८ वैशाख २०८१ शनिबार
खेल

ब्याजदर घट्न सक्ने

काठमाडौँ - मुलुकको बैंकिङ प्रणालीमा पर्याप्त तरलता थपिएपछि बैँक तथा वित्तीय संस्थाले लिने ब्याजदर एकल विन्दुले घट्न सक्ने भएको छ।

कृषि विकास बैंकले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमका अवसरमा बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैँकले लिँदै आएको कर्जाको ब्याजदरमा एक विन्दुले कम हुनसक्ने बताएका छन्। नेपाल बैंकर एसोसिएसनको सहकार्यमा ब्याजदरका विषयमा अध्ययन गर्न कमिटी गठन भएको बताउँदै उनले भने, ‘वित्तीय तरलता, बैँकको कर्जा लगानी, बैँकहरुले लिँदै आएको ब्याजदरका विषयमा अध्ययन गरी प्रतिवेदन नेपाल राष्ट्र बैँकलाई पेस गछौँ।’

बैँक आगामी माघ ७ गते ५३ औँ वर्षमा प्रवेश गर्ने बताउँदै उनले आगामी दिनमा सर्वसाधारण, व्यावसायिक संघसंस्थाको लगानी सुरक्षाका लागि कृषि क्षेत्रमा लगानी बढाउने योजनामा रहेको बताए। लामो समय घाटामा सञ्चालन भएको बैँक पुनसंरचना हुँदै गत आव ०७५/७६ मा ३० प्रतिशत लाभांश दिन सफल भएको बताउँदै उनले आगामी दिनमा ‘कृषिलाई नछोड्ने अरुलाई जोड्ने’ नारासहित बैँकिङ पहुँच वृद्धि गर्ने बैँकको उद्देश्य रहेको बताए। बैँक सात वर्ष अवधिका लागि १०.३५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्ने योजनामा रहेको छ। अंकित मूल्य एक हजार रुपैयाँ दरका २५ लाख कित्ता ऋणपत्र निष्कासनको अन्तिम तयारी भइरहेको बैंकको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको बैँकमा करिब १२ लाखले निक्षेप संकलन गरेका छन् भने करिब एक लाख ४५ हजारले कर्जा लिएका छन्। त्यसैगरी, इन्टरनेटका सेवाग्राहीको संख्या ६ हजार पुगेको बैंकले जनाएको छ। बैँकका अनुसार करिब दुई लाख ६२ हजारले मोबाइल बैँकिङ सेवा लिएका छन् भने भिषा कार्डको प्रयोगकर्ता करिब ८१ हजार पुगेको छ।

एक वर्षको अवधिमा बैँकले करिब दुई हजार पाँच सयभन्दा बढी ग्राहकलाई सहुलियतपूर्ण कृषि अनुदान कर्जा वितरण गरेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए। सो अवधिमा सहुलियतपूर्ण कर्जा शीर्षकमा करिब पाँच अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उनले बताए। सरकारको कार्यक्रम, जनताको चाहना बमोजिम आगामी दिनमा कृषिलगायत क्षेत्रमा बढी कर्जा प्रवाह गर्नै उनले बताए। आगामी दिनमा यस कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन अन्य संघसंस्थासँग सहकार्य गर्ने बैँकले जनाएको छ।

प्रकाशित: ६ माघ २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App