट  उक्त भाइरसको संक्रमण आधिकारी पुष्टि भएभन्दा धेरै भएको दाबी गरिएको थियो।

विश्व स्वास्थ्य संगठनले यो भाइरसका बारेमा व्यापक हिसाबले जाँच भइरहेकाले यसको  प्रकोप वृद्धि भएको देखिएको जनाएको छ। सुरुमा चीनमा मात्र देखिएको यो भाइरस अहिले अन्य मुलुकसम्म पनि पुगिसकेको छ। वैज्ञानिकहरूका अनुसार हाल यो भाइरस थाइल्याण्ड र जापानमा पनि देखिएको छ।

शनिबार उक्त भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ। त्यहाँको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोना भाइरस’ पुष्टि भएको हो। अस्पतालमा अन्य बिरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ।

बिरामीमा गरिएको नमुना परीक्षणपश्चात चिनियाँ अधिकारीले यो कोरोना भाइरस भएको जानकारी विश्व स्वास्थ्य संगठनलाई गराएका थिए। वैज्ञानिकका अनुसार कोरोना भाइरस विभिन्न किसिमका हुने गर्छन्। यसमध्ये ६ किसिमका कोराना भाइरसले मान्छेमा संक्रमण गर्छ भन्ने मान्यता रहेको थियो। यो नयाँ भाइसरको पत्ता लागेसँगै अब मान्छेमा संक्रमण गर्ने कोरोना भाइरसको संख्या सात पुगेको छ। नयाँ भाइरसको जेनेटिक कोड विश्लेषण गर्दा यो भाइरस मान्छेमा संक्रमण गर्ने अन्य कोरोना भाइरसको तुलनामा सार्ससँग मिल्दो देखिएको छ। सार्स कोरोना भाइरस अन्यको तुलनामा खतरनाक भाइरस मानिन्छ। सार्कका कारण सन् २००२ मा चीनमा आठ हजार ९८ व्यक्त संक्रमित भएकामा ७७४ जनाको मृत्यु भएको थियो।

चीनको बुहानका अधिकारीका अनुसार यो साताको अन्त्यसम्ममा यो भाइरसबाट प्रभावित १३६ जना नयाँ बिरामी फेला परेका छन्। यो भाइरसको संक्रमणबाट वुहानमा सुरुमा दुई जनाको मृत्यु भएकोमा थप एक जनाको मृत्यु भएर उक्त संख्या तीन पुगेको छ। आइतबार साँझसम्मा बुहानमा कोरोनाबाट प्रभावित १७० जनाको उपचार भइरहेको र ९ जनाको अवस्था गम्भीर भएको जनाइएको छ। कोरोना भाइरसबाट प्रभावितमा रुघाखोकीको लक्षण देखिने र स्वासप्रस्वासको समस्याका कारण मृत्युसमेत हुने विज्ञले बताएका छन्।

युनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर वुल हाउसले यो भाइरस किन यति धेरै खतरनाक छ भनेर अध्ययन गर्दा यसको लक्षण सामान्य रुघाखोकीको भन्दा फरक पाइएको र यो चिन्ताको विषय भएको बताए। यो भाइरसको संक्रमण बढ्दै गएपछि सिंगापुर र हङकङले बुहानबाट आउने हवाई यात्रुको स्वास्थ्य जाँच सुरु गरेका छन्। अमेरिकाले समेत शुक्रबारबाट हवाई यात्रुमा उक्त भाइरसको जाँच सुरु गरेको छ। अमेरिकाका मुख्य विमानस्थल सन फान्सिस्को, लस एन्जल्स र न्युयोर्कमा हवाई यात्रुमा चिनियाँ भाइरससम्बन्धी जाँच सुरु गरिएको छ।

प्रकाशित: ७ माघ २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App