coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचन तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले बिहीबार सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको लागि हुने मतदानका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री, कर्मचारी, मतपत्र पुगिसकेको छ। ‘राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित ठाउँमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्र र मतदानस्थलमा पुगिसकेको छ,’ श्रेष्ठले भने ‘मतदान सुरु हुनु ४८ घन्टा अघिदेखि मौन अवधि सुरु हुने व्यवस्थाअनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ, अव बिहीबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुन्छ।’

आयोगले मौन अवधिको पालना गरी यस अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइवर, एसएमएस जस्ता सामाजिक सञ्जाल र विद्युतीय माद्यमको प्रयोग गरी मत माग्ने, प्रचार–प्रसार गर्ने काम नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सरोकारवालासँग आग्रह गरेको छ।

निर्वाचनमा प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख गरि ६ हजार २ सय ६० थान मतपत्र निर्वाचन हुने समूह र मतदाताको आधारमा पठाइएको जनाएको छ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनअन्र्तगत प्रदेश १ मा महिला, दलित र अन्य समूह गरी तीनजना, प्रदेश २ मा महिला, दलित र अपांगता वा अल्पसंख्यक भएका र अन्य समूह गरी चारजना, बागमती प्रदेशमा महिला र अन्य समूह गरी दुईजना, गण्डकी प्रदेशमा महिला र अन्य समूह गरी दुईजना, प्रदेश ५ मा महिला, अपांगता वा अल्पसंख्यक भएका समुदाय र अन्य गरी तीनजना, कर्णाली प्रदेशमा महिला र अन्य समूह गरी दुईजना र सुुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूहका २ जना गरी जम्मा १८ सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनमा ५ सय ५० जना प्रदेशसभा सदस्य स्थानीय तहका सदस्य १ हजार ५ सय ६ गरी २ हजार ५६ जना मतदाता रहेका छन्।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ४५ जना उम्मेदवार छन्। प्रत्येक दुई वर्षमा राष्ट्रियसभाको एकतिहाइ पद रिक्त हुने व्यवस्थाबमोजिम आगामी माघ २० गतेदेखि १८ निर्वाचित र एक मनोनित गरी १९ सदस्यको पद रिक्त हुँदैछ। जसमध्ये विभिन्न १८ निर्वाचित पदका लागि बिहीबार निर्वाचन हुँदैछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।

परिचयपत्र निर्धारण
आयोगले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न जाने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि परिचयपत्र निर्धारण गरेको छ। आयोगले मतदानका लागि मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृतले मतदाताको प्रदेशसभा सदस्य वा स्थानीय तहको प्रमुख, उपप्रमुखको प्रमाण हेरेर मात्रै मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सोअनुसार मतदान गर्न जाने मतदाताले प्रदेशसभा सदस्य वा स्थानीय तहको प्रमुख, उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र र आयोगबाट जारी भएको मतदाता परिचयपत्र लिएर आउनसमेत आग्रह गरेको छ। यदि प्रमाणपत्र हराएको अवस्थामा नागरिकता, राष्ट्रिय परिचयपत्र वा सरकारी निकायबाट जारी भएको फोटोसहितको परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर एकिन गरेर मात्रै मतदान गर्न दिन निर्देशन दिएको छ।

प्रकाशित: ७ माघ २०७६ ०१:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App