७ वैशाख २०८१ शुक्रबार
खेल

महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

भरतपुर मेट्रो खेलकुद परिषद्विरुद्ध स्पाइक गर्दै एपिइफकी रेश्मा भण्डारी ।

काठमाडौं – हेल्प नेपाल स्पोर्ट्स क्लब पहिलो जितसँगै क्वार्टरफाइनलमा प्रवेश गर्दा महिलातर्फ विभागीय टोलीद्वय एपिएफ र आर्मी राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतबार पुरुषतर्फ हेल्प नेपालले बुद्ध टोललाई ३–० को सोझो सेटमा हराउँदै समूह ‘डी’ को विजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो। दुई टोली मात्र रहेको यस समूहबाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोली हारका बावजुद उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो। हेल्प नेपालले बुद्ध टोल युवा भलिबल क्लबविरुद्ध पहिलो सेटमा २५–१० को स्कोर बनाउँदा दोस्रो सेटमा २५–१५ र तेस्रो सेटमा २५–११ को स्कोर निकालेको हो।

आइतबारको पहिलो खेलमा पुरुषतर्फ समूह ‘सी’ को मणिमुकुन्द भलिबल क्लबले पार्वती भलिबल क्लबबाट वाकओभर प्राप्त ग-यो। एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि शनिबार नै नेपाल पुलिस क्लब र मणिमुकुन्द समूह ‘सी’ बाट क्वार्टरफाइनलमा पुगिसकेका छन्। यी टोली मंगलबार समूहविजेताका लागि भिड्नेछन्। समूह ‘ए’ बाट आर्मी र नयाँ बजार युवा क्लब क्वार्टरफाइनलमा पुगिसकेका छन्। तीन टोली सम्मिलित समूह ‘ए’ मा आरजी भलिबल ग्रुपले दोस्रो हार बेहोरेसँगै आर्मी र नयाँ बजारले एक खेल बाँकी छँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। यी टोली सोमबार एकआपसमा भिडेपछि समूहविजेताको टुङ्गो लाग्नेछ। सोमबार नै समूह ‘बी’ का बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रबीच प्रतिस्पर्धा हुनेछ।

यी दुवै टोली जित निकाल्दै क्वार्टरफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छन्। पहिलो खेलमा बुलबुल एपिएफसँग पराजित भइसकेको छ भने जावलाखेलको पहिलो खेल हो। जावलाखेलले बुलबुलविरुद्ध जित निकाले क्वार्टरफाइनमा पुग्नेछ। बुलबुलले जितेको खण्डमा भने एपिएफ र जावलाखेलबीचको नतिजा कुर्नुपर्नेछ। प्रतियोगिताअन्तर्गत आइतबारै सम्पन्न महिलातर्फ विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपाल भलिबल संघको आयोजनामा भएको च्याम्पियनसिपमा आइतबार जित निकाल्दै आर्मी र एपिएफ चार टोली सहभागी समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्न सफल भए।

यस समूहमा एपिएफ र आर्मीले समान दोस्रो जित निकालेपछि अन्तिम चारका लागि बाटो खुलेको थियो। एपिएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा स्तब्ध बनायो। एपिएफले २५–११, २५–१२ र २५–१६ को जित निकाल्यो। एपिएफसँग स्तब्ध भएपछि भरतपुर मेट्रो खेलकुद परिषद् लगातार दोस्रो हारसँगै समूहचरणबाटै घर फर्किनेछ। भरतपुर मेट्रोले समूहको अन्तिम खेलमा जितविहीन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्ध सान्त्वना जितका लागि खेल्नेछ। जावलाखेलले पनि आइतबार आर्मीसँग स्तब्ध भएपछि समूहमा दोस्रो हार बेहो-यो। दिनको दोस्रो खेलमा आर्मीले जावलाखेललाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। आर्मीले जावलाखेललाई २५–११,  २५–५ र  २५–११ ले पराजित गरेको थियो। यसअघि आर्मीले शनिबार भरतपुरलाई पराजित गर्दै ३ अंक बटुलेको थियो।

समूहविजेता र उपविजेताको टुङ्गो भने एपिएफ र आर्मीबीचको प्रतिस्पर्धाबाट मात्र लाग्नेछ। अर्को समूह ‘बी’ मा होङग्वान्जी न्यु डायमन्डले नेपाल पुलिस क्लबविरुद्ध जित निकाल्दै तीन टोली सम्मिलित समूहमा सेमिफाइनलको सम्भावना बलियो बनाइसकेको छ। महिलातर्फको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबले नेपाल पुलिसको सामना गर्दा अर्को खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले भरतपुर मेट्रो खेलकुद परिषद्सँग प्रतिस्पर्धा गर्नेछ।

 पुरुषतर्फ दुई टोली मात्र रहेको  समूह ‘डी’ बाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोली हारका बावजुद उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो।

प्रकाशित: ६ माघ २०७६ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App