coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२४ महिनाभित्रै विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता

काठमाडौं - सात सय ५६ मेगावाटको जलायशयुक्त तमोर जलविद्युत् आयोजनाको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। लगानी बोर्डले आयोजना निर्माण गर्ने जिम्मा पाएको जलविद्युत् विकास कम्पनी लिमिटेड र पावर कन्सट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेडसँग आइतबार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो।  

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी, जलविद्युत् विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेल र पावर कन्सट्रक्सन कर्पाेरेसन अफ चाइना लिमिटेडका उपाध्यक्ष पान देङ यूले २४ महिनाभित्रै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। लगानी बोर्डका सिइओ अधिकारीले विस्तृत सम्भाव्यता अध्ययन समझदारीपत्रमा हस्ताक्षर भएसँगै आयोजना निर्माणको बाटो खुलेको बताए। ‘यो समझदारीपत्रले आयोजना अघि बढ्ने वातावरण सिर्जना गरेको छ,’ उनले भने, ‘अबको २४ महिनाभित्र आयोजनाको सर्भे लाइसेन्स लिनेदेखि विस्तृत सम्भाव्यता अध्ययनसम्मको कार्य सम्पन्न गरिनेछ।’

सम्भाव्यता अध्ययन सकिएपछि परियोजना विकास सम्झौता (पिडिए) हुनेछ। सिइओ  अधिकारीले जलाशययुक्त तमोर जलविद्युत् आयोजना पिपिपी मोडलमा निर्माण गर्न लागिएको बताए। सरकारले दुई सय मेगावाटभन्दा बढी क्षमता भएको जलविद्युत् आयोजना लगानी बोर्डमार्फत अघि बढाउँदै आइरहेको छ। सिइओ अधिकारीले आयोजनाको सम्भाव्यता अध्ययन तोकिएको समयभित्रै सम्पन्न गर्ने गरी कामअगाडि बढाउने दाबी गरे। ‘तिनै पक्षले विस्तृत सम्भाव्यता अध्ययनलाई तोकिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम गर्नेछौं,’ उनले भने, ‘हामीले जतिसक्दो चाँडो आयोजना निर्माण गर्ने योजना बनाएका छौं।’

आयोजना प्रमुख झलकराम सुवेदी आयोजनाले अहिले सहजीकरणबाहेक अन्य केही पनि काम नगरेको बताउँछन्। ‘अहिले आयोजनाले भन्दा लगानी बोर्डले आयोजनाको सम्पूर्ण काम गर्दै आइरहेको छ,’ उनले भने, ‘गत वर्ष विद्युत् विकास विभागसँग सर्वेक्षण अनुमति माग गरेका थियौं। तर विभागले अनुमति दिएन। उनले उक्त आयोजना लगानी बोर्ड मातहत गएकाले पनि अनुमति प्राप्त गर्न नसकेको बताए। ‘अब आयोजनाको सम्पूर्ण जिम्मेवारी लगानी बोर्डमा सरेको छ,’ उनले भने।  

सरकारले चालु आर्थिक वर्षको बजेटमा यसको सम्भाव्यता अध्ययन सम्पन्न गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। सात सय ५६ मेगावाट क्षमताको आयोजना निर्माणको लागि एक खर्ब ६० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। आयोजनामा दुई सय १० मिटर अग्लो रकफिल ड्याम निर्माण गर्नुपर्ने हुन्छ। यो आयोजनामा पानीको डिस्चार्ज पाँच सय १७ क्युसेक हुनेछ। यो आयोजनाबाट उत्पादन भएको बिजुली बसन्तपुर–तेह्रथुम ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। प्रसारण लाइनको दुरी २६ किलोमिटर मात्रै हुनेछ।  

कोसी रिभर बेसिन मास्टर प्लानको गुरुयोजनाको अध्ययन गर्दा तमोरमा जलाशययुक्त आयोजनाबाट बिजुली निकाल्न सकिने पहिचान भएको थियो। सडक विभागले तमोर जलविद्युत् आयोजनास्थल पुग्ने ट्र्याक खोलिसकेको छ। त्यसैगरी, मूलघाटदेखि आयोजनास्थलसम्म ३० किलोमिटरको सडक तयार गर्न लागिएको छ। विस्तृत अध्ययन र डिजाइनको काम भइसकेको छ। यो आयोजनाबाट वार्षिक ३५७८ गिगावाट आवर बिजुली उत्पादन गर्न सकिनेछ। हिँउदमा १०७३ गिरावाट आवर उत्पादन गर्न सकिनेछ। यो आयोजना तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा पर्छ।

प्रकाशित: ६ माघ २०७६ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App