७ वैशाख २०८१ शुक्रबार
खेल

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

धनकुटा – अनुष्का शेर्पाको दुई गोलको मद्दतले कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङले उदयपुरको चौदण्डीगढी नगरपालिका फुबटल टोलीलाई पराजित गर्दै धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न खेलमा ताप्लेजुङे टोलीले उदयपुरलाई ३–२ गोलअन्तरले पराजित गरेको सेमिफाइनलमा पुगेको हो। ताप्लेजुङको जितमा इन्द्रमाया गुरुङले थप एक गोल गरिन्। त्यस्तै उदयपुरका लागि मोनिका राई र मनिता तामाङले एक/एक गोल गरे । खेलको वुमन अफ दी म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भइन्। उनले नगद ३ हजारसहित प्रमाणपत्र प्राप्त गरिन्।

खेलमा उदयपुरले सुरुआती अग्रता  लिएको थियो। मोनिका राईले आठौं मिनेटमा गोल गर्दै उदयपुरलाई अघि बढाएकी थिइन्। उनले डी बक्सबाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो। पहिलो गोल खाएपछि ताप्लेजुङले लगातार आक्रमण बुनेको थियो। ताप्लेजुङकी इन्द्रमाया गुरुङले २४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन्। लगत्तै २९औं मिनेटमा गोल गर्दै अनुष्का शेर्पाले ताप्लेजुङलाई २–१ को अग्रता दिलाइन्।

निकै प्रतिस्पर्धात्मक दोस्रो हाफमा उदयपुरकी मनिता तामाङले खेलको ५८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन्। तर ६०औं मिनेटमा ताप्लेजुङकी अनुष्का शेर्पाले व्यक्तिगत दोस्रो गर्दै ३–२ को अग्रता दिलाइन्। दुवै टोलीका अग्रपंंत्तिका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन  र ताप्लेजुङ विजयी भयो।

शनिबार सम्पन्न खेलमा  धनकुटा र कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेका छन्। धनकुटाले इलामलाई टाइबे्रकरमा ५–४  र झापाले पाँचथरलाई ३–० गोलअन्तरले पराजित गरेका थिए।

प्रकाशित: ६ माघ २०७६ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App