coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सहमति जुटाउन सभामुखको पहल

काठमाडौं- संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षी दलले लगातार संसद् अवरोध गरेपछि सहमतिका लागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीनसहित सात राजनीतिक दलको बैठक बोलाएकी छिन्।

सभामुख ओनसरी घर्तीले सोमबार तीन बजे दलको बैठक बोलाएकी हुन्।  सरकारले मंसिर १४ गते संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदनको कारबाही अगाडि बढ्न नदिने अडान विपक्षी दलले लिएका छन्।

संसद् बैठक नचल्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन। सरकार संविधान संशोधन प्रस्ताव फिर्ता नलिने र प्रतिपक्षी फिर्ता नलिएसम्म सदन चल्न नदिने अडानमा बसेपछि सभामुखले सहमतिको प्रयास थालेकी हुन्। यसअघि पनि प्रमुख तीन दलका शीर्ष नेतासँग परामर्श गरेकी सभामुखले सहमति हुन नसकेपछि पुनः बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए।

'संसद्मा १० भन्दा बढी सांसद संख्या रहेका दलहरूलाई सभामुखले बैठकमा बोलाउनु भएको छ,' शर्माले भने, 'दुई अंक (१० भन्दा बढी) सांसद संख्या रहेका दल सातवटा छन। ती दलका नेताहरूलाई बैठकमा बोलाइएको हो।'  बैठकमा सदन सञ्चालन गर्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ।

राजनीतिक गतिरोध अन्त्य गर्न भन्दै बिहीबार सूचना टाँसेर शनिबारसम्म स्थगित संसद् बैठक पुनः स्थगित भएको छ।

सभामुख घर्तीले दलहरूले सहमतिका लागि समय मागेपछि पुस ७ को बैठक स्थगित गरेर आइतबारका लागि डाकेकी थिइन्। आइतबारको बैठक पनि सहमतिका लागि भन्दै शनिबार साँझ सूचना टाँसेर स्थगित गरियो। अर्को बैठक १२ गतेलाई डाकिएको छ।

मुख्य दलबीच सहमति जुटाउन बैठक स्थगित गरिए पनि छलफलसमेत भएको छैन।

मंसिर १६ गते यता प्रमुख प्रतिपक्षी एमालेलगायत दलले सातपटक संसद् बैठक अवरुद्ध गरेका छन् भने कतिपय बैठक अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएका छन्।

प्रकाशित: ११ पुस २०७३ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App