७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

लिबियामा जारी द्वन्द्व अन्त्य गर्ने सहमति

बर्लिन – जर्मनीको बर्लिनमा आइतबार सुरु भएको लिबिया सम्मेलनमा त्यहाँ लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने विषयमा सहमति भएको छ। सम्मेलनका सहभागीले लिबियामा जारी द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाका लागि सहमति गरेका हुन्। उनीहरूले हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत जनाएका छन्।

सम्मेलनका सहभागीबीच द्वन्द्व समाधान गर्ने विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी गराएकी छन्। ‘हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने गम्भीर विषयमा सहमति जनाएका छौँ,’ मर्केलले भनेकी छन्।

चान्सलर मर्केलले बर्लिन सम्मेलनले अघि सारेको सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पु-याउने धारणा व्यक्त गरेकी छन्। उक्त सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासमा एक ठूलो योगदान पु-याउने विश्वास उनले व्यक्त गरेकी छन्। 

आइतबार बर्लिनमा सुरु भएको सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिलगायत विश्वका नेताहरू सहभागी भएका थिए। लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो।

उक्त सम्मेलन संयुक्त राष्ट्रसंघमा महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर आयोजना गरिएको थियो। सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी छन्। सम्मेलनमा लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको छ। हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसङ्घले मान्यता दिएको छ। उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हफ्तार पनि बर्लिन पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सम्मेलनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चान्सलर मर्केलले  सम्मेलनबाट आफूहरू निकै खुसी भएको र आगामी दिनमा लिवियामा शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको बताएकी छन्। उनले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताएकी छन्। उनले हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने बताइन्।

उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ। सम्मेलनका सबै सहभागीहरूले ती ५५ बुँदामा सहमति जनाएका छन्। सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ। त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ। उक्त सहमतिमा संयुक्त राष्ट्रसंघले पनि समर्थन गरेको छ। संयुक्त राष्ट्रसंघ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पु¥याउने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: ७ माघ २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App