७ वैशाख २०८१ शुक्रबार
खेल

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

शतक पूरा गरेका अरिफ शेख ब्याटिङ गर्ने क्रममा। तस्बिर उमेश पुन/नागरिक

पोखरा - एक हप्तादेखि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण एकदिवसीय खेलमा मलेसिया ११ माथि सहज जित निकाल्यो। गत शनिबार कास्की ११ लाई मैत्रीपूर्ण खेलमा सहज पराजित गरेको मलेसिया ११ ले  सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यान) बोर्ड ११ सँग १ सय ३५ रनको फराकिलो हार बेहो-यो। खेलमा मलेसिया ११ लाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर करण केसी र कमलसिंह ऐरीको प्रदर्शन लोभलाग्दो रह्यो।  दुवैले मेडन ओभर राख्दै समान ३/३ विकेट लिए। करणले ८ ओभरमा दुई ओभर मेडन राख्दै २७ रन दिएर ३ विकेट लिँदा ऐरीले ७ ओभरमा एक मेडन राख्दै २४ रनमा ३ विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले मलेसियालाई २ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए। सुवास खकुरेल १२, ज्ञानेन्द्र मल्ल १९ र पारस खड्का १५ रनमा पवेलियन फर्किएपछि नेपाली राष्ट्रिय टोली सम्मिलित क्यान बोर्ड ११ सस्तैमा समेटिने संकेत देखिएको थियो। चौथो विकेटका लागि शतकीय साझेदारी निभाएपछि बोर्ड ११ ले सम्मानजनक स्कोर तयार पा¥यो। आरिफ १ सय १ मा रन नटआउट रहे। उनले १ सय ५ बल खेल्दै ७ चौका र ५ छक्का हिर्काए। उनलाई स्ट्राइकमा साथ दिँदै महत्वपूर्ण साझेदारी निभाउने क्रममा सन्दीप जोराले व्यक्तिगत अर्धशतक पूरा गरेका थिए। उनले ५८ रनमा आउट हुँदा ७० बल खेल्दै ८ चौका र १ छक्का हिर्काए। बोर्ड ११ ले ५८ रन बनाउने क्रममा तीन विकेट खसिसकेको थियो।

चौथो विकेट २ सय ११ रन बनाउँदा गुमाएको घरेलु टोलीले पाँचाैं विकेट २ सय १४ रनमा गुमायो। ४७ ओभर खेल्ने क्रममा २ सय ७७ रनको योगफल तयार पार्दा करण केसीले २६ रन हिर्काए। पवनदीप सिंहले ३ विकेट लिने क्रममा ३१ रन खर्चिए। त्यसै गरी मोहम्मद आरिफले पनि ३ विकेट लिन ३३ रन दिएका थिए।

२ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया ११ करण केसी र कमलसिंह ऐरीको घातक बलिङसामु १ सय ४२ रनमै समेटियो। ३७.३ ओभर खेल्दै १ सय ४२ रनमा अलआउट हुँदा सायद अजिजले २८ रन बनाए। २९ बल खेल्ने क्रममा ३ चौका र १ छक्का हाने। उनलाई करण केसीले आउट गरे। आइनुल हकिमले पनि समान २८ रन नै बनाउने क्रममा ४७ बलको सामना गरेका थिए। उनले ४ चौका हिर्काए। कुशल मल्लको बलिङमा उनी एलबिडब्लुको धरापमा परे। विरन्दीप सिंहले २४ रन जोडे। ५० बल खेलेका सिंहले ३ चौका हिर्काएका थिए। उनलाई अविनाश बोहोराको बलमा पारस खड्काले क्याच  गरे। कुशल मल्लले ८.२ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर २ विकेट लिएका थिए।

प्रकाशित: ७ माघ २०७६ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App