coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थारू बस्तीमा धमाधम ‘भलवन्सा’ चुनिँदै

धनगढी – धनगढी उपमहानगरपालिका–६ जालीगाउँका थारू समुदायले भर्खरै झरीलाल चौधरीलाई आगामी वर्षका लागि भलवन्सा (गाउँका नेता) चुने। धनगढी–५ जाईका बासिन्दाले पनि कुलवीर चौधरीलाई भलवन्सा बनाए। गोदावरी–८ फकलपुरका लागि फुलाराम चौधरी नयाँ भलवन्सा बने। गोदावरी–८ मजगाउँमा नेतृत्व गर्ने जिम्मेवारी बुद्धिराम चौधरीलले पाए। यी त केही उदाहरण मात्र हुन्, कैलाली र कञ्चनपुरलगायत विभिन्न जिल्लामा थारू समुदायले यतिखेर गाउँगाउँमा आगामी एक वर्षका लागि भलवन्सा चयन गरिरहेका छन्।

हरेक वर्ष माघ २ गतेबाट यो कार्य सुरु हुन्छ। यो क्रम माघभरि जारी रहन्छ। त्यसकारण अहिले थारू गाउँहरूमा भलवन्सा चुन्ने चटारो छ। प्रत्येक गाउँमा फरकफरक दिन भलवन्सा चुन्ने गरिन्छ। ‘थारू बस्तीमा भलवन्सा चयन गर्ने काम भइरहेको छ,’ थारू कल्याणकारी सभा कैलालीका उपाध्यक्ष माधव चौधरीले भने, ‘केही गाउँमा चुनिसकिएका छन् भने केही गाउँमा चुन्ने क्रम चलिरहेको छ।’ प्रत्येक गाउँमा र ठुला गाउँ भए टोलटोलमा भलवन्सा चयन गरिन्छ। यकिन तथ्यांक नभए पनि कैलालीमा मात्र चार हजारको हाराहारीमा भलवन्सा चुनिने गरेको उनको भनाइ छ।

थारू समुदायमा गाउँलेद्वारा चुनिएका भलवन्सा शक्तिशाली मानिन्छन्। गाउँमा कुनै निर्णय गर्ने र त्यसलाई कार्यान्वयनमा लाने काम भलवन्साबाटै हुने गर्छ। सामाजिकलगायत अन्य कुनै काम गाउँलेलाई भलवन्साले नै गराउने गर्छन्। ‘विकास निर्माणमा श्रमदान, झैझगडा मिलाउन छलफल, विवाहलगायत उत्सवमा भोजभतेर, मृत्यु संस्कारमा सहभागिता, आइपरेका सुख–दुःखमा गाउँलेलाई परिचालनलगायत काम गभलवन्साले नै गर्छन्,’ उपाध्यक्ष चौधरीले भने।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम भलवन्साबाट
पहिले राज्यका तीनै अंगले गर्ने काम भलवन्साले गर्ने चलन थियो। ‘राज्यका तीन अंगले गर्ने काम गाउँमा भलवन्साले गर्ने पुरानो चलन हो,’ थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य प्रभात चौधरीले भने, ‘पहिले गाउँगाउँमा प्रहरीलगायत राज्यको उपस्थिति न्यून हुँदा प्रायः सबै काम भलवन्साले गर्ने गर्थे।’ हुलाकी टोली अथवा सरकारी कुनै टोलीलाई पनि एक गाउँबाट अर्कोमा भलवन्साले नै पु-याउने गरेको उनले बताए। झैझगडा, कुनै घटना वा मुद्दामामिलाको पनि छिनोफानो गरेर दण्ड, सजाय र न्याय दिने काम पनि भलवन्साले नै गर्ने चलन रहेको उनको भनाइ छ।

देश संघीयतामा गएर संघ, प्रदेश र स्थानीय तहका सरकार बने पनि थारू बस्तीमा भलवन्सा चयन गर्ने र गाउँलले भलवन्साको निर्णय र कुरालाई मान्ने चलन अझै रहेको उनले बताए। ‘पहिलेको भन्दा प्रभाव अलि कम भए पनि थारू बस्तीमा भलवन्साले नै सबै काम गराउने गरेका छन्,’ उनले भने। गाउँमा बाटोघाटो, पुलपुलेसालगायत सामाजिक काम गर्नुपरे भलवन्साको आह्वानअनुसार गाउँलेले गर्ने गर्छन्। गाउँमा कुनै काम पनि भलवन्साकै आह्वान हुने गर्छ।

थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरीले थारू बस्तीमा चुनिने भलवन्सालाई पहिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम गर्ने अधिकार रहेको बताए। ‘ज्यान मार्नेबाहेक सबै मुद्दामा गाउँभरिकालाई बोलाएर छलफल गरी भलवन्साले नै न्याय, दण्ड र सजाय दिन्थे,’ उनले भने, ‘कानुनले गर्दा पनि पहिलेकोमा भन्दा अहिले अलि फरक छ।’ अहिले पनि जघन्य अपराध भएका मुद्दाबाहेकका झैझगडालगायत विषय भलवन्साले हेर्ने गरेका छन्। विकास निर्माण, मर्मतसम्भार सबै भलवन्साले नै गराउने गरेको ने बताए। अहिले पनि थारू बस्तीमा विकास निर्माणदेखि राजनीतिक दलको सभासमारोह भलवन्सालामार्फत नै गरिन्छ। ‘राज्यका अंगको निर्णय नागरिकले मान्नुपरेझैं भलवन्साले भनेको पनि सबै गाउँलेले मान्ने चलन छ,’ उनले भने।

भलवन्सामा पनि राजनीतीकरण
पहिले गाउँका सर्वमान्य व्यक्ति सर्वसम्मत रूपमा भलवन्सा चुनिन्थे। केही गाउँमा अहिले पनि सर्वसम्मत र सर्वमान्य व्यक्तिलाई भलवन्सा चुनिए पनि केही गाउँमा राजनीतिक दलले चासो दिँदा मतदानसमेत हुने गरेको थारू नागरिक समाजका अगुवा चौधरीले भने। ‘धेरैको चासो भएको ठाउँमा मतदान गरेर पनि भलवन्सा चयन गरिँदै छ,’ उनले भने। राजनीतिक दलले पनि भलवन्सालाई नै प्रयोग गर्ने गरेको उनले बताए। उनका अनुसार चुनावका बेला अथवा अन्य समयमा गाउँमा सभा, भेला गर्नुपर्दा भलवन्सालाई भनेर नै राजनीतिक दलहरूले गाउँले जम्मा गर्न लगाउँछन्। ‘कुनै राजनीतिक दल समर्थक भए पनि भलवन्साले सबै राजनीतिक दलका लागि गाउँले भेला गरिदिने गरेका छन्,’ केन्द्रीय सदस्य चौधरीले भने।

घरघरबाट अन्न उठाएर पारिश्रमिक
गाउँको नेतृत्व गर्ने भलवन्सासँगै औषधोपचार गर्ने गुरुवा, गाउँको सुरक्षा गर्ने चौकीदार पनि चयन गर्ने गर्छन्। उनीहरूको पारिश्रमिकका लागि गाउँका प्रत्येक बासिन्दाले उब्जनीअनुसार अनाज बुझाउने चलन छ। एक बिघा जमिनबराबर पाँचदेखि १० केजीसम्म धान बुझाउने चलन रहेको चौधरीले बताए। ठूलो गाउँका भलवन्साले बढी पारश्रमिक पाउँछन्। अहिले केही गाउँमा पारिश्रमिकका लागि नगदसमेत उठाउन थालिएको स्थानीयको भनाइ छ।

विगतको तुलनामा भलवन्साको शक्ति, प्रभाव र आकर्षण घट्दै गएपछि पढेलेखेका क्षमतावान्हरूले त्यसका लागि चासो नदिने गरेको स्थानीय बताउँछन्। पुर्खादेखि चलिआएको भलवन्साको यो चलनलाई कानुनी रूपमा मान्यता दिनुपर्ने आवाज थारू समुदायमा उठ्दै आएको छ। ‘हाम्रो पुर्खादेखि चलेको यो प्रथालाई राज्यले मान्यता नदिँदा दुःख लाग्छ,’ फकलपुरका भलवन्सा फुलाराम चौधरी भने, पुर्खौंदेखिको प्रचलन जोगाउनुपर्छ भन्ने विचारले जिम्मेवारी सम्हाल्दै आएको छु।’ राज्यबाट भएको उपेक्षाले भलवन्साप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएको उनको भनाइ छ। समाज निर्माणमा भूमिका खेल्दै आएका भलवन्सालाई प्रोत्साहनका लागि राज्यले नीति ल्याउनुपर्ने थारू समुदायका अगुवाहरूको भनाइ छ। आफ्नो बस्तीको नेतृत्व आफैं छनोट गर्ने प्रणालीलाई थारू समुदायमा ‘माघी डेवानी’का साथै ‘भुरा खेल’ भन्ने गरिन्छ।

भलवन्सालाई प्रोत्साहन रकम
कञ्चनपुरको पुनर्वास नगरपालिकाले भलवन्साहरुलाई प्रोत्साहन रकम दिन सुरु गरेको छ। सो नगरपालिकाले २०७५ साउन १ गतेदेखि नगरका ३२ जना भलवन्साहरूलाई प्रोत्साहन स्वरूप वार्षिक पाँच हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्दै आएको छ। थारू कल्याणकारी सभा कैलालीका उपसभापती माधव सबै ठाउँमा सबै स्थानीय तहले भलवन्सालाई प्रोत्साहन रकम दिनुपर्नेमा जोड दिए। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यही बेला उनीहरूले गाउँको नेतृत्व अथवा भलवन्सा चयन गर्ने, गएको वर्षको समीक्षा गरी नयाँ वर्षको योजना बनाउने गर्दै आएका छन्।

प्रकाशित: ६ माघ २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App