coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेस आन्दोलनका सहिद परिवारप्रति नेताहरूको बेवास्ता

लहानस्थित सहिद प्रतिमामा माल्यार्पण गर्दै सहिद प्रमोद सदायका माता धनमादेवी सदाय। तस्बिर : मिथिलेश/नागरिक

लहान – मधेस जनविद्रोहकै क्रममा माघ ५ गते(०६३) रमेश महतोले सहादत प्राप्त गरेको दिनलाई मधेस केन्द्रित दलले मधेस बलिदानी दिवसका रूपमा मनाउदै आएका छन्। तर, मधेस बलिदानी दिवसको रौनक भने फिका हुँदै गएको छ। आइतबार लहानको सहिद चोकमा स्थापित पहिलो मधेस विद्रोहका सहिदको प्रतिमामा माल्यार्पण गर्न पहिला मधेसी नेताको होडबाजी चलथ्यो। तर, यसपालिका मधेस केन्द्रित दलका(राजपा) शीर्ष नेतृत्वको सहभागित देखिएन।

विराटनगरबाट विरगञ्जमा आयोजित बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन जाने क्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लहानस्थित सहिद पार्कमा स्थापित रमेश महतोसहितका सहिदको प्रतिमामा माल्यार्पण गरी संक्षेप मनतव्य राख्न भ्याएका थिए। ‘मधेस जनविद्रोहको बलमा देशमा संघीयता संस्थागत भएको हो,’ यादवले भने, ‘समावेशीतालगायत पहिचानका अन्य अधिकारका लागि अझै संघर्षको आवश्यकता छ।’ सहिदको बलिदानीले देखाएको बाटो हिँड्न कदापी बिचलित नभएको उल्लेख गर्दै उनले भने, ‘सहिदले देखेको सपना र पहिल्याएको बाटोमै हिँडेर लक्ष्य प्राप्त गर्न अडिग छौं।’ आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने उनको भनाइ थियो।

घट्दो सहभागिता
१२ वर्षसम्म मधेस आन्दोलनको उद्गम भूमि लहानमा मनाउँदै आएको बलिदानी दिवसमा सहभागिता घट्दै गएको छ। आइतबार लहानको सहिद चोकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपाका सह–माहामन्त्री सुरेश मण्डल सहभागी रहेको बलिदानी दिवस कार्यक्रममा जनताको सहभागिता न्यून थियो। पार्टी कार्यकर्ता र नेताको सहभागितामा कार्यक्रम छिटै समापन गरिएको थियो। सहिद पार्ककै अगाडि सानो मञ्च बनाएर आयोजना गरिएको कार्यक्रममा जनसहभागिता नहुनुमा नेताप्रति जनताको आकर्षण घट्दै गएको पहिलो मधेस विद्रोहका अगुवा कृष्णबहादुर यादव बताउँछन्। ‘मधेस मुद्दालाई जसरी मधेसका नेताले सत्तामा चढ्ने सिँढी बनाए त्यसरी नै उनीहरू मधेसी जनताबाट टाढिँदै गएको छ,’ यादवले भने, ‘मुद्दासँग जोडिँदासम्म मधेसी नेतासँग जनताको भिँड ओर्लिन्छ तर, सत्तासँग जोडिँदा जनतासँग टाढिन्छ,’ उनले सुनाए।

०६३ साल १ माघमा जारी भएको अन्तरिम संविधाना संविधानमा संघीयता शब्द उल्लेख नहुँदा भोलिपल्ट माघ २ गते तत्कालीन मधेसी जनअधिकार फोरमले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलायो। अन्तरिम संविधान जलाएको आरोपमा फोरम अध्यक्ष उपेन्द्र यादवसहित दर्जनौँलाई प्रहरीले गिरफ्तार भए। उनीहरूमाथि सरकारले राज्यद्रोहको मुद्दा चलाउने तयारी गरेको विरोधमा फोरमले मधेस बन्दको घोषणा गर्यो । ५ माघमा सिरहाको लहानमा माओवादी र फोरम कार्यकर्ताबीच झडप हुँदा विद्यार्थी रमेश महतोको मृत्यु भयो । कालान्तरमा मधेसी दलले रमेश महतोलाई मधेसी आन्दोलनको प्रथम सहिद भन्न थाले भने ५ माघलाई बलिदानी दिवसका रूपमा मनाउन थाले । बितेको १३ वर्षमा नेपालमा अनेकौं राजनीति परिवर्तन भए । जसमध्ये संघीयता र समावेशिता मुद्दालाई संस्थागत गराउने सवालमा मधेस जनविद्रोहको अहं भूमिका रहेको राष्ट्रिय जनता पार्टीका सह महासचिव एवं प्रदेश २ का वन, पर्यटन तथा उद्योग राज्यमन्त्री सुरेश मण्डलले बताए।

सहिद परिवारलाई बेवास्ता
आइतबार लहानको सहिद चोकमा भेटिएका सहिद प्रमोद सदायका मातापिता बालेश्वर सदाय र धनमादेवी सदाय नेताको अनुहार टोलाउँदै थिए। छोरा प्रमोदसहित सहिदको प्रतिमामा माल्यार्पण गरेपछि उनी अलमलमा परे। अलमलिनुको कारण थियो– प्रदेश सरकारले विरगञ्जमा आयोजना गरेको १३ औं बलिदानी दिवस तथा सहिद परिवार सम्मान कार्याक्रम। यसबारे बालेश्वरलाई औपचारिक जानकारी थिएन। सहिद पार्कमा मधेसी नेताहरुले वीरगञ्ज कार्यक्रमको चर्चा गर्दा उनी छक्क परे। भने, ‘हामीलाई त खबर नै भएन, आखिर सहिद परिवार त हामी पनि हौं।’ उनी धेरैबेर नेतको पछिपछि कुदे। कोही नेता आफूलाई पनि वीरगञ्जसम्म जान सवारीमा ठाउँ देलान् कि भनेर तर, कसैले वास्ता नगरेपछि सदाय दम्पति यत्तिकै चित्त बुझाए। उनले नागरिकसँग गुनसो पोखे, ‘समयक्रमसँगै सहिद परिवारप्रती बेवास्ता बढ्दै गएको छ।’

मधेस विद्रोहको प्रथम सहिद रमेश महतोका पिता रवीलाई पनि मधेस बलिदानी दिवसका कार्यक्रममा बोलाइएन। न लहानको कार्यक्रममा बोलाइयो न वीरगन्जमा नै।

प्रकाशित: ६ माघ २०७६ ०२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App