८ वैशाख २०८१ शनिबार
विचार

आजका महिला

रेजिना पाण्डे

आजका महिला आधुनिक बन्ने होडमा निकै लागिपरेका छन्। शिक्षा,  लवाइखुवाइदेखि समयको मागअनुसार उपलब्धि हासिल गर्नसम्म जोडतोडले तयारीमा जुटिरहेका छन्। जीवन सरल/सहज बनाउन प्रतिस्पर्धा पनि गरिरहेका छन्, आजका महिला। दिनप्रतिदिन जति–जति प्रविधिको विकास भइरहेको छ, त्यति–त्यति महिलाको सोचमा पनि परिवर्तन आइरहेको छ। आफूलाई सबै क्षेत्रमा अब्बल बनाउने सोचसाथ अगाडि बढिरहेका छन्, आजका महिला।

कुनै समय छोरीले शवसम्म हेर्न हुन्न भन्ने अन्धविश्वास थियो। तर आज उनीहरू आमाबुुबाको दागबत्ती दिने भएका छन्। सगरमाथा चढिसकेका छन्। डाक्टर, इन्जिनियर बनेका छन्। देशको उच्च ओहोदामा बसेर काम गर्न सक्ष भएका छन्, आजका छोरी।

कुनै समय महिला घरघन्दा र सन्तान जन्माउने काममा मात्र सीमित थिए। घुम्टो ओढेर घरभित्रै बस्न बाध्य थिए। तर आज महिला घरभित्रका जिम्मेवारी पूरा गर्दै घरबाहिर पनि पुरुषसरह हरेक सीप, व्यवसाय तथा कार्यालयका काम गर्न सक्ने भएका छन्। गाउँदेखि सहर, सहरदेखि विदेशसम्म महिला अगाडि बढिरहेका छन्। आफ्नो दक्षता र क्षमताले भ्याएसम्म उनीहरू आफ्ना परिवार, समाज र राष्ट्रसम्म बनाउन प्रयासरत छन्। महिला यतिबेला खुला आकाशमा रमाइरहेका छन् वा रमाउने प्रयासमा छन्।

देशमा बढिरहेको बलात्कार तथा महिला हत्या/हिंसाका घटनाले भने उनीहरूमा त्रास उत्पन्न गराइहेको छ। ठाउँठाउँमा भइरहेका यस्ता आपराधिक घटनाले महिला मनोबललाई कमजोर बनाइरहेको छ। महिलालाई छलकपट गर्ने,   फसाउने घटनाले कतै आफ्नै छोरीबुहारी, दिदीबहिनी पनि यसको सिकार बन्ने हो कि भन्ने पनि त्रास समाजमा फैलिएको छ। यो आधुनिक युगमा उडिरहेका आफ्नो पंख कसले काटिदिन्छ भन्ने डर महिलालाई भइरहेको छ।

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आधुनिक महिलाको साहस हो।

पुरुषवादी समाजबाट उम्केर केही गरौं भन्ने उत्साह र जोसमा रहेका महिलालाई यस्ता घटना चुनौती बनेका छन्। स्वतन्त्रत भएर हिँड्न उनीहरूलाई ग्राह्रो भइरहेको छ। आफ्नो कार्यमा सफलता पाइरहेका महिलालाई फसाउने, लत्याउने,  निचो देखाएर लाचार बनाउने यो समाजले महिलालाई अझै दबाएर राखेकै महसुस हुन्छ। जति आधुनिकताको विकास भइरहेको छ, त्यति नै अनुपातमा महिलाविरुद्ध हिंसा र अपराध पनि बढिरेहका छन्।

महिला हत्या/हिंसा, बलात्कार तथा यौन दुव्र्यवहारमा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय गर्न जरुरी छ। अनि मात्र यस्ता अपराध समाजमा कम हुन्छन्। महिलालाई काम गर्न सहज वातावरण निर्माण हुन्छ। तर अपराधीहरू नै स्वतन्त्र भएर ठाउँठाउँमा जालो बुनेर बसिरहेका छन्। यो दुःखको कुुरा हो।

दमन, शोषण गरेर जति दबाउन खोजे पनि त्यसविरुद्ध डटेर अगाडि बढिरहेका छन्, आजका महिला। यो नै आजका महिलाको साहस हो। कठिन अवस्था हुँदाहुँदै पनि हिम्मत नहारी महिला आफ्नो कामलाई निरन्तरता दिइरहेका छन्। सामाजिक, आर्थिक तथा मानसिक रूपमा आत्मनिर्भर हुँदै छन्। आफ्नो घरपरिवार र  पेसा दुवैलाई मिलाएर हिँडेका छन्। महिलाको यो कुशलतालाई सम्मान गर्नेपर्छ।

प्रकाशित: ६ माघ २०७६ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App