इटहरी- सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको अन्तिम ४ मा स्थान बनाएका छन्। आइतबार पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २९ रनले हराउँदा एपिएफले सुदूरपश्चिमाञ्चलमाथि ८ विकेटको विजय हासिल गरेको हो।
एपिएफ समूह 'क' बाट र पूर्वाञ्चल समूह ‘ख’ बाट विजेताको हैसियतमा सेमिफाइनल पक्का गरेका हुन्। मध्यमाञ्चलले समूह ‘क’ र मध्यपश्चिमाञ्चलले समूह 'ख'बाट उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाए।
इटहरीस्थित डिभिएम स्कुलको मैदानमा टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चलले ६ विकेट गुमाएर ९३ रनको लक्ष्य प्रस्तुत गर्यो। ९४ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा ६३ रनमात्र बनायो। पूर्वाञ्चलका लागि काजल श्रेष्ठले ४८ र अनुराधा चौधरीले १३ रन बनाए। मध्यपश्चिमाञ्चलकी अनिता चौधरी ३ र शर्मिला रानामगरले २ विकेट लिए।
मध्यपश्चिमाञ्चलकी नेरी थापाले १६ र ममता थापाले २३ रन बनाए। पूर्वाञ्चलका कविता गौतमले ३ तथा सबनम राई र सन्तोषी चौधरीले २/२ विकेट लिए।
आइतबारै भएको अर्को खेलमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमाञ्चलले १८ ओभरमा ३९ रन बनाउँदा सबै विकेट गुमायो। एपिएफका सरिता मगरले ४ र इन्दु बर्माले २ विकेट लिइन्। ४० रनको लक्ष्य एपिएफले ४ ओभरमै पूरा गर्यो। एपिएफका लागि ज्योती पाण्डेले १३ र सरिता मगरले १२ रन बनाए।
प्रकाशित: ११ पुस २०७३ ०३:५७ सोमबार