८ वैशाख २०८१ शनिबार
समाज

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन

हिउँले ढाकिएको माछापुच्छ्रे आधारशिविर क्षेत्र। तस्बिर : नागरिक

पोखरा – अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्।

त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए। हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो। ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६/७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन।

गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन्। तीमध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ। खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ। कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए। स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ।

‘हामी घटनास्थल पुगेर फर्किंदैछौं। तर अहिलेका लागि खोजतलास सम्भव नै छैन,’ केसीले भने, ‘पहिरो भीषण छ। तत्काल हिउँ पग्लिने सम्भावना छैन। हिउँ नपग्लेसम्म खोतलेर बेपत्ता मान्छे भेट्न सकिन्न।’ समुद्री सतहदेखि करिब ३२ सय मिटर उचाइको उक्त घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न कम्तीमा एक महिनासम्म लाग्न सक्ने उनले बताए। ‘अहिले पनि लगातार हिउँ परेकाले खोजीकार्य तत्काल सम्भव छैन। कोरियाली पर्यटक हराएको खोचमा त झनै बाक्लो हिउँ जमेको छ’, उनले भने। नेपाली गाइड परियार बेपत्ता भनिएको ठाउँमा भने केही कम हिउँ रहेकाले अरु नथपिएको अवस्थामा कम्तीमा एक साता लाग्ने उनले बताए। बाक्लो हिउँले पुरिएको मानवशरीर पत्ता लगाउने कुनै विशेष प्रविधि प्रयोग गरेर यकिन गर्न सकेको अवस्थामा केही छिटो भेट्टाउन सकिने सम्भावना रहे पनि हिउँ पग्लिने दिन पर्खिंदा महिना दिनभन्दा बढी लाग्ने उनले बताए।

पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको छ, ६/७ फिटसम्म हिउँ थुप्रिएको छ। त्यसैले हराएका व्यक्ति खोज्न कठिन भएको टानले जनाएको छ।

‘चट्टानजसरी जमेको हिउँको थुप्रो खनेर बेपत्ता व्यक्ति भेटिने अवस्था रहन्न,’ उनले भने। उनका अनुसार पदमार्गमा हिमचुलीबाट झरेका दुईवटा हिमपहिरोले तल आइपुग्दा भीषण रुप लिएको छ। माथिबाट झरेको हिमपहिरो तलसम्म आइपुग्दा बाँडिएर ३–३ तिर विभाजित हुँदा अझै क्षति बढ्नसक्ने अनुमान रहेको उनले बताए। अहिले पदमार्गको हिमालयमा एउटा हिङ कु केभ र देउरालीबीचमा अर्काे गरी दुईवटा पहिरो झरेका थिए। तर ती दुवै भीषण पहिरो पदमार्गसम्म झर्दा तीनतीन ठाउँमा बाँडिएको छ। ढुंगाले पहिरोलाई विच्छेद गराउँदा तीनतिर फैलिएको उनले बताए।

‘अहिले सातजना मान्छेमात्र हराएको भनिएको छ। तर पहिरो धेरैतिर छरिँदा अझै धेरै मान्छे परेका हुन सक्छन्। स्थानीयले अझै धेरै पदयात्री परेको हुन सक्ने बताएका छन्,’ केसीले भने, ‘व्यक्तिगत रुपमा पदयात्रामा गएका पर्यटकको बारेमा अझै विवरण खुलिसकेको छैन।’ पर्यटक हराएको ठाउँमा खोजीका लागि स्थानीयबाहेक प्रहरी पनि पुग्न नसकेको उनले बताए। सुरक्षित भनिएको देउरालीबाट पहिरो गएको ठाउँमा २० मिनेटमा पुग्न सकिन्छ। पहिरोले खहरे खोलालाई नै पुरेर समथर बनाइदिएकाले तत्काल भे्टने सम्भावना नभएको केसीले बताए।

अहिले पनि हिउँ पर्ने क्रम नरोकिएको र पदमार्ग पूरै हिउँले पुरिएकाले पदमार्गको दोभानभन्दा माथि बास बस्न ठाउँ नै नभएको उनले बताए। दोभानभन्दा माथि हिमालय र देउराली पर्छन्। देउरालीपछि माछापुच्छ्रे आधारशिविर (एमबिसी) र त्यसपछि एबिसी आउँछन्। अहिले दोभानमाथि जानसक्ने अवस्था नै नरहेको केसीले बताए।

अरु पनि हराएको आशंका : टान
टानले आइतबार पत्रकार सम्मेलन गर्दै हिमपहिरोको आकार भीषण रहेकाले अहिले भनिएभन्दा अझ बढी पदयात्री हराएको हुनसक्ने जनाएको छ। व्यक्तिगत रुपमा पदयात्रामा जाने पर्यटक पर्याप्त हुने भएकाले ती पर्यटकबारे सरकारसमेत बेखबर रहेको टानका अध्यक्ष हरि भुजेलले बताए। ‘ट्रेकिङ कम्पनी आबद्ध भएर र व्यक्तिगत रुपमा पर्यटक पदयात्रामा जान्छन्। ट्रेकिङ कम्पनीमा आबद्ध नभई व्यक्तिगत रुपमा गएका पदयात्रीको विवरण कतै छैन,’ भुजेलले भने, ‘त्यसबारेमा अहिलेसम्म खोजीनीति पनि भएको छैन। व्यक्तिगत रुपमा एक्यापसँग अनुमति लिएर गएका अरु पर्यटक पनि हिमपहिरोमा परेका हुन सक्छन्। तर त्यसको विवरण आएको छैन।’

टान अध्यक्ष भुजेलका अनुसार अब पदयात्राको अन्तिम गन्तव्य एबिसी क्षेत्रमा कोही पनि पर्यटक रोकिएका छैनन्। एबिसीमा रहेका पर्यटक अधिक हिउँ पर्न थालेपछि गत शुक्रबार नै केही दूरी तलको एमबिसीमा झरेका थिए। ती पर्यटकलाई पनि हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षित ठाउँ (छोमरोङ) मा ल्याइएको उनले बताए। एमबिसीमा रोकिएका ६४ जना विदेशी पर्यटक शनिबार नै हेलिकोप्टरबाट पोखरा आइसकेको टानले बताएको छ। एक्यापले छोमरोङमा विवरण लिएर पर्यटकलाई पदयात्रामा पठाउने गरे पनि हिमपातपछि हेलिकोप्टर चढेर फर्केकाले पनि उक्लिएका सबै पर्यटकबारे जानकारी आइनसकेको उनले बताए। तत्काल हिउँ पग्लिने सम्भावना कम रहेकाले पनि हराएका पदयात्री भेट्टाउन समय लाग्ने टान अध्यक्ष भुजेलले बताए। ‘भौगोलिक अवस्था पनि जोखिमपूर्ण छ। त्यसैमा हिउँको ढिस्को थपिएको छ,’ भुजेलले भने।

पदयात्रामा जाँदा होस पु-याउन आग्रह
कास्की प्रशासनले हिउँ पर्ने क्रम नरोकिएको र पदयात्रामा जोखिम रहेको भन्दै पर्यटकलाई एबिसीको पदयात्रामा नजान अनुरोध गरेको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले अहिलेका लागि तत्काल पदयात्रामा जान सकिने अवस्था नरहेकाले अझै केहीदिन रोकिन आग्रह गरिएको बताए।

‘पर्यटकलाई रोक नै लगाएको होइन तर सतर्कता अपनाउन भनेका छौं,’ उनले भने, ‘पदमार्गमा हिउँ पर्ने क्रम नरोकिएको र हिउँ जमेकाले पनि कठिन रहेको सूचना दिएका छौं। मौसमी विवरण हेरेर सचेत भएर मात्र जान आग्रह गरेका छौं।’ उनले अहिले पदमार्गमा हिँउ जमेकाले बाटो पहिल्याउन कठिन रहेको बताए। ‘हराएका पदयात्रीलाई खोज्न त समस्या भएका बेला अरु जाँदा थप जोखिम हुन सक्छ। त्यही भएर सचेत हुन आग्रह गरेका छौं,’ उनले भने, ‘पदमार्ग नै खुला नभएपछि पदयात्रा सम्भव छैन।’

यसैबीच टानले पदयात्रामा गएका पर्यटकको खोजीमा सघाउन सरकारसँग आग्रह गरेको छ। टानका विपद् व्यवस्थापन समिति संयोजक दीपक अधिकारीका अनुसार हिमपातले धेरैतिरका पदमार्ग पुरेकाले पनि पर्यटक रोकिएको हुन सक्ने भएकाले उनीहरुको विवरण संकलन गरेर खोजीमा सघाउन सरकारसँग आग्रह गरेका छन्। अन्नपूर्ण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकले एक ठाउँको अनुमति लिएर अन्यत्र जानसक्ने भएकाले उनीहरुको विवरण संकलनमा कडाइ गर्दै खोजीमा सघाउन आग्रह गरे। ‘अन्नपूर्ण क्षेत्र मात्र नभई पर्यटक विभिन्न ठाउँमा गएका हुनसक्छन्। एक ठाउँको अनुमति लिएर त्यही क्षेत्रको अन्यत्र पनि जान पाइन्छ,’ अधिकारीले भने, ‘एक्याप क्षेत्रमा सिंगल इन्ट्रीको प्रावधान छ। एकपटक अनुमति लिएपछि अन्नपूर्ण क्षेत्रभित्र जता गए पनि केही फरक पर्दैन।’ कहिलेकाहीं पर्यटक एकातिरको अनुमति लिएर अन्यत्रै जाने गरेकाले पनि खोजी हुन जरुरी रहेको उनले बताए।

चिनियाँ पर्यटक सम्पर्कमा
अन्नपूर्ण फेरोको पदमार्गमा सम्पर्कविहीन भनिएका चार चिनियाँ पर्यटक प्रहरीको सम्पर्कमा आएका छन्। एक सातादेखि सम्पर्कविहीन भनिएका उनीहरुमध्ये दुईजना आइतबार बिहान पोखरास्थित पर्यटक प्रहरीको सम्पर्कमा पुगेका थिए।

पोखरास्थित पर्यटक प्रहरीका सई टीकाराम पौडेलका अनुसार पोखरा आएका दुईजना चिनियाँ आइतबार बिहान सम्पर्कमा आएका थिए। चारजनामध्ये एकजना पुरुष र एक महिला पर्यटक प्रहरीको सम्पर्कमा आएको उनले बताए। अर्का एकजना चिनियाँ सीधै काठमाडौं गएको र अर्का चिनियाँ घोरेपानी क्षेत्रमा गएको पनि पौडेलले बताए।

‘सम्पर्कविहीन भनिएका चारैजना सकुशल रहेको जानकारी आएको छ। दुईजना त हाम्रै सम्पर्कमा आएका छन्,’ उनले भने। पौडेलका अनुसार थोराङ्ला भन्ज्याङ पार गरेर ती चिनियाँ पर्यटक मुस्ताङ हुँदै पोखरा झरेका थिए। प्रहरीका अनुसार फेरोको अन्नपूर्ण थोराङ्ला भन्ज्याङ पार गर्ने भनेर हिँडेका ती चार चिनियाँ पुस २७ गतेपछि सम्पर्कमा थिएनन्। फेरोमा पर्ने एक्यापको अन्तिम चेकपोस्ट भ्राकामा पुस २७ गते उनीहरु पुगेका थिए। त्यसपछि उनीहरु थोराङ्ला भन्ज्याङ पार गर्ने भनेर अघि बढेका थिए। त्यसपछि सम्पर्कमा नआएकाले उनीहरु हराएको आशंका गरिएको थियो।

प्रकाशित: ६ माघ २०७६ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App