४ वैशाख २०८१ मंगलबार
राजनीति

बन्न सकेन समावेशी सरकार

आइतबार नवनियुक्त राज्यमन्त्रीलाइ शपथ गराउँदै मुख्यमन्त्री शेरधन राई। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर – गठन भएको २३ महिनापछि प्रदेश १ सरकारमा चारजना राज्यमन्त्री थपिए पनि प्रदेश क्याबिनेटले भने एकजना महिला राज्यमन्त्री मात्रै पाएको छ। आइतबार मुख्यमन्त्री शेरधन राईले चारैजना नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। दुई वर्षपछि पनि मुख्यमन्त्री राईले आफ्नो मन्त्रिमण्डललाई पूर्णता भने दिएका छैनन्। प्रदेशको भौतिक पूर्वाधार, भूमि व्यवस्था कृषि मन्त्रालयमा मन्त्री अझै नियुक्त हुन सकेका छैनन्। पहिलोपटक भएको विस्तारमा पनि क्याबिनेट महिलाविहीन बन्दा समावेशी हुन सकेन। राज्यमन्त्रीमा नियुक्त एक मात्र महिला जसमाया गजमेरको सामाजिक विकास मन्त्रालयमा यसअघि नै मन्त्रीको जिम्मेवारीमा जीवन घिमिरे छन्। मन्त्री नभएका मन्त्रालयमा नियुक्त राज्यमन्त्रीले मात्रै क्याबिनेटमा प्रतिनिधित्व गर्नेछन्। मन्त्री नभएका दुई मन्त्रालयमा नियुक्त दुवैजना पुरुष छन्।

आइतबार प्रदेश राज्यमन्त्रीको जिम्मेवारी पाउनेमा ओखलढुंगाका अम्बिरबाबु गुरुङ, इलामका राम राना मगर, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वास छन्। प्रदेशका राज्यमन्त्री नियुक्त गरेर कामको चाप बाँडफाँट गर्न खोजेका मुख्यमन्त्री राईको पछिल्लो कदम विवादमुक्त भने हुन सकेन। उनकै दल नेकपाको प्रदेश कमिटीका उच्च तहका नेताहरू, पूर्व माओवादीका नेताहरूलाई असन्तुष्ट पार्ने गरी राज्यमन्त्री नियुक्त गरिएको नेताको भनाइ छ।

यसको संकेत पार्टीका प्रदेश कमिटी इञ्चार्ज भीम आचार्यले दिएका छन्। ‘दुईवटा मन्त्रालय मन्त्रीविहीन छन्’, उनले नागरिकसँग भने, ‘कृषि र भौतिक पूर्वाधारमा मन्त्री नियुक्त गरेर राज्यमन्त्री नियुक्त गर्नु राम्रो हुन्थ्यो। हामीले पनि त्यही सल्लाह दिएका थियौं।’ राज्यमन्त्रीको शपथको टुंगो लागेर मिडियामा आइसकेपछि बल्ल जानकारी पाएको बताउँदै आचार्यले ‘मुख्यमन्त्रीले आफ्नो कामको सहजता हेरेर निर्णय लिनुभएको होला’ भन्ने प्रतिक्रिया दिए।

मुख्यमन्त्री शेरधन राईका सबैभन्दा विश्वास पात्र भनेर चिनिएका अम्बिरबाबु गुरुङले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्रीको जिम्मा पाएका छन्। प्रदेशको सबैभन्दा आकर्षक मानिने मन्त्रालयमा मन्त्री नै नियुक्त गर्नुपर्ने सत्तारुढ नेकपा प्रदेश कमिटीको राय थियो। तर, पार्टीको राय मुख्यमन्त्रीले नसुने झैं गरेको नेकपा नेताहरूको भनाइ छ।

त्यस्तै प्रदेश सरकार गठन ताका तत्कालीन माओवादीको भागमा परेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री पूर्वएमाले पक्षकै राम रानाले प्राप्त गरेका छन्। इलामका नेकपा नेता राना तत्कालीन एमालेमा माधव नेपालनिकट भनेर चिनिएका थिए। तर, संसदीय दलको चुनावताका उनले शेरधन राईलाई सहयोग गरेका थिए। पूर्व माओवादी तर्फका विजय विश्वासले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मा पाएका छन्। यो मन्त्रालयमा जगदिस कुसियत मन्त्रीको जिम्मेवारीमा छन्। प्रदेश मन्त्रीपरिषदमा एक्लो महिला सदस्यका रूपमा झापाकी जसमाया गजमेरको प्रवेश भएको छ। दलित समुदायको पनि प्रतिनिधित्व गर्ने उनले सामाजिक विकास राज्यमन्त्रीको जिम्मा पाएकी छन्।

प्रकाशित: ६ माघ २०७६ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App