coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मनतातो पानीले छालामा चमक

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

विशेषगरी जाडो मौसममा चिसोका कारण छालाको समस्या बढ्छ । जाडो मौसममा छला रुखो हुने, खस्रो हुने, फुस्रो हुने, फुट्ने, एलर्जीआउनेजस्ता समस्या उत्पन्न हुन्छ । चिसो पानीमा धेरै खेल्ने तथा चिसै पानीले नुहाउनाले यस्ता समस्या अझ बढ्छन् । छालामा समस्या आउँदा व्यक्तिको सुन्दरतामा असर पुग्छ । जसका कारण तनावसमेत उत्पन्न हुन सक्छ ।

विशेषगरी जाडो मौसममा नुहाउँदा बडो ध्यान दिन आवश्यक छ । जाडोमा नुहाउने तरिका थाहा नपाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन सक्छ । सामान्यतः नेपाली समाजमा तातोपानीले नुहाउने चलन छैन । चिसो पानीले नुहाउँदा शारीरिक स्फुर्ती आउने धारणा पाइन्छ ।

तर विशेषगरी शारीरिक तथा मानसिक हिसाबले तातो पानीले नुहाउनु उचित हुन्छ । छालाको स्वस्थता तथा सुन्दरताको हिसाबले चिसो पानीले नहाउनु उचित हैन । विशेषगरी जाडो मौसममा मन तातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।

धेरै तातो पानीले समेत नुहाउनु हुन्न । धेरै तातो पानीले नुहाएको अवस्थामा छालामा भएको पानीको मात्रा बाफबन्दै उडेर जाँदा छाला सुख्खा हुनपुग्छ । त्यसैले मन तातो पानीले नै नुहाउनु उचित हुन्छ । जाडो मौसममा लामो समय लगाएर नुहाउनु उपयुक्त हुन्न ।

असहज रक्तसञ्चार
जाडो मौसममा शरीरको तापक्रम कम भएको हुन्छ । जसका कारण शरीरका मांसपेशी  तथा नसा खुम्चिन पुग्छन् ।  यसरी शरीरका मांशपेशी खुम्चिँदा रक्तसञ्चारमा असहजता उत्पन्न हुनुका साथै श्वासप्रस्वासमा समेत असहजता हुन्छ ।

चिसोका कारण रगत बाक्लिएको हुन्छ । बाक्लिएको रगत सहजरुपमा प्रवाह हुन सक्दैन । शरीरमा सहजरुपमा रक्तसञ्चार नहुँदा शरीरमा पोषण तत्वको अभाव हुन पुग्छ । यसले शारीरिक तथा मानसिक दुर्बलता उत्पन्न हुने जोखिम त हुन्छ नै । छाला तथा मांशपेशीमा राम्रोसँग पोषण तत्व नपुग्दा छाला फोहोर हुने, छालामा विभिन्न किसिमका एलर्जी, घाउखटिराजस्ता समस्या उत्पन्न भई व्यक्तिको सुन्दरतामा समेत असर पुग्छ । छाला स्वस्थ नहुँदा व्यक्तिको अनुहारसमेत कुरुप हुन पुग्छ । सहज रक्तसञ्चारको अभावमा शरीरमा पोषण तत्वको कमी भई विभिन्न रोगको समस्या भएको खण्डमा अंगले काम नगरी मृत्युको समेत जोखिम हुन्छ । त्यसैले जाडो मौसममा चिसो पानीले नुहाउनु हुन्न ।

जाडोमा कुपोषित छाला
जाडो मौसममा चिसोका कारण छाला खुम्चिएको हुन्छ । छालका मांशपेशी तथा छालाकै नसाले राम्रोसँग रक्तसञ्चार गर्न नसक्दा छालामा समेत अक्सिजनको मात्रा कम हुन्छ । जसले छालामा पोषण तत्वको अभाव हुने नै भयो । आवश्यक पोषणको अभावमा छालाका कोषिका कुपोषित भई मृत्यु हुन्छन् । जसका कारण छाला रुखो, सुख्खा, फुस्रो र खस्रो हुन्छ । यस्तो समस्या शरीरका सबै भागमा हुने भए पनि विशेषगरी अनुहारमा देखिन्छ । जसले सुन्दरतामै असर गर्ने नै भयो ।

विशेषगरी चिसो मौसममा शरीरमा पानीको अभावमा यस्तो समस्या उत्पन्न हुने भएकाले चिसै पानीले नुहाएको अवस्थामा यस्तो समस्या अझ बढी हुन्छ । त्यसैले चिसो मौसममा चिसो पानीले नुहाउनै हुन्न । चिसो पानीले नुहाउनु भनेको शरीरलाई थप कुपोषित बनाउनु हो । शरीरै कुपोषित भएपछि छाला मात्रै कहाँ स्वस्थ तथा चमकदार हुन सक्छ र ! त्यसैले तातो पानीले नै नुहाउनु उचित हुन्छ । शरीरले सहनसक्ने किसिमको मन तातो पानीले नुहाउनु पर्छ । तातो पानी भन्ने बित्तिकै धेरै तातो पानीले नुहाउनुसमेत उचित हुन्न । यसमा सजग हुन आवश्यक छ ।

तातो पानीले खुसी
तातो पानीले नुहाउँदा शरीरको तापक्रम बढ्छ । शरीरकै तपाक्रम बढ्दा छालाको बढ्ने नै भयो । छालाको तापक्रम बढ्दा विशेषगरी छालाको मांशपेशी तथा नसामा ताप पुगी शरीरभित्र राम्रोसँग रक्तप्रवाह हुने भएकाले सिंगो शरीरै तात्छ । शरीर तातेपछि व्यक्तिले शारीरिक मात्रै हैन मानसिकरुपमा समेत न्यानो भएको महसुस गर्छ । व्यक्ति प्रफुलित हलहुँदा व्यक्तिमा ‘सेरोटोनि’,‘डोपामिन’जस्ता खुसिदिने हार्मोन सक्रिय हुन्छन् । जसले व्यक्तिलाई आनन्द प्रदान गर्छ । आनन्दित व्यक्ति हँसिलो भई उसको मुहारमा थप सुन्दरता झल्किन्छ ।

बिहानभन्दा बेलुका ठिक
कुन समयमा नुहाउने भन्ने कुराले समेत अर्थ राख्छ । सामान्यतः बिहान वा बेलुकीको समयमा नुहाउनु शारीरिक तथा मानसिक र व्यावहारिक दृष्टिकोणले उपयुक्त हुन्छ । बिहान उठ्नेबित्तिकै नुहाउनु भने उपयुक्त हुन्न । बिहान उठ्नेबित्तिकै व्यक्तिका अंगप्रत्याङ्ग सुसुप्त अवस्थामा रहेका हुन्छन् । शरीरको वाम अप नै भएको हुन्न । यस्तो अवस्थामा नुहाउँदा शरीरले असहजता महसुस गरिरहेको हुन्छ । शरीर नै सुसुप्त अवस्थामा रहेको समयमा नुहाउनु शारीरिक तथा मानसिकरुपमा प्रभावकारी हुन्न । त्यसैले बिहान उठेर करिब एक घण्टा शरीर तन्याक तुनुक गरिसकेपछि नुहाउनु उपयुक्त हुन्छ ।

नुहाउनका लागि बिहान र बेलुकामध्ये एक समय रोज्नुपर्दा बेलुकाको समयमा नुहाउनु नै उचित हुन्छ । वैज्ञानिक हिसाबले समेत बेलुकीको समयमा नुहाउनु ठीक हो । बेलुका नुहाउन नसकेको अवस्थामा बिहान नुहाउन सकिन्छ ।
दिनभरि विभिन्न कामको सिलसिलामा शारीरिक तथा मानसिक सक्रियता हुन्छ । शारीरिक सक्रियताको सिलसिलामा शरीरबाट पसिना निस्कन्छ । पसिनाका माध्यमबाट शरीरबाहिर विकार तत्व निस्किएका हुन्छन् ।

बाहिर धुलो धुवाँ त छँदै छ । पसिनाको माध्यमबाट निस्किएको विकारतत्वसमेत शरीरमा टाँसिएर रहेको हुन्छ । त्यसैले शरीरमा भएको मैलो पखाल्नका निम्ति बिहानभन्दा बेलुकाको समयमा नुहाउनु उचित हुन्छ । सामान्यतः बेलुकी सुत्नुअघि नुहाउनु उपयुक्त हो । बेलुका नुहाएर सुत्नाले शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहन सकिन्छ । शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुँदा आनन्दले निद्रा लाग्छ । आनन्दले निदाउँदा शारीरिक तथा मानसिकस्फुर्ती हुन्छ । जसले भोलिपल्ट गरिने दैनिक काममासमेत सकारात्मक प्रभाव पर्छ ।

सुगन्धित जडिबुटीले स्वस्थ छाला
नुहाउनका लागि सकेसम्म रासायनिक तत्वरहित साबुन वा स्याम्पुको प्रयोग गर्नु उचित हुन्छ । रासायनिक तत्वरहित साबुन तथा स्याम्पु नेपाली बजारमा पाइन्छन् ।

विश्वका अधिकांश मुलुकमा रसायनयुक्त साबुन, स्याम्पुले नुहाउने तथा छाला सफा गर्ने किसिमका क्लिन्जर प्रयोग गर्नाले छालासम्बन्धी समस्या भएको पाइन्छ । यस्ता क्लिन्जरले व्यक्तिको छालामा नकारात्मक असर गरी व्यक्ति सुन्दर बन्ने चाहनालाई समेत असर गर्ने सम्भावना हुन्छ । जसले व्यक्ति कुरुप बन्न पुग्छ । रसायनयुक्त क्लिन्जरले व्यक्तिको छालामा त असर गर्छ नै वातावरणीय असर गर्ने भएकाले यस्ता यस्ता क्लिन्जर प्रयोग नगर्नु नै उचित हुन्छ । व्यक्ति शारीरिकरुपमा सुन्दर बन्न तथा छाला स्वस्थ बनाई चमकता ल्याउनका लागि प्राकृतिक जडिबुटीजन्य साबुनको प्रयोग गर्नु नै उपयुक्त हुन्छ । नुहाउनका लागि नरम तथा जडिबुटीजन्य साबुनको प्रयोग गर्नु उचित हुन्छ ।

तातो पानीमा विभिन्न किसिमका सुगन्धित जडिबुटी हालेर नुहाउनु उपयुक्त हुन्छ । सुगन्धित जडिबुटीले एक त शरीर सफा राख्न सहयोग गर्छ, अर्कोतर्फ छालासम्बन्धी समस्या उत्पन्न हुन दिँदैन । छालामा चमकता ल्याउँछ । सुगन्धका कारण मन मात्रै प्रफुल्लित हुन्न । व्यक्ति सुन्दरसमेत बन्छ ।
सुरुवातमा जडिबुटीजन्य साबुनको प्रयोग गर्दा भने प्राकृतिक चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

सुख्खा हुन नदिने आइडिया
नुहाइसकेपछि छाला सुख्खा हुनबाट बचाउनका लागि मोश्चराइजरको प्रयोग गर्न सकिन्छ । मोश्चराइजर प्रयोग गर्नाले छालामा भएको पानीको मात्रा उडेर जान पाउँदैन जसले छाला सुख्खा तथा फुस्रो हुनबाट बच्न सकिन्छ । छालाको चमकता सदाबहार सन्तुलित राख्न सकिन्छ । छालामा सुख्खापन आउन नदिन नुहाइसकेपछि नरिवल, बदाम, ओलिभओयलजस्ता तेलको प्रयोग गर्नु उचित हुन्छ।

त्यति मात्रै हैन आगो बढी ताप्ने, हिटर ताप्नेजस्ता कारण छालामा पानीको मात्रा कम भई छाला सुख्खा हुने जोखिम हुन्छ । त्यसैले जाडो मौसममा पानी प्रशस्त खानुपर्छ । जसले छालामा हुने समस्यालाई बचाउन सहयोग पुग्छ । पानी पिउँदा उमालेर सेलाएको मन तातो पानी पिउनुपर्छ जसले छालामा चमक आउन सयोग पुग्छ ।
जाडो मौसममा धेरै घामसमेत ताप्नु हुन्न यसले छालामा असर पुर्‍याउँछ । छाला स्वस्थ तथा सफा र सन्तुलित राख्नका लागि चिसोबाट त बच्नै पर्‍यो । चिसो पानीबाट समेत जोगिनु पर्छ ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

 

प्रकाशित: ५ माघ २०७६ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App