coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडकमा सार्वजनिक सवारीका ‘मनपरी’

गाडीका स्टाफको ठगीमा परेका दोलखा खावा बजारका बालक रवि खत्रीको रकम फिर्ता गराउँदै प्रहरी ।

दोलखा–राजधानीको गोठाटारमा दिदी भिनाजुसगँ बसेर एक सरकारी स्कुलमा पढ्दै आएका १३ वर्षीय रवि खत्री जाडो बिदा सुरु भएपछि आइतबार जिरी नजिकको खावा बजारमा रहेको घर जान झिसमिसेमै कोटेश्वर निस्किए। झोला बोकेर उभिरहेका उनलाई काठमाडौंबाट दोलखा बजार हिडेको बा ३ ख १९०० नम्बरको अरनिको यातायातको सुपर एक्सप्रेसका कण्डकटरले कता जाने भनेर सोधे।

‘जिरी’ जवाफ दिएका उनलाई ती कण्डक्टरले गाडीमा बस्न आग्रह। गाडी लोकन्थली पुगेपछि कण्डक्टर र खलासीले फेरि यात्रु बोलाउन थालेको सुनेर उनलाई शंका लाग्यो। खलासीले यात्रु बोलाउँदा चरिकोटको मात्र नाम लिएपछि आफूलाई स्टाफले झुक्याएको चाल पाए। उनले आफू जिरी जनान लागेकाले झुक्याएर चरिकोट मात्र पुग्ने गाडीमा हालिदिएको भन्दै ओराल्न आग्रह गरे । गाडीका स्टाफले चरिकोटबाट अर्को गाडी चढाइदिने भनेर आश्वास्त तुल्याए।

त्यती मात्र हैन। भाडा तिर्ने बेलामा उनलाई सुपर एक्सप्रेस भन्दै चरिकोट सम्मको महंगोे भाडा तिराइयो। ‘विद्यार्थी परिचयपत्र छुट हुँदा २ सय ५० रुपैयाँ भाडामा घर पुग्छस र १ सय ३० पकेट खर्चका लागि राख्नु भनेर दिदीले ३ सय ८० रुपैयाँ दिनुभएको थियो’, रविले सुनाए,  ‘तर परिचय पत्र छुट हुँदैन भन्दै चरिकोटसम्मको भाडा ४ सय रुपैयाँ देउ भनेर मागियो, मैले भएजति सबै दिएँ।’ उनलाई चरिकोटबाट कसरी घर पुगौला भन्ने चिन्ताले सताउन थाल्यो।

जिल्ला प्रहरी कार्यालय दोलखाले घटनामा चासो राखेर चरिकोट पुग्ने बित्तिकै बसलाई नियन्त्रणमा लिई ठगिएको भाडा फिर्ता गरायो, बसलाई १ हजार जरिवाना तिराई कागज गरेर छाडिदियो। १३ वर्षीय किशोर रवि ठगिनु एक प्रतिनिधि उदाहरण हो। राजधानीबाट मध्यपूर्वी पहाड चल्ने सार्वजनिक सवारीमा बिभिन्न नाममा यात्रुहरु ठगिमा परिरहेका हुन्छन् । सरकारले लागू गरेको विद्यार्थी र बृद्ध बृद्धालाई सार्वजनिक यातायातमा छुट प्रायले कार्यान्वयन नै गर्दैनन्।

राजधानीबाट दोलखा चल्ने अरनिको र रोल्वालिङ यातायातले बृद्ध बृद्धा र बिद्यार्थी छुट दिनै मान्दैनन्। ‘सरकारले बुढा बुढीका लागि छुट भनेपछि सदरमुकाममा गएर परिचयपत्र बनाएँ’, सुन्द्रावतीकी बृद्धा लक्ष्मी दाहालले भनिन्,  ‘तर गाडीमा चढ्दा जेष्ठ नागरिक परिचयपत्र देखाएकै कारण दुई पटक बीच बाटोमा ओरालि दिने धम्की दिएपछि अहिले पुरै भाडा तिर्ने गर्छु।’
 

सुपर एक्सप्रेसकै नाममा ठगी

अरनिको यातायातले बाटोमा नरोकी र यात्रु नहाली सरासरी गन्तव्यमा पु¥याइदिने भन्दै चलाइरहेको सुपर एक्सप्रेसमा सबै भन्दा बढी ठगी हुने गरेको छ ।
समितिले ‘ननस्टप’ भनेर चलनचल्तीको भन्दा ७६ रुपैयाँ बढी भाडा लिएको आइतबारको सुपर एक्सप्रेसले बीचमा कैयौ ठाउँमा यात्रु झार्दै र ओराल्दै ग¥यो। ‘खासमा एक्सप्रेस भनेको बढी भाडा लिएर समयमै गन्तव्यमा पुर्याउनका लागि काउण्टरमा जति टिकट काटियो सोही अनुसार मात्र हिडुन भनेर ब्यबस्था गरिएको हो’, अरनिको समितिका एक सदस्यले भने,  ‘तर बीचमा यात्रु झार्ने ओराल्ने गरेर दुख दिने काम भइरहेको छ।’ यस्तै एक्सप्रेस सुविधाका नाममा बिद्यार्थी र जेष्ठ नागरिकले समेत छुट पाउदैनन्।
प्रतिष्पर्धा र यात्रु तानातानले हैरानी

चरिकोट पुरानो बजारका अर्जुबहादुर श्रेष्ठ राजधानी जान गत साता चोकमा निस्किए। चोकमा यात्रु बोलाइरहेका बसका खलासीले श्रेष्ठलाई तानातान गर्न थाले । उनी म आफू खुसीले रोजेर बसमा चढ्छु भन्दै पन्छिन खोजे तर आफ्नो गाडीमा नगएको भनेर एक बसका खलासीले श्रेष्ठलाई लात्तीले प्रहार गरी भागे।

श्रेष्ठ जस्तै यात्रु बोलाउने र तान्ने नाममा गाडीका स्टाफको ब्यबहारले यात्रुहरु सबै भन्दा बढी चिन्तित छन्। ‘बस चढ्न गयो, खलासीहरुले मेरो गाडीमा चढ भन्दै तानातान गर्दै झोला खोसेर हैरान पार्छन’, चरिकोटका इश्वर बल्लभ थापाले भने। बस ब्यबसायी सामन्य झेला र लगेजको पनि भाडा लिने गरेको यात्रुको गुनासो छ । ५ केजीको केही पोका र झोला हाल्दा पनि अचाक्ली रकम माग्ने गरेको उनीहरुले गुनासो गरे।  

जिल्ला ट्राफिक प्रहरीका प्रमुख असई नयन सिंह भण्डारी बस ब्यबासीहरुको लापरवाह माथि कडा निगरानी गरिएको बताउँछन्। ‘हामीले निगरानी कडै गरिरहेका हुन्छौ’,  भण्डारी भन्छन,  ‘तर आफू मर्कामा परेको कुरा यात्रुले खबर नै गरिदिदैनन।’ यात्रुले खबर गरेका कारबाही कडा पार्ने बताउँछन भण्डारी।

अरनिको यातायात समितिका अध्यक्ष श्याम लामाले छुटको बिषयमा समितिले मापदण्ड बनाउने तयारी गरिरहेको जानकारी दिए। ‘राज्यले भने अनुसारको छुट दिँदा बस चल्नै सक्दैन’, उनले भने, ‘त्यसैले प्रति गाडी छुटको निश्चित कोटा निर्धारण गरेर ब्यबस्था गर्ने योजनामा छौं।’ लामाले एउटा गाडीमा कोटा सकिए लगतै छुट चाहनेले अर्को गाडी चढ्ने गरी ब्यबस्था गरिने जानकारी दिए । उनले यातायात सेवा सुधारका लागी समितिले बिभिन्न योजना अघि सारेको बताए ।

प्रकाशित: १० पुस २०७३ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App